Comments Add Comment

यो साता मौद्रिक नीति आउँदैन, आर्थिक वृद्धि १३ प्रतिशत पुग्न सक्छ !

यसवर्षको मौद्रिक नीतिमा ‘बिग मर्जर’ नसमेटिने


२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यो साता सार्वजनिक नगर्ने भएको छ । यसअघि शुक्रबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति असार अन्तिम सातामात्रै सार्वजनिक गरिने राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिएका छन् ।

आवश्यक तयारी सकिन बाँकी रहेकाले यो साता मौद्रिक नीति सार्वजनिक गर्न सम्भव नरहेको थापाले बताए । बिहीबार मिडिया इन्टरनेशनलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक थापाले यो साता मौद्रिक नीति नआउने स्पष्ट पारे ।

आर्थिक वृद्धिदर ११ देखि १३ प्रतिशत पुग्ने दाबी

आगामी आर्थिक वर्षका लागि बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्न समस्या नरहेको कार्यकारी निर्देशक थापाले बताए ।

राजनीतिक अस्थिरताको अन्त्य भई मुलुकमा स्थायी सरकार बनेको र आर्थिक वृद्धिका लागि प्रशस्तै सम्भावना रहेका कारण आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत मात्रै नभएर ११ देखि १३ प्रतिशतसम्म पुग्ने उनले दाबी गरे । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनतर्फमात्रै ध्यान दिने हो भने आर्थिक वृद्धि ११ देखि १३ प्रतिशत पुग्नेमा शंका नरहेको उनको दाबी थियो ।

‘बिग मर्जर’ को विषय नसमेटिने

मौद्रिक नीतिमा पछिल्लो समय अधिक चर्चाको विषय बनेको ‘बिग मर्जर’ नीति भने नसमेटिने थापाले स्पष्ट पारेका छन् । तत्कालै ‘बिग मर्जर’ को नीति आउँदा बैंकिङ क्षेत्रमा अस्थिरता आउन सक्ने भन्दै कार्यकारी निर्देशक थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यस विषय नसमेटिने बताए ।

राष्ट्र बैंकको चाहाना बैंकको संख्या घटाउने भए पनि बिग मर्जरको नीति ल्याउने समय तत्काल उपयुक्त नहुने उनको भनाइ थियो । ‘पूँजी वृद्धिको योजनापछि विकास बैंकको संख्या ८६ बाट ३५ मा र वित्त कम्पनीको संख्या ७९ बाट २५ मा झर्‍याे तर वाणिज्य बैंकको संख्या सोचेअनुसार कम भएन ।’ उनले थपे ।

कार्यकारी निर्देशक थापाका अनुसार राष्ट्र बैंकले अझै वाणिज्य बैंकको संख्या घटोस् भन्ने चाहेको छ । तर, बैंकिङ क्षेत्रको स्थिरताका लागियसपालि बिग मर्जरको नीति आउँदैन ।

कार्यक्रममा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सीईओ मिन बोहराले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा देखिएका कष्ट अफ फण्ड, स्पेडदरलगायतका समस्या समाधान गर्नु पर्ने धारणा राखे । बैंकिङ क्षेत्रको ब्याजदरमा भइरहेको उचारचढावलाई समेत स्थिर बनाउनु पर्ने सीईओ बोहराको भनाइ थियो । ‘निक्षेपको ब्याजदर बढ्दैन, तर कर्जाको ब्याज समय समयमा बढ्यो भनेर बैंकबाट चिठी लेख्ने चलन छ’, उनले भने, ‘आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदरलाई स्थिर बनाउन आवश्यक बुँदा समेट्नु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment