६ जेठ, काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगीविरुद्ध श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट पनि ‘एक्सन’मा उत्रिएका छन् । मन्त्रीको निर्देशनमा आइतबार मलेसिया जाने कामदारमाथि थप आर्थिक भार थोपरेर ठगी गर्ने व्यवसायी तथा उनीहरुका सहयोगी गरी ४८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने अधिकांश वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षण गर्ने मेडिकलका सञ्चालक र व्यवस्थापकहरु छन् ।
स्वास्थ्य परीक्षणमा सिण्डिकेट छ । निश्चित मेडिकल सेन्टरमा मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ र उनीहरुले महंगो शुल्क असुल्छन् । मन्त्री विष्टले त्यही सिन्डिकेटविरुद्ध धावा बोलेका हुन् ।
मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् । त्यसैगरी बायोमेटि्रकका नाममा मेडिकल धन्दा चलाइरहेका ३ दर्जनभन्दा बढी व्यवसायी र उनीहरुका सहयोगी पनि पक्राउ परेका छन् ।
सरकारबाट अनुमति नलिई मलेसियाका सरकारका अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ असुल्ने गरिएको छ । भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थियो । ७ सय रुपैयाँमा हुने कामका लागि भीएलएनले ३२ सय असुलिरहेको थियो ।
वान स्टोप सेन्टरका नाममा महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्याउँदा २८ सय रुपैयाँ लिने अर्को धन्दा पनि चलिरहेको छ । भीएलएनले अहिलेसम्म करिब एक अर्ब ९३ करोड रुपैयाँ अवैध असुली गरेको छ । वान स्टप सेन्टरका नामा झण्डै ५७ करोड रुपैयाँ ठगिएको छ ।
माइग्राम नामको संस्थाले पनि दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ उठाउँदै आएको छ । वायोमेटि्रकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।
दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ लिने गरिएको छ ।
कामदारले मलेसिया जान झण्डै १७ हजार रुपैयाँ विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनुपर्छ ।
त्यसविरुद्ध श्रम बिष्टले एक्सन लिएका हुन् । उनले मलेसियामा नयाँ सरकार बनेलगत्तै कूटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गरेका सुरु थिए । त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् ।
लगतै श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गरेको छ ।
त्यसका आधारमा वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ४८ व्यवसायी पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई जानकारी दए । उनका अनुसार विभिन्न मेडिकल सेन्टरहरुमा छापा मारेर पक्राउ गरिएको हो भने केही फरार भएका छन् ।
पक्राउ पर्नेमा मोनिका श्रेष्ठ, गणेश तिमल्सिना, देबेन्द्र आचार्य, केदार थापा, रामप्रसाद श्रेष्ठ, सरिता गिरी बमबहादुर खड्का, मुकुन्द भट्टराई, निमीकुमारी तिवारी, रेजिना शाक्य, मुना शाक्य, रेशम खत्री, सुम सत्याल, ईश्वर भण्डारी, विदुर थापा चन्द्रमा राई लगायत रहेका छन् ।
पक्राउ परेका मध्ये चार जना ललितपुरबाट हुन् ।
प्रतिक्रिया 4