Comments Add Comment

फास्टफुडरूपी प्रेम अवतारले गाँजेको सम्बन्ध

प्रेम, यौन तथा प्रतिबद्धता : समयसँगै परिवर्तित हुँदै सम्बन्ध


समाज जति द्रुत गतिमा परिवर्तित हुँदै छ, त्यही गतिमा प्रेम, यौन तथा प्रतिबद्धताको परिभाषा एवं महत्व पनि परिवर्तित हुँदै छ । नयाँ पुस्ताले सम्बन्धको अर्थलाई पनि पुनःपरिभाषित गर्दै छ । फेसबुक, ट्विटर, नेट च्याट, कफी कल्चर तथा फास्ट फुड आदिको लहर जसरी फैलँदो क्रममा छ त्यसैगरी प्रेम तथा यौनका साथै प्रतिबद्धताको अर्थ एवं धारणामा समेत ठूलो फरक देखा पर्न थालेको छ ।

यौनलाई प्रेम मान्न थालिएको छ भने प्रतिबद्धतालाई बन्धन ठान्न थालिएको छ । आजको पुस्तामा विपरीत लिंगीप्रतिको आकर्षणमा कुनै कमी आएको छैन तर हिजोआजका युगल जोडी प्रतिबद्धता व्यक्त गर्न भने हिच्किचाउँछन् । प्रेममा यौन मिसिएपछि र सम्बन्धलाई प्रेमले निर्देशित गर्न छोडेपछि प्रतिबद्धता धमिलो हुँदै जानु स्वाभाविक हो । वर्तमान प्रेम सर्ट एन्ड स्वीट एवं लिभ इन रिलेसनसिपको वरिपरि घुमिरहेको छ ।

हिजोआज सामाजिक सम्बन्धका साथै परिवारको आत्मीय सम्बन्धसँग गाँसिएका विषयहरूसमेत कमजोर हुँदै छन् । हरेक ठाउँमा स्वार्थको प्रभाव वृद्धि भइरहेको छ । परिवारको आत्मीय सम्बन्ध धूमिल तुल्याउने घटनाहरू यत्र तत्र सर्वत्र देखिन थालेका छन् ।

छोटो सम्बन्ध

 

प्रेम, सम्बन्ध, इष्टमित्र एवं आफन्तजस्ता भावनामा स्वार्थ तथा शारीरिक आकर्षण हावी हुन थालेको छ । प्रतिबद्धतालाई बन्धनका रूपमा ग्रहण गर्न सुरु गरेपछि जिम्मेवारी निर्वाह गर्नु पनि बोझ लाग्न थाल्छ । जो पनि आफ्नै तरिकाले बाँच्न पाउनुपर्छ भन्ने वकालत गरिरहेको भेटिन्छ । सम्बन्धमा पनि छोटो बाटो अपनाउन थालिएको छ ।

‘भेटघाट गर, केही बेर बस अनि दूरी तय गरिहाल’ भन्ने आदर्श आत्मसात् गर्न थालिएको छ । हरेक व्यीक्त आफूलाई समय दिने वहानामा आफन्तजनसँग टाढिन थालेका छन् । हिजोआज सम्बन्ध चिनियाँ सामानझैँ बन्दै छन्- जो सस्ता त छन् तर कत्तिको टिकाउ हुन्छ पत्तो हुँदैन ।
वर्तमान समयमा सम्बन्धको महत्व यतिसम्म परिवर्तन भएको छ कि कुनै पनि व्यक्ति चाहे व्यस्तताका कारण होस् चाहे स्वार्थवश, सम्बन्ध निर्वाह गर्नुको साटो त्यसको बोझ बोकिरहेको छ ।

वर्तमान प्रेमसम्बन्ध चुइङगम बन्दै छ । युवा हुन् वा युवती दुवैमा यो कुरा लागू हुन्छ । चुइङ्गमजस्तै मन लागुन्जेल चपाऊ, मन लाग्न छोडेपछि थुकिदेऊ । यसकारण वर्तमान समयमा प्रतिबद्धताको अर्थ नै सीमित भएको छ-पार्टीपब चहार, केही बेर सँगै नाच अनि आआफ्नो बाटो तताऊ । यस्तो बदलिँदो दृष्टिकोण वा व्यवहारको मुख्य कारण व्यक्तिगत स्वतन्त्रता हो किनभने कुनै पनि व्यक्ति आत्मस्वतन्त्रता गुमाउन चाहँदैन ।

प्रतिबद्धताबाट डर

सम्बन्ध बनाउन सजिलो छ तर त्यसलाई निर्वाह गर्न गार्‍हो छ किनभने सम्बन्ध निर्वाह गर्नका लागि प्रतिबद्धता आवश्यक पर्छ । तर हिजोआजका मानिसहरू सोसल मिडियाबाटै सम्बन्ध निर्वाह गरिरहेका छन् ।

विना कुनै जिम्मेवारीयुक्त सम्बन्ध सजिलो तथा आरामदायक हुँदै छ । दीर्घकालीन सम्बन्ध बोरलाग्दो हुन थालेको छ । हिजोआज केही परे म तेरो साथ छु भन्ने खालको आडभरोसाले युक्त सम्बन्ध विस्तारै पाखा लाग्दै छ अर्थात् सम्बन्धमा न कुनै आशा राखिन्छ न त कुनै जिम्मेवारी निर्वाह गरेर आश्वस्त पार्ने गरिन्छ ।

प्रतिबद्धता बदलिन्छ, मानिस बदलिन्छन् र यस विषयमा कसैलाई गुनासो पनि हुँदैन । दीर्घकालीन सम्बन्ध तीव्र गतिमा इतिहास बन्ने क्रममा छ । प्रतिबद्धतामा कमी आएसँगै गम्भीर प्रेमसम्बन्ध पनि समस्याको कारण बन्न थाल्छ । युवापुस्ताको विचारमा परम्परागत एवं पुरानो तरिकाको अफेयरको अर्थ हो- गुलामी तथा स्वतन्त्रता गुमाउनु ।

हुन त अझैसम्म पनि यस्तो वर्ग बाँकी छ, जो प्रेमसम्बन्धलाई महत्वपूर्ण मान्दछन्, यौनलाई मर्यादित रूपमा ग्रहण गर्छन् अनि प्रतिबद्धता पूरा गर्नसमेत पछि हट्दैनन् । सबै सम्बन्ध चुइङ्गमजस्तो पनि छैन । प्रेमलाई गम्भीरताका रूपमा ग्रहण गर्नेहरू उपयुक्त साथीको खोजीमा हुन्छन्, जब खोजी पूरा हुन्छ उनीहरू पछाडि फर्केर हेर्न आवश्यक ठान्दैनन् ।

बढ्दो निजी स्वार्थ

अहिलेको व्यस्ततम जीवनशैलीका कारण बहस चल्न थालेको पनि छ कि, के सामाजिक सम्बन्धमा अझै तिक्तता बढ्छ ? के भविष्यमा विवाह र परिवारको सामाजिक एवं वैधानिक ढाँचा जीवित रहन्छ ? के बालबच्चालाई परिवारको वात्सल्य, संवेदनाको अनुभव, मूल्य मान्यता एवं सस्कारको ज्ञान मिल्छ ? के हाम्रो समाजमा अब एकल परिवार एवं लिभ इन टुगेदरजस्ता कुरा नै जीवनको सत्यताका रूपमा उदय हुन्छन् ?

ससाना निजी स्वार्थका कारण सम्बन्धमा ठूल्ठूला परिवर्तन देखा पर्न थालेका छन् । वर्तमानमा प्रायः हरेक हरेक सम्बन्ध एक प्रकारको तनावबाट गुजि्ररहेका छन् । चाहे त्यो सम्बन्ध आमाबुबासँग होस्, श्रीमान्श्रीमतीको होस्, भाइबहिनी तथा साथीसँग होस् वा हाकिम तथा कर्मचारीसँग होस् । यी सबै सम्बन्धमा चिसोपन बढिरहेका छन् ।

संवादहीनता एवं व्यस्तताका कारण प्रेम सम्बन्धको बीचबाट सुल्किरहेको छ भने यौन केवल रुटीन बनेको छ । महलिा पुरुष दुवै आर्थिक रूपमा सक्षम भएका कारण व्यक्तिगत स्वतन्त्रताको कुरा गर्ने तथा प्रतिबद्धताबाट तर्कने प्रवृत्ति हुर्कदो छ । साथीभाइलाई भेेट्ने, फोनमा कुराकानी गर्ने चलन कम भएसँगै ह्वाट्सएप, फेसबुक कमेन्ट्स तथा च्याट आदिकै भर पर्नु परिरहेको छ । शारीरिक सामीप्य पातलिन थालेको छ ।

सम्बन्धमा पनि प्रेम कम वासना बढी हुन थालेको छ । जब सम्बन्ध प्रेमभन्दा बढी वासनाका कारण अघि बढ्न सुरु गर्छ त्यसको आयु लामो हुँदैन । यही कुरा हिजोआज सम्बन्धको आयु छोट्टनिुको कारणसमेत बन्दै छ । पक्कै पनि सम्बन्धमा शारीरिक सम्बन्धको महत्व छ तर यो भावनाको डोरीले बाँधिएको हुनुपर्छ ।

व्यावसायिक बन्दै सम्बन्ध

हिजोआज त्यस्ता सम्बन्धलाई बढी महत्व दिइन्छ जो व्यावसायिक हुन्छ किनभने यस्तो सम्बन्ध फाइदाजनक हुन्छ । अब सम्बन्धलाई नाफानोक्सानसँग गाँसेर हेर्न थालिएको छ । जो सफल छ, प्रभावशाली छ, पैसावाल छ त्यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नुमा फाइदा हेरिन्छ । यसका कारण धेरै सम्बन्ध तोडिएका छन् भने केही जोडिएका पनि छन् । अब प्रायः सबैले त्यस्ता सम्बन्धलाई महत्व प्रदान गर्न थालिएको छ जसबाट व्यापारव्यवसाय तथा जीवनमा बढीभन्दा बढी फाइदा मिलोस् । युवापुस्ता व्यावहारिक भएको छ, हिसाबकिताब हेरेर सम्बन्ध गाँस्न थालेको छ । यस्तो अवस्थामा सम्बन्धको महत्व घट्नु स्वाभाविक पनि हो ।

प्रतिबद्धता व्यक्त गर्नका लागि वा प्रेम सम्बन्ध टिकाइराख्नका लागि सच्चाइ एवं इमान्दारी आवश्यक पर्छ । आफ्नो साथीको भावना बुझेर सोहीअनुरूप व्यवहार गर्न सक्नुपर्छ । यौनलाई प्रेमसँग गाँस्दा तथा सम्बन्धलाई प्रतिबद्धतासँग जोड्दा सम्बन्ध दिगो हुन्छ । प्लास्टिकको फूलको बास्नासँग कृत्रिम जिन्दगी बाँच्नुभन्दा जीवनलाई प्रेम तथा विश्वासपूर्ण ताजा फूलरूपी सम्बन्धले सजाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment