Comments Add Comment

हिरासतमा खेल सम्झिरहेका एक फुटबलरको बयान

१८ वैशाख, काठमाडौं । दीपेश श्रेष्ठ माइभ्याली गोल्डकप खेल्न इलाम जाने तयारीमा थिए । तर, ६ वैशाखमा प्रहरी हिरासतमा पुगे, त्यो पनि चोरीको आरोपमा ।

कतिपयले उनी चोर भएको निश्कर्ष निकाले, कतिले फसाइएको हुनसक्ने अनुमान लगाए । कसैले नेपाली फुटबलका वेथितीसँग जोडेर बाध्यता पनि भन्न भ्याए ।

दिपेशको मनमा के खेलिरहेको होला ?

मजदुर दिवसको दिन महानगरीय प्रहरी परिसर टेकु पुग्दा बन्दी गणनाको तयारी भइरहेको थियो ।

त्यसअघि छोटो कुराकानी गर्न भ्याएका दिपेशले आफूलाई खाँदै नखाएको विष लागेको दाबी पेश गरे । उनले भने, ‘नगरेको गल्तीले पनि कहिले काहीँ पिरोल्ने रहेछ । मैले चोरी कहिल्यै सोचिन । बुझ्ने भएदेखि फुटबल मात्रै खेलेको छु ।’

को हुन् दिपेश ?

फुटबलमा भविष्य खोजिरहेका २५ वर्षे स्ट्राइकर दिपेश काठमाडौं बौद्धका रैनाथे हुन् । ‘सी’, ‘बी’ हुँदै उनले ‘ए’ डिभिजन लिगमा पनि राम्रो उपस्थिति जनाइसकेका थिए ।

चारुमति, टुसाल हुँदै उनी अहिले सरस्वती क्लबमा छन् । सरस्वतीबाटै तीन वर्ष उनले कप्तानी गरे । बीचमा उनले संकटा क्लबबाट पनि एक वर्ष व्यवसायिक फुटबल खेले भने केही समय नेपाल पुलिस क्लबमा रहेर अभ्यास पनि गरे ।

तर, ६ वैशाखमा दिपेश चोरीको आरोप पक्राउ परेको खबरले धेरैलाई आश्चर्यमा पार्‍यो ।

मोबाइल, ल्यापटप लगायतका सामान चोरी गरेको आरोपमा पक्राउ परेका उनी १३ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी अदालतमा पेश हुन १२ दिन बाँकी छ ।

‘मोबाइल र ल्यापटप चोरी भएको भन्दै हामी कहाँ जाहेरी परेपछि अनुसन्धान थालिएको थियो’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन्, ‘दिपेशको कोठाबाट चोरीको सामान बरामद भएपछि उनी पक्राउ परेका हुन् ।’

चोरी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक -डीएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

दिपेश संलग्न भनिएको चोरीको घटनाका मुख्य अभियुक्त हुन्, बाच्छो भनिने सुवास खड्का । सुवास पक्राउ परेपछि नै चोरीको सामान र उनीहरुको जालो खुलेको थियो भने चोरी भएका सामान बिक्री वितरणका लागि सामाजिक सञ्जालको प्रयोग हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेका तीन जना अझै फरार छन् । प्रहरीसमक्ष बयानमा सुवासले आफूहरु ५/७ वर्ष पहिलेदेखि चोरीमा संलग्न रहेको बताएका छन् ।

दिपेशले सुवास आˆनो घरमा भाडामा बस्दै आएको बयान दिएका छन् । सुवासको बयानमा पनि दिपेशको कोठामा सामान राख्न प्रयोग गरेको बताएका छन् । ‘लुकाएर राख्नुपर्ने सामान हो भनेर दिपेशलाई भनेको थिएँ । तर, चोरीको हो भनेर उसलाई जानकारी थिएन’ सुवासको बयान छ ।

फुटबलर दिपेश चोरी संलग्न छ वा छैन्, उनी दोषी हुन् वा होइनन् भोलि अदालतले फैसला गर्छ नै ।

तर, साघुरो चौघेराभित्र बन्द रहँदा दिपेशको मनमा भने अनेक कुरा खेल्ने गरेको छ । चोरको नाम बोकेर कसरी बाहिर अरु समक्ष जाने ? सफाइ पाएँ भने त राम्रो भयो । यदि दोषी भएँ भने ? यस्तै प्रश्नले उनलाई सताउन थालेको छ ।

उनलाई लाग्छ, नखाएको विष लाग्दैन, त्यसले जेलबाट छुटेपछि पत्रकार सम्मेलन गरेरै सबै बताउने योजनामा छन् उनी तर, चिन्ता छ, पक्राउ परेदेखि नै मान्छेले चोर भनिसके । अदालतले सफाइ दिए पनि ‘चोर’ को दाग कसरी मेटाउने ?

भएको के हो त ? दिपेशकै भनाइमा …

कटारी र सुनसरीमा फुटबल खेल्न गएको थिएँ । मेरो घरमा मेरै कोठाको छेउको कोठामा भाडामा बस्ने केटाको कारण म फसेको हो । मेरो कोठामा एक्वोरियम थियो । म नहुँदा माछालाई दाना दिनुपर्छ भनेर उसलाई मैले कोठाको चाबी छाडिदिएको थिएँ ।

उसले सामान चोरेर ल्याएर मेरो कोठामा राख्ने गरेको रहेछ । म बाहिर फुटबल खेल्न गएर आएपछि कोठामा टीभी देखें । कसको टीभी भनेर सोध्दा उसले साथीको टीभी ल्याएको र आफ्नो कोठामा राखेर केबल जोड्ने बताएको थियो । अरु सामान सोफा र फ्रिजमुनि लुकाएर राखेको रहेछ ।

त्यसको भोलिपल्ट ऊ पक्राउ परेपछि सामान मेरोमा राखेको बताएको रहेछ । सामान बरामद हुँदा मात्रै मैले चोरीको सामान भन्ने थाहा पाएँ । उनीहरु तीन जना मिलेर चोरी गर्ने गरेका रहेछन् । हाम्रो घरमा कोठा भाडा दिने बेला पनि उसलाई कोठा मैले नै दिएको हुँ । त्यस्तो थियो भन्ने थाहा थिएन, म फसेको हुँ । उसले सबै जिम्मेवारी पनि लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment