+
+

कुकुरबाट यसरी सर्न सक्छ अनेक रोग

कुकुरको सम्पर्कमा रहने व्यक्तिमा रोगको संक्रमण हुने खतरा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १०:२२

हिजोआज धेरैले सोखका लागि घरपालुवा जनावर पाल्न थालेका छन् । जनावर पाल्नु राम्रो पनि हो तर कुनै पनि जनावरलाई घरमा ल्याउँदा हो वा पाल्दा होस्, आफूलाई सुरक्षित राख्न भने जरुरी छ । घरमा पालिने जनावरको कुरा गर्दा धेरैको रोजाइमा पर्ने गर्छ कुकुर ।

कुकुर हेर्दा जति राम्रो तथा आर्कषक देखिन्छ, उनीहरूबाट मानिसमा रोगको संक्रमण हुने खतरा पनि उति नै धेरै हुन्छ ।

यत्ति हो कि, कुकुरलाई छुँदैमा वा अंगालो मार्दैमा भने रोगको संक्रमण हुँदैन वा त्यसैका कारण मानिस बिरामी परिहाल्दैनन् ।

कुकुरको सम्पर्कमा बस्दा विभिन्न रोगको संक्रमण हुनसक्ने भएकोले त्यस्ता संक्रमणबाट बच्नका लागि प्रत्येक पटक कुकुरलाई छोएपछि बगेको पानीमा राम्ररी साबुन पानीले हात धुनुपर्छ ।

कसरी सर्छ रोग ?

सामान्यतया कुनै पनि रोगको संक्रमण कुकुरको र्‍याल, तथा दिसापिसाबबाट मानिसमा सर्छ । कुकुरहरूले विभिन्न रोगका कीटाणु बोकेका हुन्छ, जसले मानिसलाई तुरुन्तै विरामी पार्न सक्छ । कुनै कीटाणु सामान्य प्रकारका हुन्छन् भने कुनै जटिल ।

उदाहरणका लागि एउटा भर्खर जन्मेको कुकुरले दिसाबाट क्याम्पिलोक्याक्टर नामक व्याक्टेरिया मानिसमा सार्नसक्छ जसका कारण मानिसलाई झाडापखाला हुने डर रहन्छ । भुस्याहा कुकुरबाट मानिसमा लेप्टोस्पाइरु नामक व्याक्टेरिया सर्छ जसका कारण लेप्टोस्पिरोसिस नामक रोग निम्तनसक्छ ।
त्यसबाहेक कुकुरले रेबिज नामक गम्भीर रोग समेत सार्न सक्छ ।

त्यसो त कुकुरको सम्पर्कमा रहने केही व्यक्तिमा अन्य व्यक्तिको तुलनामा रोगको संक्रमण हुने खतरा समेत बढी हुन्छ । मानिसको उमेर तथा रोग प्रतिरोधात्मक क्षमताअनुसार पनि रोगको संक्रमण दर फरक पर्छ ।

कसलाई बढी जोखिम ?

नेशनल सेन्टर फर इन्फेक्सियस डिजिजेजका अनुसार नवजात शिशु, पाँच वर्षमुनिका बालबालिका, अंग प्रत्यारोपण गरेका व्यक्ति, एड्स रोगी तथा क्यान्सरपीडित व्यक्ति यस्ता संक्रमणको जोखिममा रहने गर्छन् । नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाहरूले कुकुरको मुख हात हाल्ने गर्छन् । त्यस्तै, कुकुरले फोहोर गरेको भुइँमै हात पुर्‍याउने गर्छन् । जसका कारण उनीहरू सदैव रोगको उच्च जोखिममा रहन्छन् ।

नवजात वा पाँच वर्षंमुनिका बालबालिकाको हकमा यी कुरामा ध्यान दिन जरुरी छ:

-बच्चाहरूले कुकुरसित खेल्दा वा कुकुरलाई चलाउँदा विशेष ध्यान दिने ।

-खेल्दा वा अंकमाल गर्दा बच्चाहरूलाई कुकुरको मुखमा हात छिराउन नदिने ।

-कुकुरको सम्पर्कमा आएपछि बगेको पानीमा बच्चालाई साबुन पानीले राम्ररी हात धुन लगाउने ।

यस्ता रोगका संक्रमणमा अंग प्रत्यारोपण गरेका विरामी मात्र नभएर क्यान्सर रोगी, गर्भवती महिला, एड्सबाट सक्रमित व्यक्तिहरू समेत रहने गरेका छन् । उनीहरूले पनि यी कुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक छ:

-वातावरण स्वच्छ राख्ने । प्रत्येक पटक जनावरलाई छोएपछि बगेको पानीमा साबुन पानीले राम्ररी हात धुने ।

-जनावर विरामी भएमा तुरुन्तै जाँच गराउने ।

-नयाँ कुकुर ल्याउँदा छ महिना नपुगेको सानो वा विरामी कुकुर नल्याउने । यिनीहरूबाट रोगको संक्रमण हुने खतरा बढी हुन्छ ।

-कुकुरलाई राम्ररी खाना ख्वाउने । जथाभावी खाना खाँदा घर पालुवा जनावर विरामी हुने खतरा बढी हुन्छ । जसका कारण रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?