२५ वैशाख, काठमाडौं । चावहिल जोरपाटी सडकमा यात्रा गर्नेहरुले दुःख पाएको महिनौं भइसक्यो । पानी पर्यो भने हिलाम्ये हुन्छ, घाम लाग्यो भने बाङबुङ्ती धुलो उड्छ । सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि स्कुटरमा यात्रा गर्न महाभारत पर्छ ।
स्थानीयबासीले सडक तत्काल मर्मतसम्भर गर्न नारा लगाएनन् कि सडकमा धान रोपेनन् ? तर, कसैले सुनेनन् । चुनावको बेला ठूलठूला गफ दिने जनप्रतिनिधि पनि दुला पसे ।
तर, सोमबार एकाएक सडक पिच हुन थालेकाे देखेर स्थानीय तथा यात्रुहरु छक्क परे ।
चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको थियो । कतिपयलाई लाग्यो, अब यो बर्षामा दुःख नपाइने भयो । तर, केही अगाडि बढेपछि त्यो भ्रम टुट्यो ।
सडकमा हायात होटलको केही अगाडिबाट पिच भएको छैन । काम गर्ने कुनै सुरसार पनि छैन । त्यसपछि उनीहरुले अनुमान लगाए, कोही भीआईपी पो आउँदैछन् कि ?
हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन् । उनी चुच्चेपाटीस्थित हायात होटलमा बस्ने कार्यक्रम छ । त्यसैले सडक विभागले हतार हतार होटलसम्म सडक पिच गरेको हो ।
सडकको दुबै तर्फ ढल समेत के कस्तो छ, नहेरी कालोपत्रे हालिएको छ । यो कति दिन टिक्छ भन्न सकिन्न ।
हायात कटेर केही मिटर अगाडि बढेपछि सडकको दुरावस्ता उस्तै छ । मंगलबार एक स्थानीय भन्दै थिए, ‘मोदीलाई नारायणटार जोरपाटीसम्म लैजान मिल्दैन ? ‘कम्तिमा यो सडक कालोपत्र हुन्थ्यो कि ?’
प्रतिक्रिया 4