Comments Add Comment

ढुङ्गाखानी कि पानी ? काभ्रेमा क्रसर उद्योगका कारण खानेपानीका स्रोत मासिदै

६ जेठ, काभ्रे । काभ्रेको बनेपा, पनौती र धुलिखेलमा कुशादेवी र भूमिडाँडाका ५ वटा स्रोतबाट खानेपानी ल्याउन धमाधम काम भइरहेको छ ।

१ अर्ब १२ करोड रुपैयाँ लागतको उक्त परियोजनाबाट आगामी दशैंसम्म खानेपानी ल्याइसक्ने योजना छ ।

तर यस क्षेत्रमा एक दशकदेखि सञ्चालित ढुङ्गा खानी र क्रसर उद्योगहरुका कारण खानेपानीको काममा अवरोध भएको छ । खानेपानीको पाइप विस्तार लगायतका काम गर्दा ढुङ्गा खानीका कारण अवरोध भएको आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले बताए ।

पानी कि खानी ?

२०६३ सालबाट एडीबीको सहयोगमा काभ्रे उपत्यका खानेपानी परियोजनाका नाममा काम सुरु भएको थियो ।

खानेपानीको मुख्य स्रोत रहेको जिल्लाको साविक कुशादेवी र भूमिडाँडा गाविसमा हाल दुई दर्जन ढुङ्गा खानी सञ्चालानमा छन् । जिल्लाको मुख्य खानेपानी स्रोतका रुपमा रहेको रोशी खोलाको मुहान नजिकै सञ्चालन भएका दर्जन बढी क्रसर तथा ढुङ्गा खानीले मनोमानी रुपमा ढुंगा बालुवाजस्ता प्राकृतिक स्रोतको दोहन गरिरहेका छन् ।

महाभारत जंगलको मूलडोल, सीसाखानी, बहिरामहादेव, गुडगुडेलगायतका पानीका मुलबाट प्रतिसेकेन्ड १ सय ४६ लिटर पानी बगेर कोशीमा मिसिन्छ । हाल यीनै मुहानहरुबाट ७७.७३ लिटर प्रतिसेकेन्ड पानी बनेपा, पनौती र धुलिखेलमा लैजान काभ्रे उपत्यका एकीकृत खानेपानीको परियोजनाको नाममा काम भइरहेको छ ।

यो पानीबाट हाल १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् । मुहानबाट आउने पानीको जम्मा ४० प्रतिशत मात्रै यस आयोजनामा उपयोग हुन्छ, बाँकी पानी रोशी खोलामा नै मिसिन्त । चर रोशी खोलाको पानी संरक्षणका लागि कुनै पहल भएको छैन ।

राज्यमन्त्री बास्कोटाले जनाए प्रतिवद्धता

प्रतिनिधिसभा निर्वाचन लगत्तै पनौती २ कुशादेवी नयाँगाउँ पुगेका वर्तमान सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटासँग स्थानीयले क्रसर उद्योग र ढुङ्गा खानी हटाउन पहल गर्न आग्रह गरेका थिए । बास्कोटाले जिल्लामा खानेपानीको स्रोत अन्य स्थानमा नरहेकाले अब रोशी खोलामा खानी होइन पानीको संरक्षण गर्नुपर्ने बताएपछिस्थानीयबासी खुशी भएका छन् ।

मन्त्री बास्कोटाले विशेष जलाधार क्षेत्र लगायतको अध्ययन सुरु गरी यस क्षेत्रको संरक्षण गर्न सकिने प्रस्ताव अगाडि बढाएका छन् । ‘वैकल्पिक सहरमा पानीको स्रोत अब रोशी खोला नै हो, अरु विकल्प छैन’ मन्त्री बास्कोटाले भने, ‘यस क्षेत्रलाई विशेष जलाधार क्षेत्रका रुपमा विकास गरी बढ्दो जनसंख्याको चाप र थपिने पानीको आवश्यकता पूरा गर्न उपयुक्त हुनेछ ।’

विस्तापित हुदै स्थानीय बासी

क्रसर उद्योगहरु मनोमानी रुपमा सञ्चालन हुँदा स्थानीय बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् । स्थानीय साधुराम आचार्यले भने, हामीले सधै कोलाहालमा बस्नुपर्ने कस्तो बाध्यता आइलाग्यो । यही कारणले १० भन्दा धेेरै परिवार विस्थापित नै भइसके ।’

अरु १० भन्दा बढी परिवार गाउँ छाड्ने तरखरमा रहेका स्थानीय राकमृष्ण हुमागाइले बताए । खोलाको बहाव नै परिर्वतन हुने गरी उद्योगीहरुले उत्पादन भएका फोहोर खोलामै मिसाउने गरेका छन् । बस्ती तलबाट ढुङ्गा उत्खनन गर्दा, कुनबेला के विध्वंश हुन्छ भन्नेसमेत चिन्ताको विषय बनिरहेको उनी बताउँछन् । स्थानीय अर्जुन बजगाइले गुनासो गरे, ‘कुनबेला डांडो खस्छ थाहा छैन, हामी मन बाधेर बसेका छौं ।’

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले खानेपानीको स्रोतको संरक्षणका लागि काम सुरु गरेको बताए । ‘हामी अब राज्य स्तरबाट नै यस क्षेत्रको छुट्टै संरक्षणका लागि लगानी गर्न आग्रह गर्छाैं’ उनले भने, ‘पानीको संरक्षण गर्नुपर्छ, सुख्खा डाडा त अन्त पनि छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment