+
+

सर्वेन्द्र खनाल: ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

आइजीपी बन्नुअघि खनालले केके गरे ?

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २७ गते २०:१९
तस्वीरः सर्वेन्द्र खनालको फेसबुकबाट

२७ चैत, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

हाल महानगरीय ट्राफिक प्रहरीका प्रमुख रहेका उनले प्रहरी संगठनभित्र जिम्मेवार र काबिल अफिसरको रुपमा परिचय स्थापित गराएका छन् । उनी सबै राजनीतिक नेतृत्वसँग पनि सन्तुलित सम्बन्ध राख्ने अफिसरको रुपमा पनि चिनिने गरेका थिए ।

पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहेका उनले काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्तीलाई ‘स्मार्ट लाइट’ जडान गरेर रिप्लेस गरेका थिए ।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखासहितका महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व गरिसकेका खनालले सीमावर्ती क्षेत्र बारा, पर्सा, वीरगञ्ज लगायतमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए ।

इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, दरबारमार्ग र कालिमाटीको प्रमुखका रुपमा काम गरेका थिए ।

प्रहरी नायब निरीक्षक (डीएसपी) मा बढुवा भएपछि उनले नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरेको थिए ।

एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको नेतृत्व उनले गरेको थिए । उनी एसएसपी भएपछि अञ्चल प्रहरी कार्यालय नारायणीमा पनि नेतृत्वमा गरेको थिए ।

उनी एसएसपी भएकै बेला केन्द्रीय प्रहरी प्रवक्तासमेत बने ।

तनहुँमा ०२३ वैशाख १३ गते जन्मिएका खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए ।

त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरे । त्यही बीच उनी प्रहरी सेवामा प्रवेश गरे ।

जागिरे जीवनका क्रममा खनालले २२ वटा विभुषण र १२ तालिम हासिल गरेका छन् ।

म्याच फिक्सिङको पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए । उनको नेतृत्वमा भएको अनुसन्धानले सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो ।

सो प्रकरणमा नेपाली फुटबलका तत्कालीन कप्तान सागर थापासहित चार खेलाडी, एक पूर्वप्रशिक्षक लगायतविरुद्ध मुद्दा चलाइएको थियो ।

म्याच फिक्सिङ प्रकरण सार्वजनिक भएपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु गोल्डकपको उपाधि जित्दा खनाललाई बधाईको ओहिरो लागेको थियो ।

नेपाली फुटबललाई प्रहरीको सो अनुसन्धानमा ट्याकमा ल्याएको फुटबलप्रेमीहरुले ठहर गरेका थिए ।

महाशाखामै रहँदा उनले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका थिए । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए ।

सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समूहबीच भएको मुठभेडका क्रममा उनी मारिएका थिए ।

भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।

त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । त्यसबेला उनले गरेको अप्रेशनका कारण थुप्रै कन्सल्टेन्सी व्यवसायीहरु वैधानिक बाटोमा आएका थिए ।

प्रहरीले अप्रेशन चलाउनुअघि काठमाडौंमा १ सय ३० वटा कन्सल्टेन्सी मात्र वैधानिक रुपमा दर्ता भएकोमा अप्रेशनपछि ११ सय कन्सल्टेन्सी दर्ता भएका थिए । महाशाखामै रहँदा उनले हुण्डी कारोबारीविरुद्ध समेत कदम चलाएका थिए ।

जनआन्दोलनमा काठमाडौंको नेतृत्व

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) खनालले ०६२/६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो ।

जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ ।

तराईमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए ।

दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष तथा सैनय कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे ।

यो पनि पढ्नुस् 

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?