Comments Add Comment

काँक्रो र कुखुराबाटै मासिक ३ लाख कमाइ, किन जानुपर्‍यो विदेश ?


३० वैशाख, हेटौंडा । मकवानपुरको गढी गाउँपालिकाका ज्ञानेन्द्र रिमाल स्वदेशमा कमाइ छैन भन्ने युवाहरुका लागि एक गतिलो जवाफ बनेका छन् । गढीको आमभञ्याङबाट केहिभित्र आफ्नै जग्गामा गरेको कृषि कर्मबाटै उनले मासिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

गढी गाउँपालिका–३ का ३२ वर्षीय रिमालले कुखुराको अन्डा र काँक्रो बिक्री गर्दै आएका छन् । १२ कठ्ठा जमिनमा लगाएको ५ हजार बोटबाट दैनिक ३० टन काँक्रो उत्पादन हुने र सबै हेटौंडा बजारमै खपत हुने उनले बताए । अहिलेसम्म साढे ४ सय क्वीन्टल काँक्रो बिक्री गरिसकेको उनले बताए ।

कृषि विकास कार्यालयको सहयोगमा मल्चिङ विधिबाट पहिलो पटक उनले काँक्रो खेती गरेका हुन् । उत्पादन भएको काँक्रो हेटौंडा बजार क्षेत्रमै प्रतिकेजी १० रुपैयाँदेखि १२ रुपैयाँसम्म बिक्री भैरहेको रिमालले बताए ।

रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन गरेकाले सबैले मन पराउने र हेटौंडा बजारमै खपत हुने उनी बताउँछन् । ‘केहि समय काठमाडौं पठाए पनि खर्चको हिसाबले घाटा लाग्ने भएपछि हेटौंडामै बेच्न थालें,’ पुरानो बोट ओखेलेर नयाँ बेर्ना हुर्काउने तयारीमा रहेका रिमालले भने, ‘बाङ्गो र डल्लो खालका काँक्रो चौपायालाई खुवाउँछु, राम्रा–राम्रा छानेर बजारमा लैजान्छु ।’

आफ्नै जमिनमा काँक्रो खेती गरेका रिमालले लेयर्स जातका ३ हजार कुखुरा पनि पालेका छन् । विगत १० महिनादेखि कुखुराले अन्डा दिइरहेका छन् ।

सुरुमा बोइलर कुखुरा पालेका रिमालले विगत २ वर्षदेखि लेयर्स जातका अन्डा पार्ने कुखुरा पाल्दै आएका छन् । दैनिक ८५ क्यारेट अन्डा बिक्री गर्दै आएको उनले बताए । व्यापारीहरुले खोरबाटै प्रतिअन्डा ११ रुपैयाँमा खरिद गरेर लैजाने गरेको रिमालले बताए ।

थप दुई हजार कुखुरा पाल्नका लागि खोर बनाएका रिमालले अन्डाको मूल्य राम्रो भएकाले आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘कुखुरा र काँक्रोबाट हुने आम्दानी सरकारी जागिर, विदेशी कमाइभन्दा कम छैन । अनि किन जानुपर्‍यो विदेश ?’

कृषि आम्दानीबाटै हेटौंडामा तीन वटा घडेरी किनेको उनले सुनाए ।

एमएडसम्म औपचारिक शिक्षा लिएका रिमालले गाउँमै बोर्डिङ स्कुल पनि सन्चालन गरेका थिए । चार वर्षअघि बोर्डिङ स्कुल बन्द गरेर कुखुरा पालन र काँक्रो खेतीमा लागे । परिवारका पाँचै जना सदस्य कुखुरापालन र काँक्रो खेतीमा व्यस्त हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment