+
+
Shares
यात्रा डायरी :

शिव जटामा फक्रिएको सुनाखरी

अब हामी झरनामा पुगिसकेका थियौं । त्यो अद्भुत शीतलता, त्यो मनोरम दृश्य, त्यो अनुपम सुन्दरता- यसलाई वर्णन गर्न मेरा शब्दहरूको क्षमता नै पुग्दैन ।

अस्मिता विष्ट अस्मिता विष्ट
२०८२ असार २१ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले गर्मी र जीवनका तनावबाट मुक्तिका लागि शिव जटा जाने यात्रा वर्णन गरे।
  • प्राचीन रोमको मनोरञ्जन र नेपालभित्रको प्राकृतिक यात्रा तुलना गर्दै यात्रा अनुभव साझा गरे।
  • झरना र प्राकृतिक दृश्यहरूले मनलाई शान्त र ताजा बनाएको अनुभव व्यक्त गरे।

धरानमा उत्पात गर्मी दिन प्रतिदिन बढ्दो छ । त्यसमाथि जीवनमा आइपर्ने विविध तनाव – उफ् ! लाग्छ, सूर्य पृथ्वीलाई आफ्नो आगोको लपेटामा पार्न उद्यत छ ! तर पनि उसले हाम्रो हृदय भने सल्काइहाल्दैन । हृदयलाई सल्काउने त हाम्रै जीवनका सपना, महत्वाकांक्षा र सम्बन्धहरू हुन् – जसले मनमा आँधी ल्याउँछन्, आगो सल्काउँछन् ।

त्यसैले आफ्नो प्रिय हृदय जोगाउन, शान्तिको खोजीमा, शिव जटा जाने निर्णय गरें– शिवजीको शरणमा । आखिर, हामी जस्ता साधारण मानिसको हृदय शीतल पार्नको निम्ति नै त भोलेबाबाले आफ्नै शिरमा गंगा मैयाँलाई राख्नुभयो होला ! र, खन्याउनुभयो होला शिव जटाहरूमा । उहाँले विषलाई समेत कण्ठमा बोकेर हिंड्नुभयो – हामी सामान्य मानिसले कहाँ सक्नु त्यो विधि साहस देखाउन !

मैले यो गर्मी, यो जलन र तड्पाइबाट मुक्तिको खोजीमा यात्रा शुरू गर्ने विचार गरें ।

निक डलका अनुसार; प्राचीन रोममा करिब दुई हजार वर्षअघि नै मानिसहरू आज हामीले ‘मनोरञ्जनको लागि यात्रा’ भनेर बुझ्ने शैलीमा यात्रा गर्न थालेका थिए । लामो समयसम्म शान्ति र समृद्धिको वातावरण, साथै उत्कृष्ट सडक सञ्जालले पहिलो ‘गर्मी बिदा’ को जग बसाल्यो । यस विषयमा टोनी पेरोटेट लेख्छन्: “यदि रोम प्राचीनकालको न्यूयोर्क हो भने, नेपल्सको खाडी ह्याम्प्टन्स हो । प्रत्येक गर्मी, भूमध्यसागरीय गर्मी (जसको साथमा आउँथ्यो टाइफाइड र मलेरियाको जोखिम) ले रोमन साम्राज्यको राजधानीलाई उस बेला जेन्ते (धनी र ठूला मानिसहरू) बाट खाली बनाउँथ्यो, र सबै फेसनेबल संसार करिब सय माइल दक्षिणमा, क्याम्पानियाको चट्टानी र घामले झुल्केको किनारमा आफूलाई पुन: सिर्जना गर्न जान्थ्यो ।”

म पनि आफूलाई पुन: सृजना गर्न चाहन्थें । त्यसैले आफ्नो बजेटले भ्याउने गन्तव्य खोज्दै म मेरो छोरी र फुच्ची बुहारी (दिदीको बुहारी) लिएर थपक्क बसिहालें घरछेउ रोकिराखेको ट्याम्पोमा । शिव जटातर्फको हाम्रो यात्रा शुरू भो– चतरालाइन र छाताचोक हुँदै । छाताचोकबाट ‘वान वे’ बाटोको फाइदा उठाउँदै सिधा उकालो लागियो ।

ट्याम्पो चालकले हामीलाई जिरो पोइन्टसम्म पुर्‍याए । त्यहाँबाट पूर्व–उत्तर मोडिएर हामी हुँइकियौं । बाटोमा अजङ्गका ट्रकहरूको पङ्ति आफ्नो गह्रौं शरीर बोकेर उकालोतर्फ घिस्रिरहेका थिए । यस्ता ट्रक हाइवेमा साना सवारी साधनका लागि अभिशाप हुन् । तिनले यात्राको गतिलाई करिब–करिब ठप्प पार्दिन्छन् । आफूले गाडी कुदाएको बेला तिनलाई देख्नासाथ मलाई सास रोकिएको अनुभूति हुन्छ ।

अजङ्गका ट्रकहरूको छेउमा हाम्रो सानो ट्याम्पो– हात्तीको छेउमा बाख्राको पाठो जस्तो देखिन्थ्यो । तर त्यो बाख्राको पाठो फुर्तिला चालले अघि बढ्यो । र हामीलाई मुक्ति दिलायो– ट्रकले उडाएको पीरो धुवाँबाट, त्यो कर्कश आवाजबाट, अनि डिजलको वाक्कलाग्दो गन्धबाट ।

जिरो पोइन्टबाट करिब दुई किलोमिटर उत्तर लागेपछि, बेसक्याम्प पुगियो । त्यहींबाट हामी पूर्वतर्फ मोडियौं । अनि शुरू भयो – यात्राको साँचो स्वाद दिने अनुभूति । किनभने ‘यात्रा’ भन्ने बित्तिकै – त्यो पनि नेपालभित्रको यात्रा – असजिला, अप्ठ्यारा कुरा पनि त सँगै आउँछन् । साँचो भन्नुपर्दा, बाटो यति झुर छ कि, लाग्यो यो तत्पर छ हामीलाई एउटा पृथक् र साहसिक अनुभव दिलाउनको निम्ति ।

तर, त्यसको ठीक विपरीत, त्यही समयमा चलिरहेको शीतल र ताजा हावा – हाम्रो थाकेको शरीरभित्र सुस्तरी पस्यो । लाग्यो– हामी पखालाले थलिएर ओछ्यानमा पल्टिएको बिरामी हौं । र, त्यो बतास जीवनजलको थोपा झैं सुस्तरी खस्तै छ हाम्रो शरीरमा, वा स्लाइनको पानी नसामा बग्दैछ मन्द गतिमा । तर त्यो उत्तिकै सफल भइरहेछ जीवनलाई वेगले दौडाउन ।

केही समय त हामी उभिएर हेरिरह्यौं– लाग्थ्यो ती भित्ताहरू फुसफुसाइरहेछन्, विस्तारै खस्तैछन्– बुन्दैछन् षडयन्त्र आफ्नो विनाशको बदला लिन । तर कोसँग ? किनकि प्राकृतिक विपत्तिमा भोक्ता त अक्सर निरीह नै हुन्छन्

यात्रामा विस्तारै देखिन थाले: शहरलाई चुनौती दिंदै फक्रिएको ग्रामीण परिवेश । हरियालीको बाक्लो वासनामा गोबरको तिखो गन्ध पनि बतासमा मिसिएर गाउँले परिवेशको प्रमाण पेश गर्न उद्यत भए झैं लाग्दथ्यो । झिंगटीको छाना भएका स–साना घर, आँगनमा काम गर्दै गरेका मान्छे, अनि कम्मरको दुवैतर्फ सिपाहीले गोली भिरे झैं घोगा भिरेर बारीमा उभिएका मकैका बोट । लाग्छ सुनाउन आतुर छन् ती आफूभित्र गुम्सिएका कथाहरू ।

सुदूर क्षितिज प्रकृतिको छुट्टै क्यानभास फिजाएर फैलिएको थियो । क्यानभासमा चित्रित भए झैं देखिरहेका थिए । नीला छानाहरूले ढाकेका अनगिन्ती घरहरू मकैको बारीबाट ओरालो झर्दै, चिप्लेटी खेल्दै तल फाँटमा पुगेर फैलिए झैं देखिरहेका थिए । घरमाथि नीलो छाना, छानामाथि नीलो आकाश, अनि त्यो आकाशमा आकार बदल्दै चित्र कोर्दै हिंडिरहेका चित्रकारी बादलहरू । बादलको त्यो कलालाई पछ्याउँदै बहेको वायु र त्यही वायुलाई पछ्याउँदै हिंडिरहेका हामी ।

करिब तीन किलोमिटर जतिको बाटोमा, हामी ट्याम्पोको भित्र उफ्रिंदै, बेस्सरी कोक्रोमा हल्लिए जस्तै हल्लिंदै अघि बढ्यौं– लाग्थ्यो शरीरभन्दा धेरै मन हल्लिरहेछ – झरना पुग्ने उत्साहले । यत्तिकैमा, थकाइले भरिएको त्यो बाटो पार गर्दै हामी सेउती खोलासम्म आइपुग्यौं । खोलामाथि तन्किएको थियो मझौला आकारको परिचयविहीन झोलुङ्गे पुल ।

पुलको डोरी समाउँदै, हरेक पाइला सावधानीपूर्वक राख्दै हामी त्यो पुल पार गर्‍यौं । पुल पार गर्नासाथ, पहिले भेट भयो एउटा धारोसँग । त्यो धारो — बाटोमा थाकेर आएको यात्रुलाई निहुरिएर अञ्जुली थाप्न बोलाउला जस्तै गरी उभिएको थियो । धारोको पानी चिसो थियो, एकदम ताजा । हातमुख धोएपछि लाग्यो– यात्राको थकाइ केवल शरीरमा नभएर हृदयमा पनि रहेछ । तृषित आँतले पानी मागिरहेको थियो । तर आधुनिकतासँगै मस्तिष्कमा भित्रिएको शंकाले धाराको पानी पिउने अनुमति दिएन । हामीले धाराछेउको झुप्रो पसलमा मिनिरल वाटरको बोतल किन्यौं र प्रकृतिप्रतिको अविश्वासमा लाहाछाप लगायौं ।

धारो सुनसान थियो । शायद आधुनिकताको ऐना यस्तै धारो र पँधेरोहरूमा देखिन्छ – जहाँ पानी त बगिरहेको छ, तर मानिसहरू हराएका छन् ।

नत्र त, त्यस धारोमा देखिन्थे होला— लुगाको मयलसँगै आफ्नै जीवनको पीडा, समाजको थकाइ, र सम्बन्धहरूको दुर्गन्ध पखाल्दै गरेका हाम्रा दिदी–बहिनीहरू । देखिन्थे होला धाराछेउको ढुङ्गामा धोएका चिसा लुगासँगै चिसिएको मन अनि सम्बन्धहरू सुकाउँदै गरेका आमा–भाउजूहरू । वस्तु चराउँदै थकित भएका दाजु–भाइहरू । सुर्ती र बिंडीसँगै मनका व्यथा साट्दै र सल्काउँदै गरेका काका र मामाहरू ।

शायद अहिले दिदी–बहिनीहरू, आमा–भाउजूहरू घामले तातेको प्रेसरकुकर जस्तो वाफिलो घरभित्र बिहानको सुसेधन्दा सकेर टिकटक र रिल पो बनाउँदै होलान् कि ! दाजु–भाइहरू मलेसियाको विशाल होटलको गेटमा– गाउँको चउर, गुलियो बयर र धारो छेउको अटुट गफ सम्झँदै– उभिरहेकै होलान् कि ! मनमा यस्तै कुरा खेलाउँदै त्यहाँबाट सिधै उकालो लाग्यौं ।

आधुनिकता र प्रविधिले भित्र्याएको एक्लोपनाको वर्णन गर्दै डेभिड ग्लेनटर लेख्छन् : पुरानो प्रणाली झन्झटिलो थियो, विशेष गरेर इनारबाट पानी बोकेर ल्याउनुपर्नेहरूको निम्ति । तर त्यो प्रणाली मानिसहरूमाझ आत्मीयताको भावना जगाउने खालको थियो । आधुनिकतासँगै भित्रिएको प्लम्बिक प्रणालीबाट बनेको सामाजिक संरचना बढी सुविधाजनक त छ, तर यो अझ एक्लोपनयुक्त पनि भएको छ । लाग्यो सुविधासम्पन्न भएसँगै एक्लिंदै गइरहेछ हाम्रो समाज ।

सिंढी चढ्दै गर्दा हामी जस्ता अन्य यात्रुहरू पनि देखिए– तर उनीहरू केही विशेष तयारीका साथ आएका देखिन्थे । हामीसँग त सानो हातेझोला र छाता मात्र थियो । तर ती यात्रुहरूको पिठ्युँमा भने कसिलोसँग बाँधिएको ठूलो झोला थियो – त्यसले तिनलाई सक्कली यात्रु जस्तो देखाएको थियो ।

उनीहरूलाई हेर्दा मनमा थुप्रै प्रश्नहरू उठे– के बोकेका होलान् ती झोलामा ? खानाको लागि धेरै किसिमका परिकार बोकेका होलान् कि !

हामी पनि त कलेजबाट महिला प्राध्यापकहरूसँग ड्राइ पिकनिक आउँदा झोलाभरि खानेकुरा, मिठाइ र खाजा बोकेर आएका थियौं । वन्दना म्यामले ल्याउनुभएको दहीबडाको सम्झनाले मुखमा पानी नै आयो ।

फेरि लाग्यो कि, झोलामा किताब पो होलान् ! किनकि कतिपय त पढ्नमा लीन हुने खालका पनि त हुन्छन्– एकान्त र प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा बस्ने र पढाइमा मन केन्द्रित गर्नेहरू । उनीहरूको तयारी अनि आफ्नो रिक्त झोला देखेर अलिकति हीनताबोध जस्तो पनि भयो ।

सिंढी चढ्दै, करिब बीस मिनेट जति उकालो हिंडेपछि शिव मन्दिर पुगियो । त्यस शान्त थलोमा केही समय रमायौं । त्यहाँबाट फेरि खर्म्याङ–खुम्रुङ झर्ने खालको ओरालो बाटो समात्यौं । ओरालिंदै जाँदा, अघि पुल तरेर पार गरेको खोलाको उद्गम बिन्दुमा पो पुगियो ।

त्यो खोला— हिउँदमा अस्तित्व संकटमा परेको देखिन्थ्यो । हिउँदमा खोला हेर्दा लाग्थ्यो— ढुङ्गा र बालुवामुनि मुन्टो लुकाएर, केवल केशको मसिनो लट देखाउँदै मन्द गतिमा ऊ ओरालो लागिरहेको छ ।

जब हामीले झरनाको चिसो पानीमा शरीर भिजायौं, लाग्यो— पानीको फोहोराले मात्र बगाउन सक्ने रहेछ, हृदयमा सिमेन्ट जस्तै जमेको थकान र पीडा । त्यो झरनाको पानीसँगै बगे— थकान, तनाव, बोझ अनि क्षणिक निराशाहरू ।

तर, वर्षायाममा भने, त्यही खोला गडगडाएर, उफ्रिंदै, हल्लिंदै, बाटो समाइदिन्छ । उसको त्यो रूपले मलाई सोच्न बाध्य पार्‍यो— ‘वाह् !’ बैंस फर्काउन सक्ने त खोला मात्रै रहेछ । हिउँदमा बैंस गुमाएर बुढ्यौली बाँचेको खोला बर्खामा फेरि बैंसालु भई, बाल्यकालको उल्लास बोकेर नाच्दै, गाउँदै हिंडिरहेको जस्तो देखिन्थ्यो । तर उसले गाएको गीत मलाई बुझ्नै मुश्किल । बरु आफू सानो छँदा–‘साउने खोला उर्लेर आउँदा, माछा मार्नु दुवाली छेकेर’ भन्दै आफैंले गाउँदै नाचेको गीत पो रेल झैं छुकछुक गर्दै स्नायुमा कुद्न थाल्यो । खोलाले मलाई नोस्टाल्जिक बनाउँदै थियो ।

खोलाको एकापट्टि डरलाग्दो पहाड ठडिएको थियो । त्यहाँ, भर्खरै ठूलो पहिरो गएको अवशेषहरू– बगिरहे झैं लाग्ने बालुवा र माटोमा चिप्लिएर बसेका थिए । र, त्यहाँ ठडिएको थियो– थुप्रै गिट्टी, ढुंगाका विशाल भित्ताहरू ।

केही समय त हामी उभिएर हेरिरह्यौं– लाग्थ्यो ती भित्ताहरू फुसफुसाइरहेछन्, विस्तारै खस्तैछन्– बुन्दैछन् षडयन्त्र आफ्नो विनाशको बदला लिन । तर कोसँग ? किनकि प्राकृतिक विपत्तिमा भोक्ता त अक्सर निरीह नै हुन्छन् ।

मनले सोच्यो– यदि त्यहाँ सुक्खा पहिरो फेरि चल्यो भने केही सेकेन्डमै हामी त्यसमा पुरिन सक्थ्यौं । तर त्यसैबेला त्यो पहिरोको भीरबाट अलिक परको ढिस्कोबाट बगिरहेको– झरनाको सङ्गीतले मनोभूमिमा संगीतमय तरङ्ग भरिसकेको थियो । झरनाको त्यो उच्च आवाज, मनभित्र बजिरहेको डरको सानो आवाजलाई दबाउँदै हामीलाई अघि बढ्न उक्साइरहेको थियो ।

झरनासम्म पुग्ने आतुरता जागिसकेको थियो हामीमा । मानव हृदय कति अस्थिर हुनसक्छ त्यसको उदाहरण बन्दै थियौं हामी ।

झरना पुग्नको लागि करिब १० मिटर जति अग्लो उचाइमा उक्लिनुपर्ने थियो । त्यो घरको पर्खाल झैं ठाडो थियो । हामी अब क्रिस फिल्मको हृतिक रोशन झैं आफूभित्र सुपरपावर जगाएर त्यो भित्ता उक्लिनु थियो । तर, मेरो लुगा अप्ठ्यारो भएकोले मलाई लामो फट्को लिएको उकालो चढ्न गाह्रो भयो । त्यसैले मैले छोरीलाई भनें, “नानी, म त पहिल्यै आइसकेकी हुँ यहाँ, तिमीहरू जानु, म यहीं पर्खन्छु ।” तर उसले मानिनँ । मलाई त्यहाँ एक्लो छाड्न ऊ तयार भइनँ । उसले मलाई देखाएको कन्सर्न र प्रेम देखेर मेरो हृदय पुलकित भयो । त्यो क्षणमा लाग्यो– संसारमा खुशी रहन एक जनाको शुद्ध प्रेम पर्याप्त हुन्छ ।

‘आजभोलिका बच्चाहरू स्वार्थी हुन्छन्’ भन्नेहरूका लागि उसको मप्रति देखिएको प्रेम र जिम्मेवारी एक स्पष्ट उत्तर थियो– जेनजी पुस्ता गैरजिम्मेवार पुस्ता हुँदै होइन । बरु हाम्रो तीप्रतिको विश्वासको खडेरीले तिनले जिम्मेवारी देखाउने मौका पाएका छैनन् । त्यो क्षण मेरो जीवनको सर्वाधिक सुन्दर क्षण थियो । म सुरक्षित ठाउँमा पुगुञ्जेल उसको अनुहारमा पोखिएको चिन्ताको बादल, मेरो हृदयमा सन्तोषको वर्षा गराइरहेको थियो । त्यो क्षणमा लाग्यो– ऊ वटवृक्ष हो, म त्यो वृक्षको हाँगामा फुलेको सुकोमल सुनाखरी ।

अब हामी झरनामा पुगिसकेका थियौं । त्यो अद्भुत शीतलता, त्यो मनोरम दृश्य, त्यो अनुपम सुन्दरता- यसलाई वर्णन गर्न मेरा शब्दहरूको क्षमता नै पुग्दैन ।

जब हामीले झरनाको चिसो पानीमा शरीर भिजायौं, लाग्यो— पानीको फोहोराले मात्र बगाउन सक्ने रहेछ, हृदयमा सिमेन्ट जस्तै जमेको थकान र पीडा । त्यो झरनाको पानीसँगै बगे— थकान, तनाव, बोझ अनि क्षणिक निराशाहरू । त्यसले दियो हामीलाई कम्तीमा एक हप्तासम्म पुग्ने ताजगी, एक महिनासम्म टिक्ने उत्साह र जीवनभरि मनभित्र अमिट रहने सुखानुभूतिको छाप ।

त्यसपछि हामी, शिव जटा— त्यो शान्तिको थलो, त्यो आत्मिक उचाइ — मन नलागी–नलागी बिदाइ माग्दै फर्कियौं ।

लेखक
अस्मिता विष्ट

दुई दशकदेखि महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी अस्मिता विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे ४ दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?