बत्तीबाट निस्कने प्रकाशलाई परब्रह्मको स्वरूप मान्दै प्रशंसा गरिन्छ ।
भो दीप त्वं परब्रह्म ह्यन्धकार विनाशनम्
अतस्त्वां पूजयिष्यामि प्रसन्नो भव सर्वदा ।।
हिन्दू धर्ममा कुनै पनि पूजाआजा गर्दा बत्ती नबालिकन हुँदैन । बत्ती नबालिकन गरिएको पूजा अधुरो मानिन्छ । वास्तु शास्त्रका अनुसार पनि बत्ती बाल्दा थुप्रै प्रकारका वास्तुदोष निवारण हुन्छन् । बत्तीको ज्वालाले नकारात्मक ऊर्जाको प्रभाव नाश गरी सकारात्मक ऊर्जालाई सक्रिय गराउँछ ।
बत्तीबाट निस्कने धुवाँले वातावरणमा रहेका मानव स्वास्थ्यका लागि हानिकारक थुप्रै प्रकारका कीटाणुहरूको नाश गर्छ । यद्यपि बत्ती बाल्ने पनि केही नियम छन् जसको पालन अपरिहार्य मानिन्छः
-बत्तीलाई भुइँमा बाल्नु हुँदैन । यसलाई अक्षता वा चामलमाथि राखेर बाल्नुपर्छ ।
-बत्तीलाई पूर्वपट्टी फर्काएर बालिन्छ । उत्तर वा पश्चिम पनि फर्काउन सकिन्छ तर शुभ कार्यमा दक्षिण फर्काएर बाल्नु हुँदैन । पूर्व फर्काएर बाल्दा आरोग्य तथा उत्तर फर्काएर बाल्दा धनलाभ हुन्छ ।
-श्राद्धादि कार्यमा भने बत्तीलाई दक्षिण फर्काएर बाल्नुपर्छ ।
-घरमा दिनहुँ घिउको बत्ती बाल्नाले सुख, सम्पत्ति तथा आरोग्य प्राप्त हुन्छ ।
-तेलमा भिजाएको बत्तीलाई घिउको वर्तनमा तथा घिउमा भिजाएको बत्तीलाई तेलको वर्तनमा कहिल्यै बाल्नु हुँदैन ।
-पानीको मुहानमा घिउको बत्ती बाल्नाले स्वास्थ्य समस्या हट्ने बताइएको छ ।
-बत्ती बालिसकेपछि यो मन्त्र पढेर बत्तीलाई नमस्कार गर्नुपर्छः
शुभं भवतु कल्याणं आरोग्यं सुख सम्पदा ।
सर्वशत्रु विनाशाय दीपज्योति नमोस्तुते ।।
-पूजा गर्ने बेलामा बत्तीलाई प्रतिमा वा मूर्तिको ठीक अगाडि राख्नुपर्छ । यसो गर्दा इच्छित फल प्राप्त हुने बताइएको छ ।
प्रतिक्रिया 4