Comments Add Comment

कहिलेसम्म बनिसक्ला दशरथ रंगशाला : अप्ठ्यारोमा खेलाडी

पुनर्निर्माण कछुवा तालमा, बन्ला त सागसम्ममा ?

२० जेठ, काठमाडौं । यतिबेला विश्वकप फुटबलको ज्वरोले सबैतिर छोइसकेको छ । फुटबलप्रेमीहरु आफूले समर्थन गरेको देश र खेलाडीसँगै विश्वकप आयोजना हुने रुसी शहरका रंगशाला इन्टरनेटमा नियाल्न व्यस्त छन् ।

रुसका विभिन्न ११ शहरका उत्कृष्ट १२ रंगशालाको चर्चा चुलिएका बेला नेपाली फुटबल खेलाडी र समर्थक भने भएको एउटै रंगशालाको हरिविजोग हेरेर बस्न विवश छन् ।

२०३० सालमा चीन सरकारको सहयोगमा बनेको दशरथ रंगशालाले २०५५ सालमा आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग)को क्रममा चीन सरकारकै सहयोगमा नयाँ रुप पाएको थियो । त्यो समय प्याराफिट, ट्रयाक, फ्लड लाइट, स्कोर बोर्ड र साउण्ड सिस्टम पाएर रंगशाला उज्यालिएको थियो ।

झण्डै १८ हजार दर्शकले रंगशालामा फुटबलको मजा मात्र लिएका थिएनन्, प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली फुटबललाई सहयोग पुर्‍याइरहेका थिए । अहिले त्यो सबै सम्झनामा पुगेको छ । खेलाडी र दर्शकबीचको ‘सम्बन्धको पुल’ भत्किएको छ ।

रंगशाला ‘जीवित’ हुँदा त्यहाँ वरपर खेलाडीहरु भेटिन्थे । उनीहरु खेल शैलीसँगै अनेक कुराकानी गरेर एकअर्काको अनुभव बाँड्थे । अहिले रंगशाला ‘मुर्छित’ भएसँगै खेलाडीहरु भेट्ने र कुराकानी गर्ने सम्बन्धको सेतु चुँडिएको छ ।

अप्ठ्यारोमा खेलाडी

१२ वैशाख ०७२ को भूकम्पअघि पनि सामान्य प्याराफिटतर्फ सिट र छाना हाल्ने काम भइरहेको थियो ।

प्याराफिटको पिलर कमजोर बनेको भन्दै बलियो पिलर लगाउने काम पनि चलिरहेको थियो । रंगशाला सुधारकै काम भइरहेका बेला गएको भूकम्पले शून्यको अवस्थामा पुर्‍याइदियो ।

पुनर्निर्माणको काम सुरु हुन नै समय लाग्यो । बल्लतल्ल सुरु भएपछि पनि कामले गनि लिन सकेको छैन । झण्डै तीन वर्ष पुगे पनि कामको प्रगति सोचेअनुरुप हुन सकेको छैन ।

सामान्य र भीआईपी प्याराफिटतर्फ भत्काउने काम भने ०७४ असोजबाट भएको हो ।

अहिले रंगशाला पस्ने बाटो बन्द छ । भत्काउने काम भइरहेको रंगशाला छेउको सडकमा पनि कुनबेला ढुंगा र्झछ भन्ने डरैडरमा पैदल यात्रु हिँड्न बाध्य छन् ।

पुनर्निर्माणका लागि सामान लैजान पछाडिबाट बनाइएको बाटो पनि अहिले बन्द छ । त्यहाँ खाल्डो खनेर काम भइरहेको छ ।

भित्री जस्ताले बारेको बाटोबाट मुस्किलले भित्र पसेर भए पनि केही खेलाडी अभ्यास गरिरहेका देखिन्छन् । राष्ट्रिय प्रतियोगिता होस् या अन्तर्राष्ट्रिय, सबैको तयारीका लागि एक मात्र विकल्प बनेको रंगशाला नहुँदा खेलाडीहरु मारमा छन् ।

‘यहाँको अवस्था त विजोग नै छ । धेरै समय बितिसक्यो । काम भइरहेको देखिन्छ, बन्ला नि त भन्ने सोच्यो तर खोइ !’ रंगशालाको भत्किएको ट्रयाकमा कुदिरहेका भारत्तोलन खेलाडी देवेन्द्र विकले भने, ‘आठौं सागको लागि तयारी गरिरहेको छु । म मात्रै होइन यहाँ राम्ररी अभ्यास गर्ने ठाउँ नहुँदा सबै खेलाडी समस्यामा छन् ।’

रंगशालाकै वरिपरि फुटबल खेलेर हुर्किएका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जन पनि रंगशालाको स्थिति देख्दा आफूलाई निकै दुःख लाग्ने बताउँछन् । ‘म त यतै फुटबल खेलेर हुर्किएको । यो देख्दा एकदम दुःख लाग्छ । भूकम्प पछि त न लिग भएको छ, न त मैदान बनेको छ,’ उनी भन्छन् ।

पुनर्निर्माणको स्थिति

रंगशाला पुनर्निर्माण सुरु भएको झण्डै तीन वर्ष पुग्न लाग्दा त्यसको प्रतिफल भने निकै न्युन देखिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रंगशाला पुनर्निर्माणमा ढिलासुस्ती गरेको खेलाडी तथा दर्शकको गुनासो छ । सामान्य प्याराफिटतर्फ छाना हाल्नेसम्मको काम सकिए पनि भीआईपी प्याराफिटमा भत्काउने काम नै सकिएको छैन ।

‘भीआईपी प्याराफिट भत्काउन प्राविधिक रुपमा कठिन भएका कारण अप्ठ्यारो परेको हो । त्यो काम पनि दुई/तीन हप्तामा सकिन्छ,’ रंगशालाका प्रमुख इञ्जिनियर अरुण उपाध्यायले भने, ‘सडक छेउमा भएकाले पनि काममा ढिलो भएको छ । गाडी चलेको चल्यै हुन्छ, मान्छे हिँडेको हिँड्यै हुन्छन् । सडक बन्द गरेर काम गर्ने वातावरण भएन । डाइभर्सन प्रयोग गर्न गृह मन्त्रालयमा भन्दा पनि सुनुवाइ भएन ।’

सामान्य प्यारफिटतर्फ भत्काउने काम जय माता कन्स्ट्रक्सनले सकाएको साइट इञ्जिनियर श्याम श्रेष्ठले बताए । त्यसका लागि ३० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

भीआईपी प्याराफिटमा भत्काउने काम गिरी कन्स्ट्रक्सनले गरिरहेको छ । त्यसमा १ करोड १९ लाख खर्च हुने अनुमान छ । काम नसकिएकाले पूरा हिसाब नआएको उनले बताए ।

रंगशाला भत्काउने काम चलिरहेकै बेला बनाउनका लागि पनि टेण्डर परिसकेको छ । पीएस, किराँतेश्वर र प्रतिष्ठाले संयुक्त रुपमा रंगशाला बनाउने कामको टेण्डर पाएका छन् । १९ करोड २६ लाख ७२ हजार रुपैयाँमा फेब्रुअरी २०१९ सम्म काम सकाउने गरी टेण्डर परेको हो । पहिले रंगशालाको भित्री भागमा काम सकाउने र त्यसपछि बाहिरी काम गर्ने श्रेष्ठले बताए ।

सागसम्म रंगशाला बन्ने दाबी

चीन सरकारको सहयोगमा रंगशालाभित्र भएका संरचनाहरु यसपटक पनि चीनले नै बनाइदिँदैछ । रंगशालाको भित्री भागको काम सकिएपछि चीनले काम सुरु गर्नेछ ।

चीनले रंगशालाको ट्रयाक, फ्लड लाइट, स्कोर बोर्ड र साउण्ड सिस्टमको काम गरिदिने प्रमुख इञ्जिनियर उपाध्यायले बताए ।

पुनर्निर्माण सुरु गर्नुअघि रंगशालाको अवस्थाबारे अध्ययन गर्नका लागि टेण्डर आहृवान गरेको तर, सोचे अनुरुप काम हुन नसक्दा पाँच महिना समय गुमाउनु परेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले अनलाइनखबरलाई बताए । ‘पहिलो पाँच महिना टेण्डर कसले लिने भन्ने विषयमा व्यतित भयो । त्यसपछि अध्ययन ढिलो भएर आयो । हामीले काम गर्न कसर बाँकी राखेका छैनौं । अहिले राम्ररी काम भइरहेको छ,’ उनले भने ।

यही वर्षको अन्त्यमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम्स) सम्म रंगशाला बनिसक्ने उनको दाबी छ ।

गएको बिहीबार युवा तथा खेलकुद मन्त्रालयले सय दिने प्रगति विवरण सार्वजनिक गर्न गरेको कार्यक्रममा मन्त्री जगत बहादुर सुनारले पनि उनको भनाइमा बल पुर्‍याइदिए । ‘हाम्रो मुख्य ध्यान १८ औं एसियन गेम्स, १३ औं साग गेम्स र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छ । नेपालमै हुने १३ औं सागका लागि भौतिक पूर्वाधार निर्माणको काम समयमै पूरा गर्नेछौं,’ मन्त्री सुनारले भने ।

राखेप सदस्यसचिव विष्टले पनि पूर्वाधारको कारण साग गेम्स नरोकिने दाबी गरेका छन् । ‘अबको १० महिनामा दशरथ रंगशालाको सबै निर्माण सकिन्छ । १३ औं सागको ओपनिङ र क्लोजिङ नै रंगशालामा गर्नेछौं,’ उनले दाबी गरे ।

ठूला गफ, कम काम

भूकम्प जानुअघि छाना र सिट हाल्ने साथै पिलर बनाउने काममा झण्डै ४१ करोड रुपैयाँ खर्च भयो । भूकम्पले त्यो सबै माटोमा मिलाइदियो ।

रंगशाला पुनर्निर्माणको लागि ०७२/७३ सालमा १० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । त्यो बजेट काम नै नभई फ्रिज भयो । ०७३/७४ सालमा पनि दुई करोडभन्दा बढी रकम रंगशाला पुनर्निर्माणका लागि आयो ।

यसपटक रंगशालाको मर्मत तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको मन्त्री सुनारले बताएका छन् । दशरथ रंगशालासहित विभिन्न कभर्ड हलहरुको मर्मत तथा स्तरोन्नतिका लागि सरकारले बजेटमा १० करोड छुट्याएको हो ।

भूकम्पपछि पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल, दलजीत श्रीपाइली र राजेन्द्रकुमार केसी युवा तथा खेलकुद मन्त्री भए । अहिले जगतबहादुर सुनार छन् । सबैले रंगशालालाई प्राथमिकतामा राखेको र त्यसको पुनर्निर्माण एवम् सुधारमा ध्यान दिने बताए पनि काम भने त्योअनुरुप भएको छैन ।

रंगशालाका प्रमुख इञ्जिनियर उपाध्याय घोषणा हुने र बजेट नहुने अवस्थाले अप्ठ्यारो परीरहेको बताउँछन् ।

‘सरकारमा मान्छे परिवर्तन हुनेवित्तिकै उनीहरुको सोचाइ पनि परिवर्तन हुने रहेछ । कहिले पैसाको पीर गर्न पर्दैन कति चाहियो हामी दिन्छौं, ठूलै बनाउने भन्ने कुरा हुन्छ, कहिले होइन सानो बनाउने भन्ने कुरा हुन्छ । यस्तै चलिरहेको छ,’ उनले भने ।

अहिले १९ करोड २६ लाख ७२ हजार रुपैयाँमा टेण्डर परेर काम सुरु भएको छ । रंगशालाका लागि बजेटकै कारण काम नरोकिने र परेको हेर्ने आश्वासन अर्थ मन्त्रालयले दिएको प्रमुख इञ्जिनियर उपाध्यायले बताए ।

   

तस्वीरहरूः चन्द्र अाले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment