Comments Add Comment

बदलियो चैनपुरः धान झुल्ने फाँटमा महलै महल

२४ असार, बझाङ । साना चिटिक्क परेका स्लेटले छाएका घरहरुलाई भव्य र आधुनिक सुविधायुक्त महलहरुले विस्थापित गरेको छ ।

ढुङ्गा विच्छायर बनाइएको बाटो फराकिलो र पक्की भएको छ । खुला र लहलह बाली झुल्ने फाँटहरु घरहरुले खुम्चिएको छ । जग्गाको भाउ आँकासिएको छ ।

समग्रमा बझाङ जिल्लाको सदरमुकाम चैनपुरले स्वरुप फेरेको छ । चैनपुर सानो र चिटिक्क परेको उपत्यका हो । यो भौगोलिक रुपमा पनि सुन्दर छ । एकातिर सेती नदी र अर्काेतिर बाहुलीगाडले घेरा हालेका छन् । मुटु आकारमा फैलिएको छ ।

सम्भवतः सुदूरपश्चिममा छोटो अवधिमा सम्पूर्ण स्वरुप नै बदलिएको पहिलो सदरमुकाम हो चैनपुर । ४/५ वर्षपहिले बझाङ सदरमुकाम आउनेहरु अहिले यहाँ पुग्दा छोटो अवधिमा भएको परिर्वतन देखेर चकित हुने गरेका छन् । सामाजिक अगुवा मंगल खडका भन्छन, ‘दुई तीन वर्ष पहिले यहाँ आएकाहरु अहिले आउँदा परिवर्तन देखेर छक्क पर्छन । यति छिटो पनि परिर्वतन हुँदो रहेछ भनेर सुनाउँछन् ।’

५ वर्षयता अधिकांश सरकारी कार्यालयका नयाँ र सुविधायुक्त भवन बनेका छन् । केही बन्ने क्रममा छन् । त्यतिवेला एक दुईको संख्यामा रहेका ढलान गरिएका पक्की घरहरुको तुलनामा अहिले स्लेटले छाएका घरहरु दुईचारवटा मात्र बाँकी छन् ।

काठमाडौं लगायतका सहरको सरह सुबिधा भएको दावी गर्ने होटलहरुमा करोडौंको लगानी छ । दुई वर्षयता ३ वटा निजी क्षेत्रका बैङ्कहरु खुलेका छन् ।

कृषि विकास बैङ्कले पनि एनआईसी एसियाले बैङ्कङि कारोबार सुरु गरेको छ । निजी क्षेत्रको लगानीमा विशेषज्ञ सेवासहितको अस्पताल स्थापना भएको छ ।

बझाङको बारेमा सुनेकाहरु पनि बझाङ पुग्दा सुनेको र वास्तविकतामा आकाश जमिनको भिन्नता पाउँदा रहेछन् । ‘असाध्य दुर्गम छ । खान बस्न लगायत धेरै समस्या हुन्छ भन्ने सुनेको थिएँ । यहाँको बारेमा मेरो मस्तिस्कमा अर्कै खालको चित्र लिएर आएको थिएँ ।’ कृषि विकास बैङ्कको २६ वर्षे कार्यअनुभव बटुलिसकेका रुपन्देहीका पुष्पराज सापकोटाले भने ।

सापकोटाले अघि भने, ‘यहाँको विकास हेर्दा कुनै शहरी क्षेत्रको भन्दाकम सुविधा रहेन छ ।’ नेपालका ६५ जिल्लाको भ्रमण गरिसकेका अबकाश प्राप्त सापकोटा अहिले एउटा गैरसरकारी संस्थामा कार्यरत छन् ।

छोटो अवधिमा सदरमुकाम यसरी परिर्वतन हुनुको पछाडि जडिबुटीको ब्यापार र सडक संजालको पहुँच प्रमुख कारण रहेको धेरैले स्वीकार गर्छन् । ‘सदरमुकाममा अहिले ५० प्रतिशत भन्दा बढी हिमाली गाविसका मानिसहरुका घर छन् ।’

विषेश गरी सुर्मा, दौलिचौर र काँडाका मानिसहरुले झण्डै १० हेक्टर क्षेत्रफलमा रहेको सदरमुकामको आधाजग्गा घडेरीको रुपमा खरिद गरिसकेको बताउने एक जना बुद्धिजीवी सुरतबहादुर सिंह भन्छन्, ‘होटल पसल र अन्य व्यवसायमा पनि उनीहरुकै लगानी बढी देखिन्छ ।’

यार्सागुम्बा लगायतका जडिबुटीको व्यापार फस्टाएपछि यहाँको आर्थिक गतिविधि तीव्र रुपमा बढेको उनले बताए । सिहंले भनेका साबिकका यी गाविसहरु केही वर्ष पहिला जिल्ला कै गरीबी बढी भएको र दुर्गम गाविसहरुमा पर्दथे ।

तीव्र सहरीकरण र यातायातको पहुँचसँगै बिभिन्न खालका रोजगारीका अवसरहरुसमेत बृद्धि भएका छन् । साना ठूला पसल व्यवसाय गर्नेदेखि घर निमार्ण, रङ्गरोगन गर्ने, सामानलोड अनलोड गर्ने तथा प्रविधिमा आधारित व्यवसाय गर्ने सीप भएकाहरु सदरमुकाम ओइरिन थालेका छन ।

सानो तरकारी पसल गर्दै दुई छोराछोरीलाई स्कुल पढाइरहेका भाते खोलाका हरी जोशीले भने, ‘दिनमा १२/१५ सय आम्दानी सजिलै हुन्छ । अरु नभएपनि आफूहरु बाच्न र छोरा छोराछोरीलाई पढाउन सजिलो भएको छ ।’

सदरमुकाममा अहिले २ वटा सरकारी र ६ वटा निजी विद्यालयहरु संचालनमा छन् । यस्तै विज्ञान संकाय पढाउने २ वटा उच्च माध्यमिक विद्यालय, २ वटा प्राविधिक शिक्षालय र स्नातकोत्तरसम्म पढाउने क्याम्पसको स्थापनाले पनि शिक्षाको लागि जिल्ला बाहिर जानेहरुको ठूलो संख्यालाई जिल्लामै रोक्न सफल भएका छन् ।

इन्टरनेट र थि्रजी सेवाले जिल्लालाई विश्व परिवेशसँग नजिक तुल्याएको छ भने सूचना प्रविधिको व्यवसाय गर्ने युवाहरुको समेत बृद्धि भएको छ ।

सदरमुकामको सहरीकरणको प्रभावगाँउतिर पनि देखिन थालेको छ । आसपासका गाउँहरुमा तरकारी खेती गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको जिल्ला कृषि विकास कार्यलयको तथ्याङ्क छ ।

पोल्ट्री व्यवसायमा जिल्ला आत्मनिर्भर भैसकेको छ । परमपरागत ज्याला मजदुरीलाई मात्र रोजगारको विकल्प ठानेका यहाँका अधिकांस मानिसहरुमा अहिले व्यवसायिक सोचको विकास भैरहेको छ ।

०५४ सालमा आफू आउँदा सदरमुकामको ग्रामीण परिवेश देखेकी सामाजिक बिकास केन्द्रकी प्रमुख गौरी चन्द पछिल्लो पटक ०७५ सालमा आउँदा बाटो पनि चिन्न नसकेको बताइन् । ‘स्वरुप त परिर्वतन भएको छ नै । पहिले भन्दा यहाँको मानवीय स्वभावमा पनि परिर्वतन पाए,’ प्रमुख चन्दले भनिन्, ‘पहिला बाहिरीया मान्छेसँग घुलमिल नहुने यहाँका मानिसहरुमा अहिले फराकिलो सोचको विकास भैरहेको छ । धेरै कुरामा विकास र परिवर्तन भएको छ ।’

भुवनबहादुर सिंहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment