Comments Add Comment

यातायात व्यवसायीलाई सरकारको सन्देशः सेवा रोक्नासाथ रुट परमिट खारेज


२० वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले भोलि सेवा बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले कडा सन्देश दिएको छ-जसले सेवा रोक्छ, उसको रुट परिमिट तत्काल खारेज हुन्छ ।

सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले भोलि यातायात सेवा नै बन्द गर्ने धम्की दिएका छन् ।

तर, सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । भोलि सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने यातायात व्यवस्था विभागले बताएको छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण गृह प्रशासनले संकलन गर्ने छ भने विभाग पनि टोली खटाउँदैछ । देशभर सेवा रोक्ने सवारीको विवरण लिएर खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उनले बताए । ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्, हामी पनि त्यसमा खटिन्छौं’ भट्टराईले भने ।

उनका अनुसार केही व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइनेछ । यसका लागि क्यू प|mी बनाइनेछ र यात्रुको चाप भएका सडकमा कम्पनीका बसहरु चल्नेछन् ।

आन्दोलनको नाममा सार्वजनिक सवारी रोक्नु अपराध भएको भन्दै गृह प्रशासनले पनि त्यही अनरुप कारवाही गर्ने बताएको छ । सरकारले हालै मात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना पनि निकालेको छ ।

अहिले नै ४२ भन्दा बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा दिने बताइसकेका छन् । उपत्याकाभित्र मयुर, साझा लगायत कम्पनीका सवारी चल्नेछन् ।

कतिपय व्यवसायीहरु समिति त्याग्दै स्वतन्त्र ढंगले सवारी चल्ने अपेक्षा छ । शुक्रबार पर्यटक बसहरुलाई पनि परिचालन गर्ने योजना छ ।

उपत्याकाभित्र विभिन्न कम्पनीका ठूला बसहरु चलिरहेकाले व्यवसायीले आन्दोलनमा आएर सवारी नचलाए पनि फरक नपर्ने विभागको आँकलन छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा सिण्डिकेटधारी यातायात संघ तथा समितिहरुहरुले समिति नवीकरण रोकेको र कम्पनीमा जान बाध्य पारिएको बिरोधमा भोलि देशभर सार्वजनिक यातायात ठप्प पार्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment