+
+
Shares

स्थानीय तहको पहिलो प्राथमिकता सडक, गौरवका योजनासमेत घोषणा

दिनेश थापा दिनेश थापा
२०७५ असार १२ गते १५:५५

स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको संरचना बनेपछिको तेस्रो नगर तथा गाउँ सभा जिल्लाका १२ स्थानीय तहले महत्वकांक्षी योजना पेश गर्दै सम्पन्न गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि भने जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट ल्याएको ल्याएको यो दोस्रो पटक हो ।

संविधानले हरेक वर्षको असार १० मा नै सबै स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने बाध्यकारी नीति बनाएपछि जिल्लाका सबै स्थानीय तहले तोकिएको समय सीमा भित्रै आफ्नो गाउँ/नगर को सभा गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

कतिपयले गाउँसभा तथा नगरसभाबाट आगामी नीति, कार्यक्रम र बजेट स्वीकृत नै गरिसकेका छन् भने केही स्थानीय तहले प्रस्तुत भएको नीति, कार्यक्रम र बजेटमाथि छलफल गरिरहेका छन् । प्राविधिक कारणले तोकिएको मिति असार १० मा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसेकेका स्थानीय तहले पनि असार १० कै मिति राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मेलम्ची नगरपालिकाले भने तोकिएको मिति भन्दा अगावै नीति कार्यक्रम पास गरिसकेको छ ।

अधिकांश स्थानीय सरकारले नीति तथा कार्यक्रममा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीलाई उच्च प्राथमिकतामा राखेका छन् । गाउँ नगरका पहिलो प्राथमिकता भने सडक नै देखिएको छ । कृषि, विद्युत उर्जा तथा संस्कृति र पर्यटनका क्षेत्र पनि गाउँ नगरका आगामी नीति, कार्यक्रममा समेटिएका छन् ।

स्थानीय सरकारका पहिलो प्राथमिकतामा सडक परे पनि नयाँ ट्रयाक खन्ने भन्दा पनि स्तरोन्नती र कालोपत्रे गर्नेतर्फ जोड दिएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका अधिकांश सडकहरुलाई आगामी ४ वर्षभित्र कालेपत्रे गर्ने गरी आर्थिक वर्ष ०७५/०७६ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

सडकका नयाँ ट्रयाक खोल्ने अभियानलाई सीमित गरी भएका सडकहरुको स्तरोन्नतीलाई नगरपालिकाले प्राथमिकता दिएको देखिन्छ । नमुना मेयर सडक कार्यक्रम संचालन गरि चौतारा बजारलाई केन्द्र मानेर अन्य गाउँ तथा नगरपालिका जोड्ने र वडा कार्यालय जोड्ने सडकलाई बाह्रै महिना संचालनमा ल्याउने योजना पनि देखिन्छ । ‘अहिले बाह्रै महिना संचालन हुनेगरि सडकहरु स्तरोन्नती गर्ने नीति ल्याएका छौं’, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले भने, ‘केन्द्र तथा प्रदेश सरकारको सहयोगमा ४ वर्षभित्र ती सडकहरु कालोपत्रे गर्नेछौं ।’

लिसंखुपाखर गाउँपालिकाले पनि सडकलाई पहिलो प्राथामीकतामा राखेको छ । गाउँपालिकाले प्रदेश र केन्द्रसँग सहकार्य गरेर २१ किलो लिसंखु,सुकुटे सडक कालोपत्रेलाई पहिलो प्रथामीकतामा राखेको गाउँपालिका अध्यक्ष कमले नेपालले जानकारी दिए ।

स्थानीय गौरवका आयोजना

गाउँ नगरमै  ‘गौरवका आयोजना’ निर्माण गर्ने भन्दै केही गाउँपालिका तथा नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेका छन् । लिसंखुपाखर गाउँपालिकाले स्थानीय गौरवका आयोजना भन्दै विभिन्न ६ वटा आयोजनालाई नीति कार्यक्रममा समेटेको छ ।

गाउँपालिकाको गौरवका आयोजना भन्दै लिसंखुपाखरले २१ किलो-लिसंखु-सुकुटे सडक कालोपत्रे, बाहिरी चक्रपथ निर्माण, २५ शैयाको अस्पताल, संग्राहलय निर्माण, ग्याल्बुङखोला दोभान ताल निर्माण र एकीकृत सेवा प्रवाहका लागि गाउँपालिका भवनसँगै विषयगत कार्यालयका भवन निर्माण गर्न लागेको हो ।

प्राकृतिक स्रोतको अधिकतम प्रयोग गर्दै सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको आधारसहित आगामी वर्षको नीति तथा कार्यक्रम ल्याइएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए । कृषि, पर्यटन, भौतिक पूर्वाधारका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य,सरसफाइ र सुशासनलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याइएको उनले बताए ।

चालु आर्थिक वर्षमा पनि सडकलाई उच्च प्राथमिकता दिएको बलेफी गाउँपालिकाले आगामी वर्षका लागि पनि सडक स्तरोन्नतीलाई प्राथमिकता दिएको छ । सडकलाई प्राथमिकता दिइए पनि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, पर्यटन तथा कृषिलाई पनि जोड दिइएको देखिन्छ ।

बलेफी गाउँपालिकाले शिक्षक जनशक्ति अभावमा रहेका विभिन्न विद्यालयहरुलाई अनुदानको व्यवस्था गर्दै वालविकास सहजकर्ताहरुको सेवासुविधामा ६६ प्रतिशतले वृद्धि गरिएको गाउँपालिका सदस्य एवं वडा नम्बर ५ का अध्यक्ष विकास श्रेष्ठले बताए । विभिन्न धार्मिकस्थल पुनर्निर्माण गर्ने, कोठेनजिकै बन्जी जम्पिङ सञ्चालन गर्ने लगायतका पर्यटकीय महत्वका योजना पनि नीति कार्यक्रममा समेटिएको उनले बताए ।

जुगल गाउँपालिकाले पनि सडकलाई पहिलो प्राथामिकतामा राखेको छ । जिल्लाको गौर जुगल हिमालसम्म पुग्ने सडक निर्माण गर्ने, वडा कार्यालयसम्म पुग्ने सडक स्तोरन्नति गर्नै सडक लक्षित कार्यक्रमहरु गाउँ सभाबाट पारीत गरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।

हेलम्बु गाउँपालिकाले रसुवाको स्याफुबेसीसम्म सुरुङमार्ग निर्माण गर्नै महत्वकांक्षी योजना अघि सारेको छ र त्यसको सम्भाव्यता अध्ययनका लागि बजेट समेत विनियोजन गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले पर्यटकीय स्थल पाँचपोखरीसम्म केबलकार निर्माणको योजना अघि सारेको छ । जुगल गाउँपालिकाले जलविद्युत योजनालाई पनि प्रमुख प्राथामीकतामा राखेको छ । जुगलको पानी, जुगलकै लगानी’ नारा अघि सारेर जुगल गाउँपालिकामा जलविद्युत अध्ययन केन्द्र स्थापना गर्ने नीति अघि सारेको छ ।

बाह्रविसे नगरपालिकाले पनि सडकलाई प्राथामिकतामा राखेको छ । त्यो बाहेक, कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख सुशीला पाख्रनले जानकारी दिइन् ।

पत्रकारिता क्षेत्रतर्फ स्थानीय सरकार अनुदार

तत्कालिन जिल्ला विकास समितिको सभापतिमा सरेश नेपाल सभापति भएपछि जिल्लाका पत्रकारिता र सञ्चार क्षेत्रलाई विकासका लागि नयाँ नीति अघि ल्याइएको थियो ।

त्यही नीतिलाई निरन्तरता दिदै जिविसले हरेक वर्ष जिल्लाका पत्रकारिताको विकासको लागि नीति तथा कार्यक्रममा नै पत्रकारितालाई जोड दिने गरेको थियो ।

जिविसले हरेक वर्ष कम्तीमा ८ लाख पत्रकारिताको क्षेत्रका लागि विनियोजन गर्ने गरे पनि स्थानीय सरकारले भने पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा नै नराखेको नेपाल पत्रकार महासंघका अध्यक्ष महेश श्रेष्ठले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?