Comments Add Comment

भ्रममा नपरौं, सुनाखरी एक दिनमात्रै फुल्दैन !

सहलेस फूलबारीको सुनाखरी ‘डेन्ड्रोबियम एफिलम’ प्रजातिको हो

सुनाखरी फूल । तस्वीर : तीर्थराज पाण्डे

सिरहाको सहलेस फूलबारीमा बैशाख १ गतेमात्रै सुनाखरी फुल्छ भन्ने खबर केही पत्रिकामा आएपछि कतिपय मानिसहरु वैशाख १ गते फूल हेर्न गएको सुनियो । सिराहास्थित सहलेस फूलबारीमा वैशाख १ का दिन निकै ठूलो मेला लाग्छ । भनिन्छ, त्यो सुनाखरी मेलाको मुख्य आकर्षण बन्छ ।

यो पंक्तिकार अहिलेसम्म सहलेस फूलबारी पुुुुगेको छैन । तर, उल्लेखित प्रजातिको सुनाखरीप्रति २/४ वर्षअघिदेखि ध्यानाकृष्ट हुँदै आएको हो । कुन होला त्यो सुनाखरी प्रजाति ? कुन त्यस्तो सुन्दर सुनाखरी होला कि त्यो मात्रै एकै दिन अर्थात वैशाख १ गते मात्र फुल्ने ?

एकै दिन मात्र फुल्ने तथ्य वनस्पति अध्ययन अनुसन्धान गर्नेहरुका लागि त रहस्य मान्नुपर्ने सन्दर्भ हो । किनभने विश्वमै एकैदिन मात्रै फुल्ने सुनाखरी सायदै अभिलेखित भएको छ । अर्कोतिर, वैशाख १ गतेकै दिन किन फुल्छ ?

यसलाई पत्याउन सकिने कुनै आधार त थिएन नै । तर, हल्लामात्र सुन्दै आइएको यो विषय एउटा राष्ट्रिय पत्रिकामा छापियो, जुन भ्रामक रहेछ ।

यसबारे हामीवीच केही अनौपचारिक रुपमा छलफल भए । वन मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभागको एक पुस्तिकमा त्यसबारे जानकारी दिइएको पाइयो ।

डेन्ड्रोबियम एफिलम

सहलेस फूलबारीको एकैदिन मात्र फुल्ने भनिएको सुनाखरीको तस्बीर वनस्पति विभागका अनुसन्धान अधिकृत तीर्थराज पाण्डेले खिचेका छन् । उक्त तस्वीर सोही विभागले प्रकाशन गरेको ‘प्लान्ट डाइभरसिटी अफ सहलेस फूलबारी, सिराहा’ शीर्षक पुस्तकको बाहिरी आवरण पृष्ठमा छ ।


पुस्तक सोही विभागका अनुसन्धानकर्ता गंगादत्त भट्ट र सुवास खत्रीले सन् २०१६ मा लेखेका हुन् ।

यो प्रजातिको सुनाखरीको वैज्ञानिक नाम डेन्ड्रोबियम एफिलम हो । यो प्रजाति समुद्री सतहबाट १ सय देखि १५ सयमिटर भू–सतहको उचाइसम्म पाइन्छ ।

फूल अत्यन्तै आकर्षक हुन्छ नै । आधा मिटरजति लामो झुण्डिएको नवकाण्डमा फुल्छ । फूल सेतो र हल्का गुलाबी रंगको हुन्छ ।

वरिष्ठ वनस्पतिविद डा. केशबराज राजभण्डारी लिखित पुस्तक ‘अ ह्यान्डबूक अफ द अर्किडस् अफ नेपाल’ (सन् २०१५) अनुसार डेन्ड्रोबियम एफिलम नेपाललगायत भारत, भूटान, बंगलादेश, श्रीलंका, चीन, म्यानमार, लावोस, भियतनाम, थाइलैण्ड, मलेसिया, इन्डोनेसिया, अष्ट्रेलिया आदि देशमा पाइन्छ ।

यस्तै डा. केशवराज राजभण्डारी र संजीवकुमार राई लिखित पुस्तक ‘अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस अफ नेपाल’ भाग एक (सन् २०१७) को पृष्ठ ४८० मा यसको आकर्षक तस्बीर छ । नेपालमा डेन्ड्रोबियम जातिको अहिलेसम्म ३२ प्रजाति पाइका छन् ।

फुल्ने सिजन

यो सुनाखरी वैशाख १ गते फुल्छ भनिए पनि मार्च–एप्रिल अर्थात चैत्र वैशाख महिनाभरि फुुल्छ । यो सुनाखरी सुनसरी जिल्लामा मध्य चैत्रदेखि मध्य वैशाखसम्म फुलेको भेटिन्छ । मोरङ जिल्लाको लेटाङ पश्चिमतर्फ रहेको राजारानी पोखरीमा वैशाख २ गते धिमाल समुदाय अत्याधिक सहभागी हुने मेला लाग्छ । उक्त दिन पनि पोखरीको आसपासको क्षेत्रमा यो सुनाखरी प्रशस्तै मात्रामा फुलेको भेटिन्छ ।

राजारानी पोखरी क्षेत्रमा प्रशस्तै सुनाखरी प्रजाति पाइएकाले त्यहाँ त्यस सुनाखरी प्रजातिबारे जनमानसको ध्यान गएको पाइँदैन । त्यहाँ रुखैपिच्छे २/४ प्रजातिका सुनाखरी लत्रिएका देखिन्छन् । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. लोकेशरत्न शाक्य र सह प्राध्यापक डा. देबेन्द्रमान बज्रचार्यले एक दशकअघि राजारानीका सुनाखरीबारे एक अनुसन्धानात्मक लेख नै अन्तराष्ट्रिय जर्नलमा प्रकाशित गरे । लेख अनुसार त्यहाँ ३ दर्जन बढी प्रजातिका सुनाखरी पाइन्छन् ।

प्रा.डा. शाक्य राजारानी पोखरी क्षेत्रको सुनाखरी विविधताबारे पेपर प्रेजेन्ट गर्न अमेरिका पुगेका छन् । राजारानी पोखरी आसपासका क्षेत्रमा किन अत्याधिक सुनाखरी प्रजाति पाइन्छ भन्ने सन्दर्भ अझै अनुतरित छ । तर, त्यसतर्फ अन्य वनस्पतिविदहरुको ध्यानाकृष्ट भएको पाइएको छैन ।

कतिपय पत्रकारले लहैलहैमा सिराहाको सहलेस फूलबारीमा एक दिन फुल्ने सुनाखरी भनेर लेखे । त्यो वास्तविकता हुँदै होइन । तर, त्यही कुरा अन्य पत्रकारले पनि अन्धाधुन्ध साभार गर्दै आएका छन् ।

यो क्रम ०७५ सालमा पनि दोहोरिएको छ । यसले गर्दा पत्रपत्रिकामा छापिने समाचार बिश्वसनिय हुँदैन भन्ने गलत सन्देश प्रवाह हुन सक्छ । त्यसैले कुनै पनि समाचारलाई अशिश्वसनीय बनाइनुहुँदैन । यसतर्फ समाचार सम्प्रेषण गर्ने व्यक्ति र प्रकासन गृहले ध्यान दिन जरुरी देखिएको छ ।

(मादेन वनस्पतिशास्त्री हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment