३ जेठ, बुटवल । रुपन्देहीको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको छ ।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको संलग्नता रहेको देखाएको छ ।
पारिवारिक विवादका कारण छोराले नै गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । छोरा सन्दिप अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी बताउँछ ।
यसैबीच, मृतकका दाजुले घटनामा मृतकका छोरा सन्दिपको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा किटानी जाहेरी दिएका छन् ।
‘परिवारबाटै किटानी जाहेरी परेपछि हाम्रो आशंका थप बलियो भएको छ’, रुपन्देही प्रहरीका एक अधिकारीले भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं । छिट्टै सार्वजनिक गर्छाैं ।’
घटनामा प्रयोग भएको मोटरसाइकल विमानस्थलमा भेटियो
प्रहरीले घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोरसाइकल भैरहवा विमानस्थल नजिक फेला परेको छ ।
गोली हान्ने व्यक्तिको खोजीका क्रममा यूपी ५६एक्स ७४९० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल भेटिएको हो ।
मोटरसाइकलसँगै भेटिएको झोलामा गोली हान्ने व्यक्तिले लगाएको सेतो सर्ट र नीलो पाइन्ट पनि फेला परेको रुपन्देही प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले अनलाइनखबरलाई बताए ।
गोली हानेर कपडा फेरेर अभियुक्त भागेको हुन सक्ने प्रहरीको आशंका गरेको छ । गोली हान्ने व्यक्ति भारततिर भागेको आशंका गरिएको छ ।
यसअघि बुधबार साँझ तिलोत्तमा नगरपालिका–५ राममणि क्याम्पस नजिकै निर्माणाधीन घरको बाहिर खाना पकाउँदै गर्दा २ वटा मोटरसाइकलमा आएका तीन जना व्यक्तिको समूहले धवलमाथि गोली प्रहार गरेका थिए ।
उनको ढाडमा एक राउन्ड गोली लागेको थियो ।
प्रतिक्रिया 4