चलचित्रमा काम गर्दा गर्दै विभिन्न कारणले विदेश पुगेका नायक-नायिकाहरु जब मिडियामा आउँछन्, चलचित्र क्षेत्रमा फर्कने बताउँछन् ।
विशेषगरि, कोही बिहे गरेर त कोही कामको सिलसिलामा बिदेश पुगेका छन् । तर, नेपाल आउँदा उनीहरुले चलचित्र क्षेत्रमा फर्कने चाहना सधै राख्छन् ।
अहिले नायिका विपना थापा पनि नेपाल आएकी छिन् । भारतका एक व्यापारीसँग बिहे गरेर उतै बसेकी विपना एक छोराको आमा भैसकेकी छिन् । विपनाले राम्रो कथा आएको खण्डमा चलचित्र खेल्ने बताइरहेकी छिन् ।
उनले, आफूले चलचित्र निर्माण गर्ने सोच पनि बनाएको बताएकी छिन् । तर, चलचित्र क्षेत्रमा भने नायिका थापा अमेरिकाको ग्रिन कार्डको चक्करमा लागेको चर्चा समेत चलेको छ ।
नायिका निरुता सिंह पनि केही हप्ता अगाडि नेपाल आइन् । नेपाल आएर उनले आफू पनि कथावस्तु राम्रो पाएको खण्डमा चलचित्रमा फर्कने चाहेको बताइन् । निरुतालाई निर्देशक विकास आचार्यले राम्रै रकम तिरेर छोटो दृश्यमा ‘नाई नभन्नु ल ५’मा खेलाए । निरुताले अब पूर्ण चलचित्रमा खेल्छिन् या खेल्दिनन् त्यो भोली नै थाहा हुने कुरा हो ।
यस्तै, नायिका जल शाह पनि केही समय अगाडि नेपाल आइन् । उनले नेपाल आउँदा आफू पनि चलचित्रमा आउन चाहेको बताइन् । उनले पनि कथावस्तु खोजिरहेको बताइन् ।
विदेशमा रहेका अन्य थुप्रै नायिकाहरुको कुरा सुन्दा पनि कसैले पनि म नेपाली चलचित्रमा आउन चाहन्न भनेको सुनिदैन । तर, उनीहरुले चलचित्रको यात्रा भने तय गर्न सकेका छैनन् ।
चलचित्रको भाषा र दर्शक बदलिएका छन् । यसैले पनि यी कलाकारलाई अब दर्शक र निर्माताले पत्याउलान् त ?