Comments Add Comment

प्रदेश ३ को पहिलो अधिवेशन : ११ दिनमा १९ बैठक, ६ विधेयक पारित

१९ वैशाख, हेटौंडा । प्रदेशसभा ३ ले आफ्नो पहिलो अधिवेशन मंगलबार अन्त्य गरेको छ ।

माघ १८ मा सुुरु भई वैशाख १४ गते सकिएको अधिवेशनले ६ वटा विधेयक पारित गरेको छ । यो अवधिमा प्रदेशसभा बैठक ११ दिनमा १९ पटक बसेको छ । प्रदेशसभा बैठक कुल ११ घण्टा ४३ मिनेट सञ्चालन भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

बुधबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी सभामुख श्रेष्ठले प्रथम अधिवेशनबाट केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४, प्रदेशसभा नियमावली २०७४, सरकारको अनुमानित आयव्यय विवरण, सरकारको विनियोजन विधेयक २०७५ पारित भएको जानकारी दिए ।

त्यस्तै गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको विधेयक प्रदेश सभाबाट सर्बसम्मतिले पारित गरेको उनले बताए ।

यस्तै प्रदेशसभाका सदस्य तथा पदाधिकारीको सुविधा सम्बन्धि बनेको विधेयक र मुख्यमन्त्री, मन्त्रीहरुको सुविधा सम्बन्धि विधेयक प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको सभामुख श्रेष्ठले जानकारी दिए ।

पहिलो अधिवेशनबाट सभामुख, उपसभामुखको निर्वाचन, प्रदेश सरकार गठन, लोगो र ड्रेस कोड निर्धारण, कार्यव्यवस्था समिति लगायत सार्वजनिक लेखा, प्रदेश मामिला, अर्थ, पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रका लागि बिषयगत संसदीय समिति गठन भएको छ ।

प्रदेशसभाको दोस्रो अधिवेशन जेठको पहिलो साता सुरु गर्ने तयारी संसद सचिवालयले गरेको छ । संघीय सरकारले बजेट प्रस्तुत गर्नुअगावै प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले सबै प्रदेश सांसद तथा मन्त्रीहरु अहिले जिल्लागत योजना तथा कार्यक्रम छनोट र बजेट निर्माणको तयारीमा जुटेको सभामुख श्रेष्ठको भनाइ छ ।

प्रदेश ३ ले जेठको चौथो साता आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment