+

वास्तवमै कुकुरले मानिसलाई डिप्रेसनबाट टाढा राख्छ ?

२०८० भदौ  १९ गते १३:५९ २०८० भदौ १९ गते १३:५९
वास्तवमै कुकुरले मानिसलाई डिप्रेसनबाट टाढा राख्छ ?

कोरोना महाव्याधिको कारण भएको लकडाउनका बेला कुलप्रसाद बरालले आफ्नो घरमा गोल्डेन रिट्रिभर जातको कुकुरको बच्चा किनेर ल्याए । उनी कुकुरको सौखिन थिएनन् र त्यसप्रति उनको लगाव पनि थिएन । तर, विद्यालय बन्द भएपछि कोठाभित्रै थुनिएकी नातिनीलाई ‘साथी हुन्छ’ भनेर कुकुरको बच्चा ल्याइदिएको उनी बताउँछन् ।

‘एक्लै भएपछि खेल्ने साथी भएन, चौबिसै घण्टा मोवाइलमा झुन्डिन थालिन्’ झापा स्थायी घर भएका बरालले भने, ‘त्यही भएर खेल्नका लागि कुकुरको बच्चा ल्याइदियौं ।’

त्यसो त लकडाउनका बेला कुकुरको बच्चाको बिक्री ह्वात्तै बढेको भक्तपुर, राधेराधेस्थित पेट हाउसका पशु प्राविधिक निरोज दंगाल बताउँछन् ।

विगतमा कतिले लहलहैमा वा देखासेखीमा कुकुर पाल्ने गरेका थिए । त्यसबेला मान्छेहरुले कुन जातको कुकुर छनौट गर्ने, कुन प्रयोजनका लागि पाल्ने, कसरी पाल्ने भन्ने थिएन । तर, अहिले कुकुरको आवश्यक्ता महसुष गरेरै पाल्ने जमात बढ्दो रहेको उनी बताउँछन् ।

‘अहिले धेरैले एक्लोपनबाट मुक्त हुनका लागि घरमा कुकुर लगेको देखिन्छ’ दंगाल भन्छन् ।

नेशनल अलायन्स अफ मेन्टल इलनेसको एक अध्ययनले भन्छ, ‘कुकुरको उपस्थितीले मान्छेलाई दिक्दारीबाट मुक्त राख्छ । कुकुरसँग खेल्दा एक्लोपन महसुष हुँदैन । यसले एन्जाइटी, तनाव, डिप्रेसनबाट टाढा राख्न सहयोग गर्छ । साथसाथै कुकुरलाई खेलाउन, डुलाउन पर्ने भएकाले शारीरिक रुपमा पनि सक्रिय बनाइराख्छ ।’

मनोविद् डा. बासुदेव कार्कीसँग हामीले यही प्रश्न सोध्यौं । के कुकुरले मान्छेलाई तनाावमुक्त राख्न सहयोग गर्छ ?

जवाफमा उनले भने, ‘डिप्रेसन वा चिन्ताग्रस्त हुनुको पछाडि मान्छेको एक्लोपन पनि एक प्रमूख हो । खाली दिमाग सैतानका घर भने झै एक्लै बस्दा मान्छेको मनमा अनेक कुरा खेल्छ । एक्लोपनले मान्छेलाई डिप्रेसनग्रस्त पनि बनाउन सक्छ । जब कुकुर वा घरपालुवा जनवार साथमा हुन्छ, मान्छेलाई एक्लो महसुष हुन पाउँदैन । यसले गर्दा डिप्रेसन, तनाव, चिन्ता आदिबाट मुक्त भइन्छ ।’

उनका अनुसार डिप्रेसनलाई समान्यतया ३ चरणमा विभाजन गरिएको छ, सामान्य, मध्यम र जटिल । सामान्य वा मध्यम डिप्रेसन छ भने कुकुर जस्ता घरपालुवा जनवारले थेरापीको रुपमा काम गर्न सक्छ । किनभने यी दुई चरणमा औषधि भन्दा पनि बिरामीलाई मनपर्ने कुरामा व्यस्त राख्ने गरिन्छ । यसलाई व्यवहारिक थेरापीमा भन्ने गरिएको छ । कुकुर पाल्नु पनि व्यवहारिक थेरापी अन्र्तगत पर्दछ । यो मानिसलाई खुसी र एक्लोपनबाट टाढा राख्न प्रयोग गरिन्छ ।

‘तर, कुकुरको कारण डिप्रेसनको जोखिम कम हुन्छ वा डिप्रेसन हुन दिदैन भनेर नेपालमा अहिलेसम्म कुनै अध्ययन भएको छैन’ मनोविद् डा. कार्की भन्छन्, ‘त्यसैले पनि ठोकुवा गरेर कुकुर र डिप्रेसनवीचको सम्बन्धबारे भन्न सकिदैन ।’

कुकुरले बुझ्न सक्छ मालिकको मनोदशा

पेशेन्ट इम्पावरमेन्ट नेटवकको एउटा रिपोर्ट अनुसार कुकुरले आफ्नो मालिकको मनोदशा बुझ्न सक्छन् । मालिकको अनुहार वा हाउभाउ हेरेर ऊ कति खुसी वा दुःखी छ भन्ने कुराको अनुमान गर्न सक्छ । त्यही अनुसार नै कुकुरले आफ्नो मालिकसँग व्यवहार गर्छन् ।

जस्तो, मालिक कतैबाट खुसीसाथ घर पुगेको छ भने कुकुर उफ्रिदै खेल्न आउँछ । यदि मालिक दुःखी वा चिन्तित देखियो भने कुकुर सुस्त रुपमा नजिक आएर मालिकसँगै बस्ने, सुमसुम्याउने गर्छ ।

केही अध्ययनको साझा निचोड छ, कुकुरहरूले डिप्रेसनदेखि लिएर चिन्ता र आक्रामकता र अन्य मानसिक स्वास्थ्य समस्याहरू सबैलाई कम गर्न मद्दत गर्न सक्छन् ।

कुकुरले डिप्रेसनबाट कसरी टाढा राख्छ ?

भेटेनरी डा. प्रणव जोशीका अनुसार कुकुर मान्छेसँग सजिलै घुलमिल गर्न रुचाउने र चाहने प्राणी हो । कुकुर सधैजसो मान्छेको नजिक बस्न चाहन्छ । मान्छेसँग खेल्न रुचाउँछ । यसरी प्रेमपूर्वक घुलमिल हुने प्राणी भएकाले कुकुरले मान्छेलाई एक्लोपन महसुष हुन दिदैन ।

साथै मान्छेलाई जाँगरिलो बनाउन, सक्रिय राख्न र मानसिक रुपमा व्यस्त राख्न पनि कुकुरले सहयोगी भूमिका खेल्छ । कुकुरले मान्छेलाई डिप्रेसनबाट टाढा राख्ने चार कारण रहेको डा. जोशी औल्याउँछन् ।

पहिलो : कुकुर पालेपछि त्यसलाई खुवाउन, स्यहारसुसार गर्न, घुमफिर गराउनुपर्ने हुन्छ । कुकुरकै कारण कतिपय मान्छे पार्कमा निस्कने, घरबाहिर डुल्न निस्कने गर्छन् । कुकुरलाई हिँडाउनु वा घरबाहिर खुला ठाउँमा खेलाउनुपर्ने भएकाले यसले मान्छेलाई सक्रिय राख्छ ।

दोस्रो : कुकुरले एक्लोपन महसुष हुन दिदैन । जब हामी घरमा एक्लै बस्छौं, तब कुकुरले हाम्रो कुनै न कुनै रुपमा ध्यान तानिरहन्छ । कहिले खेल्नका लागि बोलाउँछ, कहिले खानेकुरा खोज्न थाल्छ । कहिले भुक्ने, उफ्रिने गर्छ । यसरी कुकुरले मान्छेलाई व्यस्त राख्छ ।

तेस्रो : कुकुरले अन्य अपरिचित मान्छेसँग पनि घुलमिल हुन सहयोग गर्छ । कुकुर पाल्ने छिमेकी वा अरु कोही छ भने उनीहरुसँग भलाकुसारी, चिनजान गरिन्छ ।

चौथो : अक्सर कुकुर, बिरालो जस्ता घरपालुवा जनवारको औसत आयु १० देखि १५ बर्षको हुन्छ । आफुले माया गरेर पालेको कुकुरसँग एउटा चरणमा विछोड हुनैपर्छ । यसले मान्छेलाई विछोडको पीडा सहन र मृत्युलाई स्वीकार्न पनि सिकाउँछ ।

नेशनल अलायन्स अफ मेन्टल इलनेसको रिपोर्ट अनुसार कुकुरले कहिले पनि मालिकलाई दुःखी वा एक्लोपन महसुस गर्न दिँदैन । सँगै बस्ने, माया गर्ने खालका हुन्छन् जसले गर्दा दिमागमा तनाव वा चिन्ताको कुनै मौका नै हुँदैन । साथै कुकुरले ‘कोही नभए पनि तिम्रो साथमा म छु’ भन्ने सुरक्षा र सामिप्य अनुभूति गराउँछ ।

अमेरिकन हार्ट एसोशिएसनका अनुसार घरपालुवा जनावरले तनाव र मानसिक स्वास्थ्यमा मद्दत गर्ने ५ तरिका समवेश गरिएको छ, जसमा कामको तनाव कम गर्ने, सृजनात्मक काम गर्न उत्पेरित गर्ने, शारीरिक र मानसिक रुपमा तन्दुरुस्त, ताजा बनाउन र एक्लोपनबाट टाढा राख्न मद्दत गर्ने गर्छ ।

कुकुर
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय