
२८ चैत, धुलिखेल । कुनैबेला अपराध, दुर्घटना र सिण्डिकेटको ‘हब’ बनेको काभ्रेपलान्चोक बन्न थालेको काभ्रेपलान्चोकले आफ्नो परिचय फेर्न निकै संघर्ष गरिरहेको छ । प्रहरी प्रशासनले जनप्रतिनिधि र राजनीतिक दलको समेत साथ लिएर काभ्रेको छबी फेर्न खोजेको छ ।
प्रदेश ३ को राजधानी काभ्रेपलान्चोक बनाउन प्रदेश संसदमा प्रस्ताव दर्ता भइसकेको सन्दर्भमा यहाँका राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी र नागरिक समाजले पनि प्रहरीको अभियानलाई साथ दिएका छन् । जसको बलमा प्रहरी एकपछि अर्को अप्रेसमा सफल भइरहेको छ ।
यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको लडाइँ सबैभन्दा पछिल्लो र पेचिलो संघर्ष थियो । यो लडाइँमा संघीय सरकारदेखि स्थानीय जनताकोमात्र होइन सिंगो देशको समर्थन पाएको प्रहरी तथा प्रशासनले ठूलो सफलता पाएको छ ।
काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले सिण्डिकेट विरुद्धका लडाइँ चुनौतिपूर्ण रहे पनि सबैको साथ मिलेको बताए । यद्यपी यो अप्रेसन केही दिनका लागि मात्र नगरेर निरन्तर राखिनुपर्ने उनको अनुभव छ । प्रहरीका लागि अहिलेको सफलता कायमै राख्नु भविष्यका लागि पनि चुनौति बनेको छ ।
उपत्यका महाशाखामा हुँदा पेट्रोल पम्पहरुले उपभोक्तालाई ठगी गरेको सन्दर्भमा विशेष अप्रेसन गरेर सफलता पाएका थापाले काभ्रे सरुवा भएपछि सिण्डिकेट, गुण्डागर्दी र टिपरहरुको ज्यानमारा प्रवृतिविरुद्ध मिसन सन्चालन गरेका थिए । उनलाई यो मिसनमा सबैको साथ मिल्यो ।
राजधानी काठमाडौंसम्म गुण्डागर्दीको सन्जाल चलाउने काभ्रेकै धेरै भएकाले उनले शुरुमै स्थानीय जनता र प्रहरीबीच अन्तरक्रिया बढाए । जसले गर्दा गुण्डागर्दीविरुद्धको अप्रेसनमा उनलाई स्थानीयको साथ भयो । गणेश लामा जस्तै देशकै ठूला गुण्डा नाइके चुनाव लड्दा पनि काभ्रेमा कुनै हिंसात्मक घटना हुन नदिन यहि ट्रिक काम लाग्यो ।

अपराधिक गतिविधि रोक्नका लागि सहरी क्षेत्रमा सिसिटिभि जडान्, अरनीको राजमार्गमा दैनिक रुपमा बढेको दुर्घटना न्युनिकरणका लागि साँढे बनेका टिपरहरुलाई टाइम कार्ड मार्फत सीमित गतिमा सञ्चालन गर्न समेत प्रहरी सफल भएको छ ।
दिनदिनै टिपरको ठक्करबाट मान्छेको मृत्यु हुने र राजमार्ग अवरुद्ध भइरहने समस्याबाट अहिले बनेपाले मुक्ति पाएको छ । टि्रपर, बस र अन्य सवारी साधनहरुलाई विभिन्न खालका दुर्घटना न्युनिकरण सम्बन्धी तालिमको नियमित व्यवस्थापन समेत गर्दै आएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेरजजंग मल्लले बताए ।
राजधानीमा सहजै भित्र्याउनका लागि २१२ रोपनीमा उत्पादन भएको हजारौं बोट गाँजा नष्ट पारेको काभ्रे प्रहरीले विभिन्न मुद्दाका फरार ५६ फरार अभियुक्तको समेत प्रहरीले पक्राउ गरेर अदालत सामु बुझाएको छ । जिल्लामा रहेका ६ थान हातहतियार सहित केही व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएको छ ।
जिल्लामा केही प्रतिष्ठित व्यक्तिहरुले सञ्चालन गरेको जुवा तासको अखडासमेत प्रहरीले गत मंसिरमा तोडिदिएको थियो । नक्कली लाइसेन्सको एउटा गिरोह नै पक्राउ गर्नु काभ्रेका प्रहरीकोे अर्को ठूलो सफलतासमेत हो । काभ्रे राजधानी छिर्ने नाका र सबैभन्दा नजिकको ठाउँ भएका कारण पनि सुरक्षामा बहुआयामिक चुनौतिहरु रहेको एसपी थापाले बताए । यद्यपी धेरै विकृति र अपराधहरु नियन्त्रण गर्न सकिएको उनको दावी छ ।
मानव बेचबिखन, बलात्कार, महिला हिंसा जस्ता कुप्रथा विरुद्ध काभ्रे प्रहरीले दैनिक रुपमा विभिन्नखाले अभियान चलाउनु सकारात्मक भएको मानवअधिकारकर्मी भोजराज तिल्सिनाले अनलाइनखबरलाई बताए । विभिन्न बहानामा प्राकृतिक सम्पतीको दोहन रोक्नसमेत काभ्रे प्रहरी सफल भैरहेको छ ।
राजधानी नजिकैको जिल्ला भएकाले विभिन्न अपराधिक क्रियाकलाप गरेर लुक्ने स्थान बन्न सक्ने भन्दै प्रहरी विभिन्नखाले सुरक्षा योजनाका साथ अगाडि बढेको छ ।
‘डन’ र ‘गन’ नचलेको चुनाव
काभ्रेमा चर्चित गुण्डा नाइके गणेश लामा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा उम्मेदवार बनेपछि प्रहरीलाई निर्वाचन सुरक्षा ठूलो चुनौतीको विषय बनेको थियो । युवा संघका उपाध्यक्ष चन्द्र लामा र गुण्डा नाइके गणेश लामाबीचको प्रतिस्पर्दा भोट र नोटमा मात्रै नभएर, पाखुरामा पनि हुन सक्ने भन्दै प्रहरीले त्यस निर्वाचन क्षेत्रमा फरक किसिमको सुरक्षा व्यवस्थापन गरेको थियो ।
निर्वाचनमा गणेश लामाले बुथ कब्जाको योजना बनाएपछि प्रहरीले बुथ कब्जा हुन सक्ने स्थानमा ठूलो शक्ति परिचालन नै गर्नु परेको थियो । यस अगाडिका निर्वाचनमा गोली चल्ने काभ्रेमा, झनै गणेश लामा उम्मेदवार भएको जिल्लामा यसपटक भने प्रहरीको सतर्कताले गोलीविहीन निर्वाचन बनाएको थियो ।
सिन्डिकेटविरुद्ध स्कर्टिङदेखि लाठीसम्म
चैत्र १ काभ्रेमा भित्रिएको मयूर यातायातलाई जिल्लामा असुरक्षित हुने अवस्था देखेपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाले विशेष सुरक्षा योजना बनाएर बसको सुरक्षा व्यवस्थापन गरिरहेको छ ।
प्रहरीले काभ्रे जिल्लामा इजाजत लिएर चल्न थालेका बसहरुलाई अवरोध गर्ने ३ जनालाई सार्वजनिक मुद्दासमेत चलाएको छ । ४० वर्षदेखि सिन्डिकेट कायम राख्दै आएका पुराना व्यवसायीहरुको सडक भित्रको एकाधिकार विरुद्ध प्रहरीले स्कर्टिङ र लाठी देखाएपछि मयूरसँगै साझा यातायातसहित ५ यातायात व्यवसायीहरु काभ्रेको बनेपा, धुलिखेल र पनौती भित्रन थालेका छन् ।
बनेपामा फुटपाथ व्यवस्थापन
५ वर्ष अगाडि तत्कालिन बनेपा नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले थालेको अरनीको राजमार्गभित्र फुटपाथ हटाउने अभियान यतिबेला नगरपालीका र प्रहरीको सक्रियताले सार्थकता पाउने विन्दुतर्फ अग्रसर भैरहेको छ ।
जनप्रतिनिधिहरुलाई साथ दिँदै प्रहरीले २४ घण्टा फुटपाथ व्यवस्थापनमा सहकार्य गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनलजंग शाहले बताए । प्रहरीले फुटपाथ व्यवस्थापनमा अटेर गर्नेलाई विभिन्न खालका कारवाहीसमेत गर्दै आएको छ ।
काभ्रेपलान्चोक जिल्लालाई सुरक्षित बनाउन स्थानीय जनता र राजनीतिक दलले प्रहरी प्रशासनलाई साथ दिएका छन् । प्रदेशको राजधानी बनाउने कसरत भइरहेका बेला जिल्लालाई अपराध, सिण्डिकेट र लापरवाहीमुक्त बनाउन स्थानीय प्रहरी प्रशासनलाई सबैको साथ रहेको प्रदेशसभा सदस्य चन्द्र लामाले बताए । लामा प्रस्तावक बनेर काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको छ ।
प्रतिक्रिया 4