Comments Add Comment

मितव्ययी निर्देशक दिपेन्द्र, जो सेड्यूलभन्दा अगावै सक्छन् सुटिङ


चलचित्रको बजेट सबैभन्दा बढी केमा सकिन्छ ? झट्टै भन्न सकिन्छ, छायांकनमा । तोकिएको समयसिमा र बजेटमा छायांकन नसक्दा धेरै निर्माता पोष्ट प्रोडक्शनमा नजादै हैरान भैसकेका हुन्छन् । रिलिजको समयमा त चलचित्र आएको र गएको पनि थाहा हुँदैन ।

धेरै निर्देशक छायांकनमा चाहिने भन्दा अनावश्यक दृश्य बढी खिच्छन् । निर्धारित भन्दा बढि समय लगाउँछन् । पछि के-के चाहिन्छ भन्ने नसोची मनलाग्दी चलचित्र खिच्दा लगानी बढ्न जान्छ ।

निर्देशक दीपेन्द्र के खनालको हकमा भने यो उल्टो छ । उनी सामान्यतया आफैंले निर्धारण गरेको चलचित्रको छायांकन अवधिभन्दा धेरै पहिले नै काम सक्छन् । उनले, निर्देशन गरेको पछिल्लो चलचित्र ‘चंगाचेट’को छायांकन ३६ दिनमा सकियो । जबकी, उनले यो चलचित्रका लागि करिब २ महिनाको सेड्यूल बनाएका थिए ।

यसअघि, उनले चलचित्र ‘पशुपति प्रसाद’को छायांकन १३ दिनमा नै भ्याएका थिए । के दीपेन्द्र ओभर नाइट काम गर्छन् ? उनले भने-‘म त्यसरी कहिल्यै पनि काम गर्दिन । राती पनि ११ बजेपछि छायांकन गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । किनकी, जति राती हुँदै गयो, कलाकारको अभिनय फितलो हुँदै जान्छ ।’

उसो भए, कसरी छायांकन चाडै सक्न सम्भव छ त ? दीपेन्द्रले भने-‘म छायांकनमा जानु अगाडि नै पुरा तयारी गर्छु । चलचित्रको छायांकनको समयमा नै म आफूलाई चाहिने सट र दृश्य पक्का गर्छु । मलाई सम्पादनको समयमा यो यो दृश्य चाहिन्छ भन्ने फाइनल गरेपछि मात्र म छायांकन सुरु गर्छु । अनावश्यक दृश्य म खिच्दै खिच्दिन ।’

उनले, कलाकार, प्राविधिक र टिमको मिहिनेतले पनि यो सम्भव हुने बताए । दीपेन्द्रले अहिलेसम्म २१ दिनभन्दा बढी समय लगाएर चलचित्रको छायांकन गरेका थिएनन् । यसपटक, चलचित्र ‘चंगाचेट’मा ४ वटा गीत, कलाकार धेरै भएकाले पनि ३६ दिन लागेको उनले बताए ।

यो चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आर एल राणा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment