Comments Add Comment

कुवेतमा ‘नेपाल डे’ कार्यक्रम

१० अप्रील, कुवेत । कुवेतमा ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरिएको छ ।

कुवेतमा नेपालको पर्यटन, संस्कृति एवम् निर्यात प्रबर्दन गर्ने उद्देश्यले सोमबार  इन्टरनेशनल वुमन्स ग्रूप (अार्इडब्लुजी) कुवेतको सहयोगमा उक्त संस्थाकी सदस्य रीता हमालले कार्यक्रम आयोजना गरेकी हुन् । हमाल कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालकी धर्मपत्नीसमेत हुन् ।

कार्यक्रममा नेपाली कलाकारहरूले नेपालको नृत्य, संगीत तथा वाद्यवादन प्रस्तुत गरिनुका साथै नेपालका पर्यटकीय आकर्षण सम्बन्धी डकुमेन्ट्री देखाइएको थियो ।

साथै पश्मिना सल, चिया, कास्टकला, कागजजन्य बस्तुहरू, जस्ता नेपालका निर्यातयोग्य वस्तुहरूसमेत प्रर्दशनीमा राखिएको थियो ।

उक्त कार्यक्रममा कुवेतका उच्च तहका प्रबुद्ध महिलाहरू, विभिन्न देशका राजदूतका धर्मपत्नीहरू, अन्य महत्वपूर्ण व्यक्तिहरू एवम् संचार माध्यमहरूको उपस्थिति रहेको थियो ।

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य एवम् अन्य पर्यटकीय आकर्षणहरूको उच्च प्रसंशा गर्दै नेपालमा भ्रमणमा जाने इच्छा व्यक्त गर्नुका साथै नेपालको कला, संस्कृति तथा निर्यातमूलक वस्तुहरूको अत्यन्त रूचीपूर्वक अवलोकन गरेका थिए ।

कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले नेपाल डे कार्यक्रम आयोजना गरेकोमा इन्टरनेशनल वुमन्स ग्रूपलार्इ धन्यवाद ज्ञापन गर्दै नेपाल सुन्दर देश भएको हुंदा नेपालमा पर्यटकको रूपमा भ्रमणमा जान, नेपालका विश्वप्रसिद्द निर्यातयोग्य वस्तुहरूको उपभोग गर्न र नेपालका उर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, यातायात जस्ता क्षेत्रहरूमा लगानी गरेर फाइदा लिन कुवेती तथा अन्य विदेशी नागरिकहरूलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment