Comments Add Comment

अस्पतालको स्तरोन्नति भए पनि गोरखाले पाएन विशेषज्ञ डाक्टर

'पटक पटक माग गरे पनि मन्त्रालयले पठाएन'

४ बैशाख, गोरखा । १५ शैय्याको गोरखा जिल्ला अस्पताल २०६९ सालमा ५० शैय्यामा स्तरोन्नति भयो । स्तरोन्नति भएसँगै अस्पतालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जना डाक्टरको दरबन्दी कायम भयो । तर स्तरोन्नति भएको ६ वर्षसम्म अस्पतालमा विशेषज्ञ डाक्टर आएका छैनन् ।

‘२०६९ सालमा अस्पताल १५ बाट ५० शैय्यामा स्तरोन्नति भएसँगै विशेषज्ञ चिकित्सकको दरवन्दी थपिएको थियो,’ अस्पताल प्रमुख डा. श्रीराम तिवारीले भने, ‘तर अहिलेसम्म दरवन्दीका बिशेषज्ञ कोही आउनुभएको छैन ।’

अस्पतालमा हाल ८ जना एमबीबीएस डाक्टरमात्र कार्यरत छन् । बालरोग, प्रसुति रोग, अर्थाेपेडिक, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, सर्जन र मानसिक रोग विशेषज्ञको दरबन्दी खाली रहेको तिवारीको भनाइ छ ।

विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले दिनुपर्ने सेवा दिन नसकेको उनले बताए । ‘दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक भए जटिल केसका बिरामीहरुलाइ भर्ना गरेर राख्न सक्थ्यांै, ठूलाठूला अपरेसन गर्न सक्थ्यौं तर जुनियर डाक्टरबाट मात्र त्यो सम्भव छैन,’ उनले भने ।

अहिले जटिल समस्या आएमा अस्पतालले जिल्लाबाहिरका ठूला अस्पतालमा रेफर गर्ने गरेको छ । बिशेषज्ञको दरवन्दी पूर्ति हुनसके सर्वसाधारणले जिल्लामै सुविधा पाउने तिवारीले बताए ।

दरवन्दी पदपूर्ति गर्न स्वास्थ्य मन्त्रालयसँग बारम्बार माग गरे पनि वेवास्ता गरेको उनको गुनासो छ । ‘अस्पताल विकास समिति र अस्पतालले धेरै पटक माग गरिसकेको छ, तर मन्त्रालयले अहिलेसम्म कोही पठाएको छैन,’ उनले भने ।

प्रत्येक महिना मन्त्रालयले दरबन्दीको अवस्थाबारे जानकारी लिए पनि रिक्त रहेको पदमा चिकित्सक पठाउन सकेको छैन । हाल जिल्ला अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर बाल रोग र प्रसूति रोगको बिशेषज्ञ सेवा भने दिदै आएको छ । ‘पाटनबाट एक जना बालरोग बिशेषज्ञ त हुनुहुन्छ तर अर्काे एक जना भएको भए जटिल केसको पनि उपचार गराउन सक्थ्यौ,’ तिवारीले भने ।

५० शैय्यामा अस्पताल स्तरोन्नति भए पनि सुविधा वृद्धि गर्न नसकेको अस्पतालले जनाएको छ । ‘स्तरोन्नति भएपछि त्यही अनुसारको सुविधा बढाउनुपर्ने, उपकरण थप्नुपर्ने, बिशेषज्ञ आउनुपर्ने तर छैन, अनि कसरी सेवा दिन सकिन्छ,’ अस्पताल प्रमुख तिवारीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment