Comments Add Comment

प्रधानमन्त्रीले भारतसँग व्यक्तिगत कुरा सल्टाउनु भयो होला: कांग्रेस

'नेपाल भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेका थियो'

२६ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल-भारत सम्बन्ध प्रचण्ड र देउवा सरकारकै पालामा ट्रयाकमा आइसकेको बताएको छ ।

प्रधानमन्त्री केपी ओलीको भ्रमण व्यक्तिगत सम्वन्ध सुधारका लागि मात्र भएको उसको टिप्पणी छ ।

सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले केपी ओलीले सत्ताबाहिर हुँदा एउटा र सत्तामा आएपछि अर्को कुरा गर्ने गरेको आरोप लगाए ।

भारत गएपछि दुई देशको सम्वन्ध कहिले बिगि्रएको थियो र भनेको उल्लेख गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले भने, ‘सत्तामा आएपछि सबै राम्रो मात्र देख्ने प्रवृत्तिले देशलाई बलियो होइन, कमजोर बनाएको छ ।’

उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई हिजो सत्ताबाहिर रहँदा आलोचनात्मक धारणा राखेका विषय के छलफल भयो भन्ने ?भनी प्रश्न गरे ।

नाकाबन्दीसँगै चिसोपन आएको दुई देशको सबन्धमा प्रचण्ड सरकारकै पालामा सुधार भएको उनले दाबी गरे ।

प्रचण्ड सरकारमा परराष्ट्रमन्त्री रहेका महतले भने, ‘देउवा सरकारको पालामा त्यसले निरन्तरता पायो । मलाई लाग्छ, भारतीय नेतृत्वलाई नेपालको के समस्या छन्, के आवश्यकता छन्, केकस्ता सन्धि सम्झौता अडि्कएका छन्, त्यसलाई राम्रोसँग बुझाउन सफल भयौं र एउटा बाटो पक्रियो ।’

ओलीजी प्रधानमन्त्री हुँदा नेपाल भारत सम्वन्ध सुमधुर भइसकेको भन्दै पूर्व परराष्ट्रमन्त्री महतले अघि भने, ‘दुई देशको सम्वन्ध पहिल्यै राम्रो भइसकेको थियो । ओलीजीले आफ्नो व्यक्तिगत कुराहरुलाई अहिले सल्टाउनु भयो होला ।’

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको रक्सौल-काठमाडौं रेल सम्झौताको स्वागत गरेको छ ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै क्रममा कृष्णनगरबाट लुम्बिनी हुँदै काठमाडौं जोड्ने र रक्सौल हुँदै काठमाडौं जोड्ने दुई रेलमार्गबारे छलफल भएको भन्दै नेता महतले अहिले रक्सौल हुँदै काठमाडौं जोड्ने रेलमार्गको निर्णयमा पुग्नु स्वागतयोग्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment