+
+

जथाभावी विदेश भ्रमणमा जान पाइन्नः सरकारका प्रवक्ता

शिक्षा मन्त्रालय भन्छ– उपकुलपतिको भ्रमण स्वीकृत भएको थिएन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १५:४९


२४ असार, काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले जथाभावी विदेश भ्रमण गर्न लागेकाले उनलाई विमानस्थलबाट फर्काएको सरकारले स्पष्टीकरण दिएको छ ।

उपकुलपति कोइरालालाई विमानस्थलबाटै किन अपमानजनक तरिकाले फर्काएको भन्ने अनलाइनखबरको प्रश्नमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अनलाइनखबरसँग भने– ‘सरकारले निर्देशिका नै जारी गरेर आर्थिक अनुशासनको नीति लागू गरेको छ, त्यसैले जथाभावी विदेश भ्रमणमा जान पाइँदैन ।’

एउटा सानो कार्यक्रममा ६÷७ जना विदेश भ्रमणमा जाँदा राज्यलाई आर्थिक भार पर्ने मन्त्री बास्कोटाले बताए ।

उपकुलपति कोइरालालाई अपमान गरेको नभएर किन यति धेरै सदस्यहरु विदेश गएको भनी सोध्नका लागि बालुवाटार बोलाइएको हुन सक्ने उनले बताए ।

सरकारी कर्मचारीहरुले अनावश्यकरुपमा विदेश भ्रमण गरेर आर्थिक अनुशासन तोडिरहेकोतर्फ संकेत गर्दै मन्त्री बास्कोटाले विदेशमा लाग्ने मेलाहरुमा जान पूर्णतः रोक लगाइएको बताए ।

सरकारका प्रवक्तासमेत रहेका बास्कोटा अनलाइनखबरसँग भने–‘मेलामा त जानै पाइँदैन, अवलोकन भ्रमण खारेजै गरिएको छ ।’

नेपालको तर्फबाट हस्ताक्षर गर्ने कार्यक्रममा मात्रै विदेश जान पाइने नीति सरकारले सार्वजनिक गरिसकेको बताउँदै बास्कोटाले भने– ‘यस्तो अवस्थामा ६÷७ जनाको टोली लिएर किन क्यानडा जान लागेको भनेर उपकुलपति कोइरालालाई सोधिएको हुन सक्छ ।’

अनावश्यक रुपमा हुने विदेश भ्रमणमाथि रोक लगाएर सरकारले आर्थिक अनुशासन कायम गर्न खोज्दा यसलाई सकारात्मकरुपमा लिइदिन मन्त्री बास्कोटाले आग्रहसमेत गरे ।

मन्त्री बास्कोटाका अनुसार विदेश भ्रमण जानबाट रोकिएका उपकुलपति कोइराला पहिलो व्यक्ति होइन्न । यसअघि कृषि मन्त्रालयबाट ११ जना विदेश जान लागेका बेला ८ जनालाई घटाएर तीनजनाको मात्रै विदेश भ्रमण स्वीकृत गरिएको थियो ।

शिक्षाको दाबीः उपकुलपतिको भ्रमण स्वीकृत भएको थिएन

यसैवीच उपकुलपति कोइरालाको विदेश भ्रमण शिक्षामन्त्रीबाट स्वीकृत नभएको शिक्षा मन्त्रीका निजी सचिव पुरन केसीले अनलाइनखबरलाई बताए ।

केसीका अनुसार शुक्रबार उपकुलपति कोइरालाले शिक्षा मन्त्रालयको कम्प्युटरमा काम गर्ने एकजना कर्मचारीलाई एउटा पत्र छाडेर मन्त्रीलाई नभेटी हिँडेका थिए । कोइरालाले विदेश भ्रमणबारे विश्वविद्यालयका सहकुलपति रहेका शिक्षामन्त्रीलाई पनि भेटेनन् र कुलपति प्रधानमन्त्रीसँग पनि भेट गर्न मानेनन् ।

कांग्रेस नेता गोपालमान श्रेष्ठ शिक्षामन्त्री हुँदा क्यानडा भ्रमणका लागि कुलपति कोइरालाले ३५ लाख माग गरेका थिए । पछि अर्थमन्त्री युवराज खतिवडालाई १० लाख माग गर्दै पत्र पठाइएको भए पनि सरकारका तर्फबाट विदेश भ्रमणको बजेट स्वीकृत नभएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?