Comments Add Comment

आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति पुन संसदमा अनुपस्थित !

राष्ट्रपति बसेकै छेउमा कुर्सी व्यवस्था नभएपछि 'अस्वस्थ'

७ जेठ,काठमाडौं । आसनमा असन्तुष्टि जनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अनुपस्थित भएका छन् । यद्यपी पुनको सचिवालयले भने अस्वस्थताका कारण संसदको संयुक्त बैठकमा उपस्थित हुन नसकेको जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने समारोहमा उपराष्ट्रपति पनि सहभागी हुने प्रचलन थियो । राष्ट्रपतिले सभामुख आसनसँगै बसेर सम्बोधन गर्दा उपराष्ट्रपतिलाई बाल्कोनीमा राखिने गरेको थियो ।

यसपटक भने उपराष्ट्रपतिले राष्ट्रपतिसँगै आफूलाई कुर्सी राखिनुपर्ने अडान राखे । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनसँगै पहिलो संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई पनि राष्ट्रपतिसँगै कुर्सी व्यवस्था गरिएको थियो ।

त्यसबेला राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि संघीय संसद सचिवालयले क्रमशः चारवटा कुर्सी राखेको थियो । यसपटक पनि उनले सोही स्थानमा आफूलाई राखिनुपर्ने सन्देश पठाए पनि अभ्यास विपरीत हुने भन्दै उनको माग सम्बोधन भएन ।

नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त संसदको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने समारोहमा उपराष्ट्रपतिलाई पनि सचिवालयले निम्ता पठाएको थियो । उनले आफ्नो बस्ने स्थानबारे सचिवालयसँग चासो राखेका थिए ।

यसपटक सभामुख कृष्णबहादुर महरालेनै संसदीय अभ्यास र परम्परा विपरित कुर्सी व्यवस्थापन गर्न नसकिने जवाफ पठाएपछि पुन अनुपस्थित भएको स्रोतले जनाएको छ ।

यसअघिका प्रथम उपराष्ट्रपति परमानन्द झाले पनि यस्तै माग गरेपछि सचिवलायले महासचिव मनोहर भट्टराईको नेतृत्वमा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्न भ्रमण दलनै पठाएको थियो । सो समितिले उपराष्ट्रपतिको हैसियत यस्ता समारोहमा अरु संवैधानिक अंगका प्रमुखहरुको जस्तै हुने ठहर गर्दै दर्शकदिर्घाको बाल्कोनीमा विशेष व्यवस्था गरेको थियो ।

त्यतिबेला सांसदको संख्या ६०१ भएकाले बैठक हलमा ठाउँ नपुग्दा संवैधानिक अंगका प्रमुखहरुलाई पनि दर्शकदिर्घाको अघिल्तिर बस्ने व्यवस्था गरिन्थ्यो । तर अहिले सांसद संख्या कम भएकाले बैठक हलमै सांसद बस्ने लहरको छेउमा उपराष्ट्रपतिलाई सबैभन्दा अगाडि र त्यसपछि प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिलाई कुर्सी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment