Comments Add Comment

बेलहिया नाकामा डेढ करोड लगानीमा बुद्धत्व झल्कने प्रवेशद्वार

बेलहियामा बन्ने नमूना गेट । स्केचः नेस्ट कन्सल्टेन्सी

२९ चैत, बुटवल । रुपन्देहीको नेपाल-भारत सीमा नाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने भएको छ ।

सिद्धार्थनगर नगरपालिकाले एक करोड ५० लाख लगानीमा प्रवेशद्वार बनाउन लागेको हो । सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो ।

यहाँ नेपालको दोस्रो ठूलो भन्सार कार्यालय पनि छ । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौ पर्यटक लुम्बिनीमा भ्रमणमा आउँछन् ।

नाकामा नेपाललाई चिनाउने बुद्ध र बुद्धत्व झल्कने संरचना नहुंदा भारतीय गाइडमार्फत आउने अधिकांश पर्यटकले बुद्ध जन्मस्थल प्रवेश गरेको पत्तो समेत पाउँदैनन् ।

सिद्धार्थ नगरपालिकाले बुद्ध जिवनीमा आधारित आकर्षक प्रवेशद्वार बनाएपछि यो समस्या हट्ने पर्यटनविद्हरुले विशवास गरेको छन् ।

नगरप्रमुख हरिप्रसाद अधिकारीले भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई अब बेलहियामा आउँदा वित्तिकै बुद्ध नगरी सिद्धार्थनगर र बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्दैछौं भन्ने सन्देश दिन आकर्षक प्रवेश द्वार बनाउन लागिएको बताए । ‘हाम्रो उद्देश्य बुद्धजन्मस्थलसँगै नगरपालिकाको प्रचार-प्रसार गर्नु हो,’उनले भने-‘यहाँ आउने लाखौं बौद्धमार्गीहरुले नेपाल प्रवेश गर्दा वित्तिकै बुद्धको सामिप्यतामा आएको महसुस गर्ने छन् र यो सन्देश विश्वभरी फौलाउने छन् ।’

पर्यटकलाई भारतीय गाइडले नेपाल प्रवेश गरेको थाहौ नदिई लुम्बिनी घुमाएर एकै दिनमा पुनः भारत फर्काउने गरेका छन् । तर, अब प्रवेशद्वारमै बुद्धजन्मस्थल प्रवेश गरेको थाहा पाएपछि धेरै पर्यटकले यहाँ रात बिताउने र पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्बासेले बताउँछन् ।

बेलहियामा अहिले पुरानो प्रवेशद्वार छ । उक्त प्रवेशद्वार साँघुरो छ । सडक विस्तारसँगै उक्त प्रवेशद्वार हटाएर सडक विभागले सामान्य बनाउने तयारी थालेको थियो ।

तर, नगरपालिकाले आफ्नै लगानीबाट लुम्बिनी र बुद्धको पहिचान झल्कने सन्देशमूलक प्रवेशद्वार बनाउने भएको हो । प्रवेशद्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ ।

प्रवेशद्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी,अशोका,स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका,आर्च,स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै प्रवेशद्वारमा बौद्ध ध्वनी गुन्ज्यायमान पनि हुने छ ।

पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी,इन्जिनियर,जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा प्रवेशद्वारको डिजाइन तयार पारिएको नगरपालिकाले जनाएको छ । ‘लामो समयको अध्ययन, सबै क्षेत्रको सल्लाह सुझावमा अन्तिम डिजाइन तयार पारिएको हो’, नगरपालिकाका बरिष्ठ इन्जिनियर यमलाल पाण्डेले भने- ‘यसले नेपालको चिनारी र बुद्धको महत्वलाई बढावा दिने छ ।’

प्रवेशद्वारको डिजाइन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्किटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंलाई छनौट गरेरको थियो ।

उक्त कन्सल्टेन्सीले नगरपालिकालाई प्रवेशद्वारको नमूना तयार पारी हस्तान्तरण गरिसकेको छ । अब टेन्डर आह्वान गरी डेढ महिनाभित्र निर्माण थालिने पाण्डेले बताए । उक्त प्रवेशद्वारद्वार २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment