Comments Add Comment

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

अब फर्सिडोललाई प्रस्थानविन्दू बनाउने जनप्रतिनिधिको निर्णय

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ ।

खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले मुआब्जासमेत लिइसकेको अवस्थामा खोकनाबासीको असन्तुष्टि जति गरे पनि सम्बोधन गर्न नसकिएको निश्कर्षमा सरकार पुगेको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल सहितको टोली खोकनाका बासिन्दाको कुरा सुन्न आउने जानकारी पाएपछि शुक्रबार विहानै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्थानीयलाई भड्काउने प्रयास गरे । उनीहरुले फास्ट ट्र्याक कुनै हालतमा बन्न नदिने भन्दै जबर्जस्ती खोकनाबाट शुरु गरिए जे पनि गर्ने धम्की दिए ।

विप्लवका कार्यकर्ताको टोली नाराबाजी गर्दै हिँडेको केही घण्टामा रक्षामन्त्री पोखरेल फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको नेपाली सेनाका उच्च अधिकारीसहित खोकना पुगे । उनले श्रीनाथ मन्दिर रहेको फराकिलो चौरमा उभिएर ‘फास्ट ट्रयाकको प्रस्तावित प्रस्थान विन्दू क्षेत्रको अवलोकन गरे ।

खोकनाको आन्दोलनमा राजनीति घुसेपछि..

श्रीकाली मन्दिरको पारी सिकाली चौरमा सेनाले टेण्ट गाडेर क्याम्प खडा गरेको एक वर्ष पुगिसक्दा पनि स्थानीयको विरोधका कारण काम सुरु भएको छैन । फास्ट ट्र्याकको प्रस्थान विन्दू आफ्नो ठाउँबाट खोसिने भएपछि अहिले खोकनाबासी दुई कित्तामा विभाजित भएको पनि देखियो ।

एकथरी फास्ट ट्र्याक आफ्नै कारण यहाँबाट नबन्ने हो कि भन्ने चिन्तामा छन् भने अरु केहीले सम्पदा र सभ्यता सुरक्षाको कुरा उठाएका छन् ।

खोकनामा यही मौकामा फास्ट ट्रया्कभित्र राजनीति पनि घुसेको यहाँबाट निर्वाचित प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।

फास्ट ट्र्याक नेपाल आफैंले बनाउने निर्णय गरेपछि चोट परेको भारतीय कम्पनीले पनि यहाँको राजनीतिमा लगानी गरेको आरोप कतिपयले लगाएका छन् । यही ठाउँमा विप्लवको पार्टी फास्ट ट्र्याक बन्न नदिने भनेर लागेको छ ।

जब रक्षामन्त्री पुगे…

मन्त्री पोखरेलको टोली पुग्दा त्यहाँका जनप्रतिनिधिसहित स्थानीय बासिन्दाले आफूहरु फास्ट ट्र्याकको विरोधी नभएको भन्दै यही ठाउँबाट शुरु गर्नुपर्ने बताए । तर एक वर्षदेखि खोकनाबासीकै अवरोधका कारण क्याम्प खडा गरेर बसे पनि काम हुन नसकेको मन्त्रीले आफ्नै आँखाले देखेर फर्किए ।

स्थानीयलाई पटक पटक विभिन्न विकल्प दिँदा पनि काम हुन नदिएको गुनासो कार्यक्षेत्रमा खटिएका सैनिक अधिकारीहरुले दिए । खोकनाबासीको सरोकार बमोजिम प्राचीन श्रीनाथ मन्दिर जोगाउने गरी मन्दिरलाई दाहिने पारेर टनेल बनाएर फास्ट ट्र्याक शुरु गर्ने विकल्प पनि सेनाले दिएको थियो ।

तर हरेक दिन सहमति हुने रातारात राजनीति गरेर काम हुन नदिइएपछि यो ठाउँनै छाड्ने निश्कर्षमा पुग्न लागिएको छ ।

‘एकदिन एउटा सहमति गरेर हिड्यो फेरि कसैले भड्काइदिने रहेछ, जतिपटक वार्ता गरे पनि एक वर्षदेखि उपलव्धीहीन भयो’ परियोजनामा संलग्न एक सैनिक अधिकारीले भने ‘विप्वबको नाममा विभिन्न स्वार्थ समूहको चलखेल भयो’ ।

सेनाले दियो यस्ता विकल्प

फास्ट ट्र्याक परियोजनाका प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँडले यसको प्रस्थान बिन्दूका बारेमा तीन विकल्पमा छलफल भइरहेको जानकारी दिए । उनले यसअघि एशियाली विकास बैंक (एडिबी) ले प्रस्ताव गरेको व्यवस्था अनुसार लैजादा श्रीनाथ मन्दिर क्षेत्रको १३ रोपनी जग्गा मासिने र स्थानीयको विरोध भएकाले दोस्रो विकल्प खोजिएको बताए ।

दोस्रो विकल्प भनेको खोकनालाईनै फास्ट ट्र्याकको प्रस्थान विन्दू कायम राख्ने र श्रीनाथ मन्दिर क्षेत्रलाई क्षति नपुग्ने र अर्को प्राचीन पुरातात्विक सम्पदा कोदेश पनि जोगिने गरी टनेल खनेर सिधै लैजाने । तर यसमा पनि राजनीति हुन थालेपछि तेस्रो विकल्पमा छलफल सुरु भएको छ ।

खाँडले भने- ‘यदि यहाँ विवाद भइरहृयो भने फास्ट ट्र्याक त बनाउनैपर्छ । हामी यो एरिया छाडेर फास्ट ट्र्याकको प्रस्थान विन्दू करिब साढे पाँच किलोमिटर पर फर्सिडोलमा लैजाने गरी तेस्रो विकल्पमा गएका छौं । सेनाले ४ वर्षमा फास्ट ट्र्याक निर्माण गरेर सरकारलाई बुझाउनुपर्छ । एक वर्ष विवादमै गइसक्यो, त्यसैले हामीलाई चाँडो निर्णय चाहियो ।’

खोकना होइन फर्सिडोलमा सहमति

सेनाले चाँडो निर्णय चाहियो भनेर ताकेता गरिरहेका बेला खोकनामा राजनीति घुसेको भन्दै बुङ्मती नजिकै रमणीय फर्सिडोललाई फास्ट ट्र्याकको प्रस्थान विन्दू बनाउने सहमति जनप्रतिनिधिले गरेका छन् ।

प्रस्तावित प्रस्थान विन्दूको पनि रक्षामन्त्री पोखरेलले शुक्रबारै अवलोकन गरेका छन् । उनले सबैको सहमति भए यो विकल्पमा जान सकिने बताए । उनले प्राविधिक प्रस्तावका आधारमा निर्णय हुने आश्वासन दिए ।

सोही क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले फर्सिडोललाई प्रस्थान विन्दू बनाउने र यहिँ बसपार्क कायम गर्ने सहमति स्थानीय जनता र सबै तहका जनप्रतिनिधीबीच भइसकेको जानकारी दिइन् । सोही अनुसार नेपाली सेनासँग बसेर माइन्युटसमेत गरिएको छ ।

भुसालका अनुसार खोकना र बुङ्मतीलाई बाहिरी चक्रपथभित्र पार्ने गरी सम्पदा पनि जोगिने हिसाबले फास्ट ट्र्याकको प्रस्थान बिन्दू खोकनाबाट फर्सिडोलमा सार्न सहमति भएको हो । उनले अब खोकनामा फास्ट ट्र्याकको प्रस्थान विन्दू नहुने भन्दै यस्तो विवादमा नपर्न फर्सिडोलमा पुगेका रक्षामन्त्री र सैनिक अधिकारीहरुलाई आग्रह गरिन् ।

भुसालले भनिन् ‘हिजो जनप्रतिनिधि नभएको बेला जनताको कुरा नसुनी खोकनामा फास्ट ट्र्याकको प्रस्थानविन्दू कायम भयो । तर सम्पदाको सुरक्षामात्र होइन बाहिरी चक्रपथले समेत त्यहाँ क्षतविक्षत पार्ने भएपछि अहिले सबै तहका जनप्रतिनिधिले जनतासँग बसेर प्रस्थान विन्दू खोकनाबाट फर्सिडोल कायम गर्ने निर्णय भएको छ ।’

स्थानीयको विरोध र सो क्षेत्रका जनप्रतिनिधिको निर्णयले सरकारलाई फास्ट ट्र्याकको प्रस्थान विन्दू खोकनाबाट सार्न सजिलो भएको छ । यद्यपी इन्जिनियरिङ अध्ययन गरेर उपयुक्त प्रस्ताव आएपछि मात्र यसबारे निर्णय लिइने रक्षामन्त्री पोखरेलले बताए । उनले विकासका काम अघि बढाउँदा जनताको माग र सम्पदा सुरक्षालाई ध्यान दिइने बताए ।

अब खोकनाको च्याप्टर क्लोज ?

आफ्नो मागलाई बाहना बनाएर फास्ट ट्र्याकको प्रस्थान विन्दू अन्यत्रै लैजान थालिएपछि खोकनाबासी फर्सिडोल लैजान पाइदैन भन्न थालेका छन् । तर यस क्षेत्रका जनप्रतिनिधिले भने त्यसलाई ‘एक्स्ट्रा पोलिटिक्स’ भनेका छन् । अब सबै प्रक्रिया पूरा गरेर फर्सिडोलबाटै फास्ट ट्र्याकको काम अघि बढ्ने उच्च अधिकारीहरुले पनि बताए ।

‘खोकना प्रस्थान विन्दू शुरुमै ठीक थिएन । त्यहाँ ५० मिटर फास्ट ट्रयाकले खाने, बस्तीको बीचबाट चक्रपथ जाने कुराले ऐतिहासिक सम्पदा र खेतीयोग्य जमिन ध्वस्त हुनेभयो’ भुसालले भनिन् ‘अब बाहिरी चक्रपथभित्र खोकना र बुङ्मतीलाई पारेर विकासको लाभ दिन्छौं । फर्सिडोलमा बसपार्क बनाएर काठमाडौं जोड्ने सडक फराकिलो बन्छन्, यसबाट जनताले लाभ लिनेछन् ।’

खोकना ललितपुर महानगरपालिका २१ मा पर्छ । यहाँका वडाध्यक्ष रवीन्द्र महर्जन भने साँस्कृतिक सम्पदा र किसानको मुआब्जा वृद्धिको अपेक्षा पूरा गरेर यहिँबाट फास्ट ट्र्याक लगिनुपर्ने बताउँछन् । यहाँका करिब ५० प्रतिशत जग्गाधनीले मुआब्जा पनि पाइसकेका छन् । तर अब फास्ट ट्र्याकको प्रस्थान विन्दू खोकनाबाट खोसिने निश्चित जस्तै देखिएको छ ।

प्राचीन खोकनामा विकासको कहर

त्यसो त १३ औं शताव्दीमै शहरीकरण भएको मानिने ऐतिहासिक खोकना अहिले कम्तिमा ५ वटा ठूला विकासका राष्ट्रिय आयोजनाहरुको केन्द्रमा परेको छ । १३२ केबी प्रसारणको हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, फास्ट ट्र्याक , सुरुङ मार्ग र स्मार्ट सिटी यहिँ हुँदैछ ।

यसबाट सम्पदाको विनाश र जमिन धेरै क्षति हुने भएकाले फास्ट ट्र्याक यहाँसम्म नल्याउने सहमति भएको प्रदेशसभा सदस्य महर्जनले बताए । खोकनाको मौलिकता जोगाउन पनि यहाँ ठूला परियोजनाबाट सम्पदा र जमिन सुरक्षा गर्न आवश्यक रहेको उनले बताए ।

सेनाका आयोजना प्रमुख खाँडले पनि खोकनामा सबै विकासका कार्यक्रम यहि ठाउँमा आउदा खेतियोग्य जमिन सकिने र सम्पदा पनि संकटमा पर्ने कुरा आएको बताए । तर फास्ट ट्र्याक यहिँबाट हुनुपर्छ भन्ने आवाज पनि आइरहेको भन्दै खाँडले आफूहरु राजनीतिक विवादमा पर्न नचाहेको प्रष्ट पारे ।

खोकनाको प्रस्थान विन्दू फर्सिडोलमा सारियो भने निजगढको दूरी कम्तीमा ५ किलोमिटर घट्नेछ । तर फर्सिडोलमा ओर्लिएका मान्छेलाई सहज रुपमा काठमाडौं पुग्नका लागि यहाँबाट बुङ्मतीको सोह्रखुट्टेसम्मको धुले सडकलाई १४ मिटर फराकिलो बनाउनुपर्नेछ ।

कनेक्टिीभिटीका रोडहरु बनाउन कुनै समस्या नरहेको खाँडले बताए । खोकनाको विकल्पको रुपमा अघि सारिएको फर्सिडोलबाट भैंसेपाटी करिब ५ किलोमिटरको दूरीमा छ । सम्भवतः फर्सिडोलनै अब फास्ट ट्र्याकको प्रस्थान विन्दू हुनेछ, जुन ठाउँबाट चक्रपथ आउन करिब ८ किलोमिटर लाग्छ ।

काठमाडौं र मधेसलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो राष्ट्रिय गौरवको आयोजना गत वर्ष सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो । यसअघि भारतीय कम्पनीलाई दिन खोजिए पनि केपी ओली सरकारले नेपाल आफैंले बनाउने निर्णय गरेको थियो । सेनालाई जिम्मा लगाउने निर्णय भने प्रचण्ड प्रधानमन्त्री हुँदा गरिएको थियो ।

बाराको निजगढबाट ललितपुरको खोकनासम्म ७६ किलोमिटर लामो फास्ट ट्र्याक पूरा हुँदा एक घण्टामै काठमाडौं मधेस ओहोरदोहोर गर्न सकिन्छ । अब खोकनाबाट फर्सिडोल प्रस्थान विन्दू सारिए यसको यसको दूरी अझ घटेर ७० किलोमिटरमा आउँछ ।

सेनाले विभिन्न १० वटा समूह बनाएर धमाधम ट्र्याक खुलाउने काम गरिरहेको छ । अरु सबै समूहले काम जारी राखे पनि खोकनामा एक वर्षदेखि स्थानीयसँग सहमति हुन नसकेका कारण ठेक्कानै रद्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment