+
+
Shares

आज राति दुई बजेदेखि मलमास समाप्त हुने

रासस रासस
२०७५ जेठ ३० गते ११:४७

३० जेठ, काठमाडौं । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास (मलमास) बुधबार राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो । बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भई आज राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ’ उनले भने ।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन । बुधबार राति दुई बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको उनले सुनाए ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । १२ महिनाको एक वर्ष हुन्छ । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् ।

कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउँछन् वाल्मिकी विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ ।

दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्य सङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति, नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ । त्यस्तै कहिलेकहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति, परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पर्दछन् ।

करिब एक हजार ५०० वर्ष अघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?