Comments Add Comment

महिला हक र अधिकारका दृष्टिले नेपाल दक्षिण एशियामै अगाडिः प्रचण्ड

फाइल तस्वीर

२२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एशियामै अगाडि रहेको दावी गरेका छन् ।

अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पारे ।

उनले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाइ सत्य नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले योगमाया जस्ता वीर वीरंगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढ्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिएका योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरिन् ।

उनले योगमायाको योगदानको उच्च कदर गर्दै आफू नेतृत्वको सरकारले उनको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै महिला नेतृहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, डा. डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राणा कालमा समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको योगमाया न्यौपाने व्यक्तित्वका बारेमा पनि चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment