Comments Add Comment

विश्वकप समूह चरण हेर्दा : ८६ खेलाडीको १२२ गोल, ३६ हजार पास

उत्कृष्ट अट्याक जर्मनीको, डिफेन्स इरानको

काठमाडौं । रुसमा जारी विश्वकपमा समूह चरणका ३२ टिमका ४८ वटा खेल सकिएका छन् । रोमाञ्चकताले भरिएका यी खेलबाट राम्रा भनिएका केही टिम बाहिरिए । अब १६ टिम नकआउटका आधारमा भिड्ने छन् ।

आउने खेल कस्तो हुनेछ भन्ने आँकलन गएका खेलको तथ्यांक हेरेर पनि अनुमान लगाउन सकिन्छ । कस्तो रहृयो त समूह चरणका खेल ?
समूह चरणका ४८ खेलमा १ सय २२ गोल भए । जसका लागि ३६ हजार ३ सय ४९ पटक बल पास भए । सबै खेलको औसत निकाल्दा हरेक खेलमा औसतमा २.५ गोल भएको छ ।

अहिलेसम्म १३ खेलाडीले दुई दुई गोल गरेका छन् । यस्तै ६८ जना खेलाडीले एक एक गोल गरेका छन् । यसरी समग्रमा रुस विश्वकपमा अहिलेसम्म ८६ खेलाडीले गोल गरिसकेका छन् ।

अहिलेसम्म तीनवटा रातो कार्ड तथा १ सय ५८ वटा पहेँलो कार्ड प्रयोग भएका छन् । औषतमा हेर्दा पहेँलो कार्डको प्रयोग धेरै नै छ । सबै खेलको औसत पहेँलो कार्ड ३.४ रहेको छ ।

सर्वाधिक गोलकर्तामा पाँच गोल गरेका इंग्ल्याण्डका कप्तान हृयारी केन अघि रहेका छन् । त्यसपछि चार गोल गरेका बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो रहेका छन् । यस्तै तीन गोल गरेका रुसका डेनिस चेरेसेव र स्पेनका डिएगो कोस्टा चौथो र पाँचौँ स्थानमा छन् ।

टिमलाई हेर्दा समूह चरणका आफ्ना तीन खेलमा सबै भन्दा धेरै गोल गर्ने टिम बेल्जियम हो । बेल्जियमले तीन खेलमा ९ गोल गरेको छ । यस्तै इंग्ल्याण्ड र रुसले समान ८/८ गोल गरेका छन् ।

क्रोएसियाले सात गोल गरेको छ । स्पेनले ६ गोल गरेको छ । ब्राजिल, कोलम्बिया, उरुग्वे, स्वीडेन, पोर्चुगल, स्वीट्जरल्याण्ड तथा ट्युनिसियाले पाँच/पाँच गोल गरेका छन् । विश्वकपमा सहभागी सबै टिमले कम्तीमा दुई गोल गरेका छन् ।

यो विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै पटक बल गोलमा परिणत हुनबाट जोगाउने गोलरक्षक मेक्सिकोका गुइलेर्मो ओचोए हुन् । उनले १७ पटक गोल बचाउ गरेका छन् ।

यस्तै सबैभन्दा धेरै पटक गोलका लागि प्रयास गर्ने खेलाडी ब्राजिलका नेइमार हुन्, उनले १७ पटक पोस्ट प्रहार गरेका छन् ।

विश्वकपमा सबैभन्दा धेरै गोल भएको खेल बेल्जियम भर्सेस ट्युनिसिया हो । यो खेलमा सात गोल भएको थियो । खेलमा बेल्जियम ५-२ ले विजयी भएको थियो । यस्तै इंग्ल्याण्ड र पानामाबिचको खेलमा पनि सात गोल भएको थियो । जसमा इंग्ल्याण्ड ६-१ ले विजयी भएको थियो ।

यस्तै अन्तिम १६ मा पुगेका तीन देशले मात्रै समूह चरणका तीनै खेल जितेका छन् । जसमा उरुग्वे, क्रोएसिया र बेल्जियम हुन् ।

विश्वकपमा समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध अवसर पाएका इजिप्टका एसाम एल हादारी विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बने । उनले ४५ वर्ष १ सय ६१ दिन हुँदा विश्वकप खेलेका हुन् ।

यस्तै समूहचरणमा सबै भन्दा धेरै पेनाल्टी प्रहार हुने विश्वकप पनि यहि नै बनेको छ । ४८ खेलमा २४ पटक पेनाल्टी प्रहार भएको छ । यसअघि एउटै विश्वकपको समूह चरणमा १८ पटक मात्रै पेनाल्टी प्रहार भएको थियो ।

समूह चरणबाटै बाहिरिएको जर्मनी समूह चरणका खेल हेर्दा विपक्षीको पोस्टमा सबैभन्दा बढी आक्रमण गर्ने टिम हो । जर्मनीले २ सय ५२ पटक बल अट्याक गरेको थियो ।

सबैभन्दा बढी सफल पास खेल्ने टिम स्पेन हो । स्पेनले २ हजार ८९ पटक बल सफल रुपमा पास गरेको थियो । धेरै पटक बल सही पास दिने खेलाडी भने जर्मनकिा टोनी क्रुस हुन् उनले ३ सय १० सफल पास दिएका थिए । यस्तै डिफेन्समा सबैभन्दा राम्रो टिम इरान देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment