Comments Add Comment

बालुवाटरमा ओली र प्रचण्ड भेटवार्ता, दुवैको आ-आफ्नै गुनासा

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल भएपछि बुधबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

ओली र प्रचण्डको वार्तापछि एमालेको स्थायी कमिटी बैठक बस्दै छ । अपरान्ह बस्ने बैठकमा पार्टी एकतामा भइरहेको प्रगतिबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनेछन् ।

पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक प्रचारबाजी भइरहे पनि बाहिर आएजस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताए । उनले शीर्ष नेताहरुको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले गृहकार्य हुन बाँकी रहेको बताए ।

ओली र प्रचण्डका आ–आफ्नै गुनासा

एमाले नेताहरुले पार्टी एकीकरण सही दिशामै गइरहेको भन्दै पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डको सचिवालय निकटवर्तीहरुले नकारात्मक हल्ला फैलाइएको आरोप लगाएका छन् ।

विशेषतः एमाले अध्यक्ष ओलीविरुद्ध प्रचण्ड निकटस्थहरुले नियोजित प्रचारबाजी गरेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

ओलीले प्रचण्डसँग सम्भवतः आजै हुने छलफलमा यो विषय उठाउन लागेको स्रोतले जनाएको छ । ‘प्रचण्डको सचिवालयमै रहेका व्यक्तिहरुले एकता भाँड्ने खालका उक्साहटपूर्ण सामाग्री नियोजित रुपमा प्रवाह भइरहेका छन्, एमालेका एक पदाधिकारीले भने, ‘केही नेताका सार्वजनिक अभिव्यक्ति र सामाजिक सन्जालमा उनीहरुका टिप्पणी पनि हामीले हेरिरहेका छौं ।’

यता प्रचण्डको गुनासो पनि ओलीसँगै छ । पार्टी एकताका लागि ओली गम्भिर नबनेको र घण्टौंसम्म कुरा हुँदा पनि ओलीले पार्टी एकीकरण भन्दा विषयान्तर गरेर अन्य असान्दर्भिक विषयमा कुरा गर्ने गरेको प्रचण्डले सुनाउने गरेका छन् । ‘तीन घण्टासम्म एक्ला एक्लै कुरा गर्दा पार्टी एकताबारे मुस्किलले आधा घण्टापनि कुरा हुन्न’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

एक्लाएक्लै वार्ता गरेर टुंगो लगाउन पार्टी एकता संयोजन समितिले जिम्मा दिएपनि ओलीले घण्टौंसम्म आफूलाई कुराउने गरेको गुनासो पनि प्रचण्डको छ । प्रचण्डले पार्टी एकीकरणअघि आफ्ना केही सरोकारको सम्बोधन ओलीबाट होस भन्ने चाहन्छन् । तर, ओलीले हल्काफुल्का रुपमा लिने गरेको आरोप प्रचण्डको छ ।

दुई नेताको एक्ला एक्लै वार्ता फलदायी नहुने गरेपछि माधव नेपालले पार्टी एकता संयोजन समिति बैठकमै सबै कुरा राख्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड वार्ताः पार्टी एकता संयोजन समिति बैठक बोलाइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment