कहिलेकाहिँ मनमा लागिरहन्छ – कालजयी सिर्जना गर्ने स्रष्टाहरुलाई भेटुँ र ती रचनाका गर्भावस्थाबारे यथेस्ट जानकारी लिऊँ । अनि ती अनगिन्ति कथा व्यथा सुनेर मनको जिज्ञासाको भारी बिसाऊँ । तर पनि कतिपय अवस्था र परिस्थित्तिले त्यसो गर्न अनुमति प्रदान गर्दैन । त्यसैले कहिले काहीं चाहनाको ढोकामा ताल्चा मारेर बस्नुपर्दो रहेछ ।
साहित्यको अध्ययन गर्न थालेदेखि मेरो मनको श्रद्दाको आसनमा केही लेखक, कविहरु स्थायीरुपमा बसी आएका छन् । यिनै मध्येका एक सम्मानित लेखक हुनुहुन्छ, मनु ब्राजाकी ।
मैले जहिलेदेखि गम्भीर रुपमा साहित्यको अध्ययन गर्न थालें ,त्यही बेलादेखि मेरो मनको ठूलो घरमा मनु ब्राजाकीको बसोबास रही आएको पाउँछु ।
स्कुल तहको शिक्षा पूरा भएदेखि मभित्र सुसुप्त रुपमा रहेको साहित्यिक अध्ययनको भोक तिब्र रुपमा बढ्न थालेको थियो । स्कुले पाठ्यक्रममा समेटिएका कथा , कविता, निबन्ध, प्रबन्ध र जीवनीले म पटक्कै अघाउन सकेको थिइनँ । अझ क्याम्पसको अध्ययन शुरु भएपछि त चेतनाको लहरो अझ लामो भएको थियो ।
२०५१ सालको जेष्ठ महिना ! पढेर ठूलो मान्छे बन्ने महत्वाकांक्षाको झोला बोकेर म पनि काठमाडौँ आएँ । क्याम्पसको अध्ययनले ज्ञानको घेरो अलि ठूलो बनाइदियो । पुस्तकालय मेरो अर्को प्यारो घर हुन थालेको थियो । पुस्तकालयका पुस्तकहरु मेरा प्यारा आफन्त र साथी जस्ता लाग्न थालेका थिए । एकदिन कसरी कसरी साझा प्रकाशनको मासिक साहित्यिक पत्रिका “ गरिमा”का २०४२, २०४३ वा २०४४ साल तिरका दुइ अंक मेरा हातमा आइपुग्छन् । एउटा कथा बिशेष अंक र अर्को सामान्य अंक ।
त्यतिबेला आँखा झिमिक्क नगरी ती दुवै अंक पुरै पढेर सकेको थिएँ मैले । विभिन्न बिशिष्ट लेखकका रचना समाविष्ट भए पनि मलाई एकै लेखकका दुईवटा कथाले भित्रैसम्म हल्लाएका थिए ।
विशेष अंकमा प्रकाशित “ पुरुष र पेटिकोट ” र सामान्य अंकमा प्रकाशित “ आखिर सजीवको कर्तब्य के हो त ?” भन्ने कथाहरुको प्रभाव मभित्र यसरी परेको थियो कि त्यतिखेर मलाई अरु लेखकका रचना सतही लागेका थिए ।
“ पुरुष र पेटिकोट ” कथाले महिला पुरुषबाट होइन महिलाबाट नै बढी पिडित छन् भन्ने सन्देश बोकेको थियो भने “ आखिर सजीवको कर्तव्य के हो त ” भन्ने कथाले तराईको आञ्चलिक परिवेशलाई सुन्दर ढंगले अभिव्यक्त गरेको थियो ।
ती दुवै कथाले मलाई यसरी ताने कि मलाई ती कथा लेख्ने कथाकारलाई भेट्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको थियो । पत्रिकामा कथाकारको नाम पढ्छु – कति असजिलो ! मनु ब्राजाकी !! अनि यी मनु ब्राजाकी कस्तो हुनुहोला भनी मनमा उहाँको रुप आकृति बनाउन खोज्छु ! कसै गरी हुदैँन ।
के होला मनु ब्राजाकी भनेको ? फेरि अर्को चिन्ताले बास गर्छ मेरो युवा मस्तिस्कमा । मनु भनेको युवती हुन् कि ? ब्राजाकी भनेको कस्तो थर होला ! जे सुकै होस् अर्थ, मनु ब्राजाकी भन्ने नाम मेरो मनमा अमिट छाप बनेर बसीसकेको थियो । म मनुको असली पाठक बनिसकेको थिएँ ।
मैले उहाँका भेटेसम्मका कथाहरु पढ्न थालेको थिएँ । मेरो मनमा आसन जमाएर बस्ने पहिलो कथाकार मनु ब्राजाकी नै हुनु हुन्छ । उहाँका कथाहरुले मलाई गहिरो संग प्रभाव पार्न थालेका थिए । मैले पाठ्यपुस्तक बाहेक पहिलो पल्ट किनेको साहित्यिक पुस्तक उहाँकै कथा संग्रह “ आकाशको फल ” थियो । यो पुस्तक मैले यति तन्मयताका साथ पढें कि मलाई लाग्न थाल्यो साहित्यको सर्बश्रेस्ठ विधा नै कथा हो । अनि म बिस्तारै कथाको पोखरीमा पौडन थालें ।कथा मेरो प्रिय विधा हुन थाल्यो ।
मनु ब्राजाकी सँगसँगै अरु कथाकारका कथाहरु पनि पढ्न थालें । तैपनि किन किन मनुकै कथाहरु चमत्कारिक, गहन र प्रभावकारी लाग्थे मलाई ।
उहाँका कथाहरु पढ्दा पढ्दै कता कता म भित्र पनि कथा लेख्ने दुस्साहस पलाउन थाल्यो । कथा लेख्ने तरिका, शिल्प, कला केही थिएन मसँग ।अझै पनि छैन तर, पनि कथा लेखूँ भन्ने भावनाको हुरी चल्न थालेको थियो मभित्र । अनि म जसोतसो कापीका पानामा कलमको मसी पोख्न थालेको थिएँ ।
२०५३ सालको माघ महिनाले मलाई दाङ्गको तुलसीपुरसम्म पुर्याएर छोड्यो । त्यो रोमाञ्चकारी बसयात्राका सानातिना घटनालाई अलिअलि काल्पनिक फुर्का फुर्की जोडेर मैले कथाको रुप दिएँ । जुन रचना कथाकै नाममा “ सहयात्री” शीर्षकमा गरिमामा ०५४ सालको माघ अंकमा प्रकाशित भएर पाठक छेउ आइपुग्यो । मेरो यही कथाले मलाई पहिलो पटक मेरा प्रिय कथाकार मनु ब्राजाकीसँग भेट गरायो ।
गरिमामा मेरो कथा छापिएको मात्र के थियो, म पनि कथाकार भएको भ्रमको रथमा चढेर एकदिन साझा प्रकाशनको हाताभित्र चियाउन पुगें । त्यो दिन शायद ०५४ साल फल्गून महिनाको अन्तिम दिन थियो जुन दिनले मलाई प्रिय कथाकार मनु ब्राजाकीसँग साक्षात्कार गरायो । म खुशीले त्यसै त्यसै उफ्रिएको थिएँ त्यसबेला ।
सोध्दै खोज्दै पुगें म गरिमाको सम्पादन कक्षमा । गरिमाका सम्पादक गोपाल पराजुलीको कार्यकक्षमा बसेर चारजना गम्भीर मानव आकृति नेपाली साहित्यको भूत, भविष्य र वर्तमानका बारेमा छलफलरत थिए । संघारको केही समयको उभ्याइपछि मैले अभिवादनसहित आफ्नो नाम बताएँ । तिनै चार मध्येका एक हुनुहुँदो रहेछ मैले खोजिरहेका कथाकार मनु ब्राजाकी । अर्का एक गरिमाका सम्पादक गोपाल पराजुली, अन्य दुईजना को थिए, मैले थाहा पाउन सकिनँ ।
अरु राम्रा राम्रा कथा लेख्नुस् भनेर मलाई सम्पादक पराजुलीले प्रोत्साहित गर्नु भो र पारिश्रमिक स्वरूप मैले छ सयको थैली पनि प्राप्त गरेको थिएँ ।
त्यो दिन म यति खुशी भएँ कि मनु ब्राजाकीलाई कहिल्यै नछोड्नु जस्तो भइरह्यो ।
त्यतिखेर मनु ब्राजाकीले मेरो काँधमा मार्नु भएको धाप म कहिल्यै बिर्सन्न । असाध्यै न्यानो र स्नेही थियो त्यो धाप । मजस्तो फुच्चे केटोका लागि मनु ब्राजाकी जस्तो प्रख्यात कथाकारको सामीप्य अहोभाग्यको कुरा थियो । मैले त्यो धापलाई आशिर्वादका रुपमा स्मरण गरिरहेको छु अझसम्म पनि ।
गरिमाका सम्पादकको कार्यकक्षको त्यो छलफल धेरैबेर चलेन । मनुदाइको पछि लागेर म पनि साझा प्रकाशनबाट बाहिरिएँ । बाहिर आएर मनु दाइ र म दाइकै अगुवाइमा एउटा गल्लीभित्र पस्यौं । दाइको सधैंजसो जाने नियमित होटेल रहेछ त्यो । बस्ने बित्तिकै दाइको प्रिय झोल आइपुग्यो स्टील गिलासभरि । अनि मलाई के लिने भनेर इशाराले नै सोध्नु भो । मैले अम्लेट मगाएँ । करिब दुईघण्टा जतिको बसाइमा ६/७ वटा त दाइको गजलमात्रै सुनियो ।
म गजलतिर मोडिनुमा यस घटनाको पनि हात छ कि जस्तो लाग्छ अहिले मलाई । त्यो दिनको महफिल मेरो लागि त बिल्कुल नयाँ अनुभव थियो । मनु दाइ एउटा सिद्धहस्त कथाकार अनि गजलकार ! म बिल्कुल आलोकाँचो युवा पाठक !
दाइले ममाथि निकैबेर सम्म स्नेहको वर्षा गराइरहनु भएको थियो । दाइको हृदयबाट निसृत प्यारको नदीमा म त्यो दिन निकै बेरसम्म पौडिरहेको थिएँ । सम्झन लायक दिनहरु मध्ये त्यो दिन पनि एक हो ।
तीन दिनजति मनु दाइसँग खुब घुमें म त्यसबेला । त्यति संगतबाट मनु दाइको व्यक्तित्व र बानी व्यवहारको मज्जाले अध्ययन गर्ने मौका पाएँ । मनु दाइका कथा जति गम्भीर छन्, त्यति नै शालीन थियो दाइको व्यक्तित्व ।
मनु दाइ घमण्डको रथमा चढ्नु भएको मैले कहिल्यै देखिनँ । सधैं आत्मियताको कालोपत्रे सडकमा हिँडिरहेको देख्थें मैले उहाँलाई । आफूसँग रकम भएसम्म अरुको नखाने, साना र नवोदितहरुसँग पनि आत्मादेखि नै खुल्न सक्ने अनि असाध्यै माया गर्ने, मनु दाइका बिर्सनै नसकिने गुणहरु हुन् ।
मनु दाइको भैंसेपाटीको निवासमा पुग्दा ठुलै धाममा आएको अनुभव हुन्थ्यो मलाई । दाइको हस्ताक्षरमा उपहारस्वरूप प्राप्त गरेको दाइको कथा संग्रह “ तिम्री स्वास्नी र म ” मेरो घरको पुस्तकको खातमा शोभा बढाएर बसिरहेको छ अझै ।
आफ्नो पहिलो कथा मनु दाइसँगै गरिमामा छापिनु पनि मेरो खुशीको श्रोत हो एउटा । त्यही अंकमा मनु दाइको “ जोर पैयूं ” कथा छापिएको छ जुन मनु दाइको मास्टर पिस कथा हो । मनु दाइका कथा र गजलले मलाई नजिक पुर्याइरहन्छन् ।
भविष्य यात्रा, पारदर्शी मान्छे, अर्थमुक्त, भुन्टीको भविष्य, रेबतिया माने रफिकन, अन्नपूर्णाको भोज , तिम्री स्वास्नी र म, सामन्तको सम्पति, आमालाई बेच्नु हुँदैन, लाटा !, एउटी अवलाको अभियान, आकाशको फल, अमलेख, छिंडीमा सुर्योदय, राग हजुरिया जस्ता सशक्त कथाहरुले मलाई असाध्यै प्रभाव पारेका छन् । यी कथाहरु कसरी लेखिए ?
मनु दाइकै मुखबाट सुन्न पाए कति आनन्द हुने थियो । उहाँका यी र यस्तै चर्चित कथाहरुका गर्भावस्थाको बारेमा जान्न पाए कति मजा हुने थियो । मैले यस्तै यस्तै कुरा मनमा खेलाएर धेरै दिन बिताएँ । तर, अब यो सम्भव छैन । मनु दाइ अब यस संसारमा रहनु भएन ।
म गर्वका साथ भन्न सक्छु – कथाप्रति मेरो अभिरुचि बढेको मनु ब्राजाकीका कथा पढेर नै हो । मेरा कलिला हात समाएर मलाई कथाको राजमार्गमा तातेताते गरी हिँडाउने पहिलो व्यक्तिको नाम नै मनु ब्राजाकी हो भन्ने मलाई सधैं लागि रहन्छ ।
हार्दिक श्रद्धान्जली मनु दाइ !
बागमती–११ कर्मैया, सर्लाही ।
प्रतिक्रिया 4