Comments Add Comment

सुन र सुपारीपछि मरिचको तस्करीः ‘ट्रान्जिट’ बन्दैछ नेपाल

भियतनामको मरिच यसरी पुग्छ भारत

१४ असार, काठमाडौं । अहिले अवैध रुपमा भित्र्याएर हुने सुन तस्करीमाथिको निगरानी सरकारको प्राथमिकतामा छ । तर, वैधरुपमा नेपाल भित्र्याएर भइरहेको मरिच तस्करीको स्वरुप पनि कम्ति भयावह छैन ।

यो वर्ष नेपालमा मरिचको आयात गत वर्षको भन्दा झडै ७ गुणाले बढेको छ । खपत नै हुन नसक्ने परिमाणमा आयात हुनुको मुख्य कारण हो, भारततर्फ भइरहेको तस्करी । तेस्रो मुलुकबाट हुने मरिच तस्करीलाई सरकारले नियन्त्रण गर्न नसक्दा आयात उच्चदरमा भइरहेको छ ।

भन्सार अधिकारीहरु नेपाल मरिच तस्करीको ‘ट्रान्जिट’ बनेको बताउँछन् । वैध आयात गरेर अवैधरुपमा भइरहेको निर्यातमा सरकारले आँखा चिम्लँदा नेपालबाट भारततर्फको मरिच तस्करी भयावह अवस्थामा पुगेको दाबी भन्सार अधिकारीहरुको छ ।

राजस्व अनुसन्धान विभागले यसबारे अनुसन्धान गरे पनि यसको जालो कहाँसम्म फैलिएको छ भन्ने अझै पत्ता लगाउन सकेको छैन । एक ठूला ब्यापारीलाई पक्रनुबाहेक अन्य महत्वपूर्ण प्रमाण जुटाउन विभागलाई हम्मे परेको छ ।

तर, राजस्व अनुसनधान अधिकारी पनि भारततर्फ हुने मरिच तस्करीको ‘ट्रान्जिट’ नेपाल बनेको कुरा स्वीकार्छन् ।

यसमा ठूला भारतीय ब्यापारीहरुको पनि संलग्नता रहेको अनुमान छ । तर, त्यसको नेक्सस अहिलेसम्म अनुसन्धानले भेटाउन सकेको छैन ।

यो वर्ष वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाहबाट मात्रै १ करोड ४० लाख किलोभन्दा बढी मरिच नेपाल भित्रिएको छ । नेपालमा मरिचको यति ठूलो परिमाणको बजार नै छैन ।

कति आयो मरिच ?

यो वर्षको जेठसम्म मात्रै वीरगञ्जको सुख्खा बन्दरगाहबाट ५६ लाख २१ हजार ९७० केजी मरिच भित्रिएको बन्दरगाहका प्रवक्ता धनबहादुर बरुवालले जानकारी दिए । गत वर्ष सुख्खा बन्दरगाहबाट ९ लाख ३८६ किलो मात्रै मरिच भित्रिएको थियो ।

त्यसैगरी वीरगञ्ज भन्सारबाट यो अवधिमा ८४ लाख ३८ हजार ६९२ किलो मरिच भित्रिएको छ । यो मरिच झण्डै ६ अर्ब मूल्य बराबरको हो । खुद्रा बजार मूल्यलाई आधार मान्ने हो भने यो यो वर्ष झण्डै १५ अर्ब रुपैयाँ माथिको परिमाणमा आयात भएको छ ।

यो वर्ष मरिचको आयात अस्वभाविक दरमा भइरहेको भन्सार अधिकारीहरु स्वीर्काछन् । यसरी नेपालमा खपत हुनै नसक्ने परिमाणमा मरिच आयात हुनुले तस्करीको आशंकामा बल पुगेको छ ।

नेपालमा प्राय वीरगञ्जकै र्फमहरुले मरिच आयात गर्छन् । डाबर नेपाल सबैभन्दा ठूलो मरिच आयातकर्ता हो । मरिचको आयातमा हाल १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । बजेट आउनुअघि ५ प्रतिशत मात्रै भन्सार महशुल लाग्ने व्यवस्था थियो ।

नेपालमा मरिच सस्तो भएपछि त्यसको सीमापार तस्करी मौलाएको हो । भारतमा सरकारले किसानलाई सहयोग हुने गरी भन्सार दर उच्च गरेर मरिच आयातमा कडाइ गरेको छ ।

सरकारले न्यूनबिजकीकरण गरेर ल्याइएको आशंकामा केही समयअसघि मरिचमाथि सन्दर्भ मूल्यसूचीअनुसार भन्सार मूल्यांकन सुरु गरेको थियो । तर, व्यवसायीले उल्टै सरकारमाथि दबाव सिर्जना गरे । अन्ततः प्रतिमेटि्रक टन ३७ सय डलर मूल्यमा मरिचको भन्सार पास पुनः नियमित गरेको थियो ।

अनुसन्धान हुँदै

यो वर्ष किन मरिच आयात उच्च हुनुमा भारततर्फको तस्करी मुख्य कारण हो भन्नेमा सरकारी अधिकारीलाई कुनै आशंका छैन । मरिचको कालोधन्दामा संलग्न केही व्यवसायी र तस्करहरु पनि समातिएका छन् ।

उनीहरुलाई नै आधार बनाएर सरकारले हाल मरिचमाथि अनुसन्धान गरिरहेको छ ।

छाला भनेर वीरगञ्जबाट १२ टन मरिच तस्करीको आरोपमा ब्यापारी सञ्जय अग्रवालसहितको सूमह पक्राउ परेको छ ।

राजस्व अनुसन्धान विभागको मागेको ३ करोड ७६ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि अग्रवाल अहिले थुनामै छन् । भारतीय नम्बर प्लेटको ट्रकमा छालाको भन्सार तिरेर लगिँदै गरेको मरिच फेला परेको थियो ।

मरिचको बोरालाई जुटको बोराभित्र हालेर छाला निर्यात गर्न खोजिएको जस्तै देखाउने गरेको पाइएको थियो ।

मरिचको रुट नेपाल

भियतनामबाट कोलकाता बन्दगाह हुँदै आयात हुने मरिच नेपालबाट भारतमा महंगोमा दरमा बिक्री हुने भएकाले भारततर्फ तस्करी हुने गरेको छ । मसलाका रुपमा प्रयोग गरिने मरिच नेपालभन्दा भारतमा झण्डै दोब्बर मूल्यमा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

पर्साको छिपहरमाई गाउँपालिकाको भिश्वाको सिक्टा बजारमा ५ सय रुपैयाँ प्रतिकिलो पाइने मरिच भारतको सीमावर्ती बजारहरुमा भारतीय रुपैयाँ ५ सय अर्थात नेपाली ८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ ।

एक किलोमा तीन सय भन्दा बढी नाफा हुने भएका कारण सीमावर्ती क्षेत्रका व्यापारीहरुले ठूलो परिमाणमा मरिच खरिद गरेर भारततर्फ अवैध निर्यात गर्दै आएका छन् ।

सीमावर्ती क्षेत्रका व्यापारीहरुले वीरगञ्जबाट खरिद गरेर लगेको मरिच बुडगाई, टिहुकी र जयमंगलापुर नाका हुँदै भारततर्फ सिक्टा, बल्थरको र मैनाटाड बजारमा लगेर बेच्ने गरेका छन् ।

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले गत साउनदेखि हालसम्म पर्साका विभिन्न स्थानबाट १८ टन मरिच बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

१० चक्के ट्रक, दुई वटा ट्याक्टर एउटा मोटरसाइकल र ८ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको थियो ।

ब्यापारीहरुले यो वर्ष भियतनाममा मरिचको उत्पादन बढेका कारण मूल्य आधा सस्तिएको दावी गर्दै मरिच भित्र्याइरहेका छन् ।

तर, मरिच नेपालमा भन्दा भारततर्फ नै तस्करी भइहेकाले रोक्नुपर्ने अवस्था देखिएको सरकारी अधिकार स्वीकार्छन् ।

यसअघि सुपारी र सुकमेल तस्करी गर्ने गिरोह नै अहिले मरिचको कालोधन्दामा लागेको छ । मरिच मसलाका रुपमा प्रयोग हुने उपभोग्य वस्तु हो ।

नेपालमा सिजनअनुसार मरिचको माग स्वभाविक रुपमा १५ प्रतिशतसम्म मात्रै उतारचढाव हुो खुद्रा ब्यापारीहरु बताउँछन् ।
तर, यसवर्ष आयात ४ देखि ६ गुणाले बढ्नुले तस्करी मौलाएको पुष्टी हुने उनीहरुको पनि दावी छ ।

एक क्विन्टल मरिच तस्करी गर्दा ५० हजारभन्दा बढीसम्म नाफा गर्न सकिने भएपछि सीमा क्षेत्रबाट मरिचको तस्करी मौलाएको ब्यापारीहरु स्वीकार्छन् । मध्यतराईका बारा, पर्सा, रौतहट, लगायत जिल्लाका सीमा क्षेत्रबाट पछिल्लो समयमा केही मरिच तस्करहरु पनि समातिएका छन् ।

सरकारको दाबी

नेपालमा भियतनाम, ब्राजिल, साउदी अरेबिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, अमेरिका लगायतका मुलुकबाट मरिच आयात हुन्छ ।

राजस्व अनुसनधान विभागका महानिर्देशक दर्घराज मैनाली मरिच तस्करीबारे तीव्ररुपमा अनुसन्धान भइरहेको बताउँछन् । अनुसन्धानमा तेस्रो मुलुकबाट आउने मरिच भारतर्फ निकासी गर्न गिरोह नै सक्रिय भएको देखिएको उनको भनाइ छ ।

‘अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुसँग वयान लिइरहेका छौं । राज्यलाई छलेर गरिने कालोधन्दालाई निरुत्साहित गर्न हामी सक्रिय छौं,’ उनले भने,’मरिच तस्करीमाथि पनि हाम्रो विशेष निगरानी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment