Comments Add Comment

गर्मीका लागि उत्तम तरकारी, जसले लु लाग्नबाट बचाउँछ

गर्मी मौसममा पाचन प्रकिया कमजोर हुन्छ, रोगको संक्रमण हुने जोखिम बढ्छ । खानपानमा हुने थोरै मात्र असावधानीले पनि यो मौसममा रोगको संक्रमण हुने सम्भावना अत्यधिक हुने गर्दछ । त्यसैले यो मौसममा धेरै तारेको, भुटेको खानेकुरा नखानु नै उत्तम हुन्छ । तारेको तथा भुटेको खानेकुराका कारण फुड पोइजनिङ्ग हुने सम्भावना पनि धेरै हुन्छ ।

त्यसैले गर्मीमा सकेसम्म सजिलै पच्ने र हल्का खानेकुरा खानुपर्छ । पहाडी भूभागमा त लुको सम्भावना त्यति हुँदैन तर तराईमा भने गर्मीमा लू तथा हिट स्ट्रोकको डर हुन्छ । यस्ता समस्याबाट बच्न खानामा लौका, प्याज, करेला जस्ता तरकारी नियमित भोजनमा समावेश गर्नुपर्छ ।

लौका

लौकामा लगभग ९६ प्रतिशत पानी हुन्छ । त्यसैले लौका पकाउँदा त्यसबाट बेस्सरी पानी निस्कन्छ । लौकाले कलेजो स्वस्थ राख्न मद्दत गर्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ, जसले यर्दा यो सजिलै पच्छ । लौकामा फाइबर पनि हुने र सजिलै पच्ने हुँदा अल्सर, पाइल्स तथा ग्याष्टिकजस्ता समस्यामा निकै फाइदाजनक मानिन्छ ।

प्याज

प्याजमा प्रशस्त मात्रामा भिटामिन सी, बी ६ तथा म्याग्नेसियम पाइन्छ । त्यसबाहेक प्याजमा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फोस्फोरस तथा पोटासियम हुन्छ  । प्याजमा एन्टी अक्सिडेन्ट तत्व समेत पर्याप्त मात्रामा पाइन्छ । प्याज गर्मीको लागि निकै फाइदाजनक मानिन्छ । प्याजले गर्मीमा लू लाग्नबाट बचाउँछ । प्याजलाई सलादको रूपमा काँचै वा तरकारीको रूपमा पकाएर पनि खान सकिन्छ ।

करेला

खाँदा तीतो भए पनि करेलाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । करेला सजिलै पच्ने भएकाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । करेलामा पर्याप्त मात्रामा फस्फोरस हुन्छ, यसको सेवनले कफको समस्या कम हुन्छ । करेलामा प्रोटिन, क्याल्यिसम, कार्बोहाइड्रेट, फोस्फोरस तथा भिटामिन प्रशस्त पाइन्छ । यसको सेवनले शरीरको पाचन शक्ति बढछ, जसले गर्दा भोक लाग्ने गर्छ । करेला चिसो प्रकृतिको हुने भएकाले गर्मी मौसममा करेलाको सेवन राम्रो मानिन्छ ।

सिमी 

हरेक प्रकारका सिमीको सेवनले शरीरलाई जरुरी पोषण प्राप्त हुन्छ । सिमी लगायतका ग्रीन विन्समा भिटामिन ए, सी तथा भिटामिन बी ६ पर्याप्त मात्रामा पाइन्छ । ग्रीन विन्स फोलिक एसिडको राम्रो स्रोत हो । त्यसबाहेक यसमा क्याल्सियम, सिलिकन, आइरन, म्याग्नेसियम, प्रोटिन, पोटासियम तथा कपर पनि पाइन्छ । यसमा पाइने एन्टी अक्सिडेन्टले इम्युन सिस्टम बलियो बनाउन मद्दत गर्छ । यसले कोषिकाको क्षति कम गरी नयाँ कोषिका निर्माण गर्न मद्दत गर्छ ।

फर्सी

गर्मी मौसममा फर्सी खानुको फाइदा विशेष छ । खनिज पदार्थ प्रशस्त पाइने भएकाले फर्सी सेवन गर्दा शरीरमा भएका विषाक्त तत्व बाहिर निस्कन्छन् । यसको वियाँको सेवन प्रोस्टेट क्यान्सरका विरामीहरूको लागि लाभदायक मानिन्छ । यसमा प्रशस्त मात्रामा आइरन, म्याग्नेसियम, सेलेनियम तथा फोस्फोरस हुन्छ । जो व्यक्तिहरूको पेटमा गर्मी गढेको हुन्छ तथा मौसम अनुसार पेटमा गडबडी हुन्छ, त्यस्ता व्यक्तिहरूका लागि फर्सीको सेवन निकै फाइदाजनक मानिन्छ ।

गोलभेँडा

गर्मीमा दैनिक एउटा गोलभेँडाको सेवनले पनि थुपै्र रोगबाट बचाउँछ । गोलभेँडामा भिटामिन ए, सी, फोलेट, पोटासियम, फाइबर जस्ता एन्टी अक्सिडेन्ट तत्व पाइन्छन् । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन्छ भने रक्तचाप पनि नियन्त्रित हुन्छ । मुटुका रोगीहरूका लागि त यो निकै लाभदायक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment