Comments Add Comment

दीर्घकालीन कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सको माग

२४ बैशाख, काठमाडौ । लामो समयसम्मका लागि प्रदान गरिने कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सहरुले राष्ट्र बैंक समक्ष आग्रह गरेका छन् ।

यसरी राष्ट्र बैंकले ब्याजको करमा छुट दिएसँगै बैंकहरुले लामो समयसम्म ऋण लिने जलविद्युत आयोजना तथा उद्योगलाई अहिलेकोभन्दा कम ब्याजदरमा ऋण प्रदान गर्न सक्ने बताएका छन् ।

राष्ट्रबैंकले सोमबार राजधानीमा आयोजना गरेको पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अहिले तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको ब्याज बढेको बताएका छन् ।

अहिले बैक तथा वित्तीय संस्थाका निक्षेप तथा कर्जा दुबै क्षेत्रमा ब्याज बढेको छ । तरलता अभाव भएका कारण बैंक तथा वित्तीय सस्थाले आफ्नो कर्जा बिस्तार गर्न सकेका छैनन् । जसका कारण केही बैंक तथा वित्तीय सस्थाहरुको मुनाफामा समेत गिरावट आएको छ ।

जलविद्युत तथा उद्योग क्षेत्र निर्माणका लागि लामो समय लाग्ने र तत्कालै ऋण फिर्ता नगर्ने भएका कारण बैंक तथा वित्तीय संस्थाले यस्तो क्षेत्रमा उच्च ब्याजदर कायम गरेका छन् ।

साथै यो क्षेत्रमा सहज तरिकाले ऋण समेत प्रवाह हुन सकेको देखिँदैन । राष्ट्र बैंकले यस्तो कर्जाको ब्याजमा कर छुट दिएमा बैंकहरुले सहज रुपमा कर्जा प्रदान गर्न सक्ने ढुंगाना बताउँछन् ।

साथै ढुंगानाले सरकारको विकास खर्च समयमै हुने वातावरण बनाउन समेत आग्रह गरेका छन् । साथै उनले त्यस्त्ाो विकास खर्च समयमै हुन नसके कुनै उपाय प्रयोग गरेर भए पनि बैंक तथा वित्तीय क्षेत्रमा ल्याउनुपर्ने बताए । यसो गर्दा बजारमा तरलता अभाव हुने उनको भनाइ छ ।

साथै उत्पादनमुलक क्षेत्रमा हुँदै आएको पुनर्कर्जा पनि बढाउन पर्ने उनको सुझाव छ । यसो गर्दा बजारमा रहेको तरलता अभाव हट्ने उनको भनाइ छ । साथै धरौटीको रुपमा रहेको १ खर्ब बराबरको रकम पनि बैंक तथा वित्तीय सस्थामा ल्याउन उनले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment