७ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय शम्भुप्रसाद चालिसे छन् ।
११ साउन ०७१ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला उनले शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो ।
लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको सैबुस्थित सिघीपार्क गणेश मन्दिरबाट उनलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।
त्यस मुद्दामा सर्वोच्च अदालतले २० चैत्र ०७४ मा उनलाई १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गर्दै फैसला सुनाएपछि उनी फरार भएका थिए ।
उनलाई खोजी गर्ने क्रममा बिहीबार कलंकीबाट सीआईबीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।
प्रतिक्रिया 4