+
+

विवाह गर्नैपर्छ ? किन कोही विवाह गर्न राजी हुँदैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते १४:०१

नेपालीमा एउटा भनाई छ, ‘जन्म, मृत्यु र विवाह जन्ममै लेखिएर आएको हुन्छ ।’ भलै यस्ता कुरालाई आडम्बरको रुपमा लिन सकिएला । यद्यपी हामीले चाहेर पनि जीवनलाई ठिकठाक ढंगले अगाडि बढाउन सकिएको हुँदैन । जस्तो कि, विवाह ।

विवाह गर्नका लागि हामी आफ्नो प्रयासले मात्र पुग्दैन । यसका लागि संयोग नै पर्खनुपर्छ । यस्ता संयोग पर्खदा पर्खदै कतिपयको उमेर छिप्पिन्छ । एउटा निश्चित उमेर पार गरिसकेपछि विवाह असंभव जस्तै हुन्छ । त्यसैले भन्ने गरिन्छ, ‘विहे भनेको उमेर छँदै गर्ने हो ।’

विवाहः ‘वन्धन’ कि अनिवार्य ?

विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन । कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जौहरले विवाह गरेका छैनन् । तर, उनी दुई सन्तानका पिता हुन् । सेरोगेसीबाट उनले बच्चा जन्माएका हुन् । अरुको बच्चा कानुनी प्रावधान पुरा गरेर पालनपोषण गर्ने प्रचलन पनि छ । अर्थात अर्काको बच्चा अधिग्रहण गरेर आफ्नो काखमा हुर्काउने । यस्तो चलन त नेपालमा पनि छ ।

जीवन विताउनका लागि पति वा पत्नी नै चाहिन्छ त ? दाम्पत्य जीवन विताउनै पर्छ ? यसमा ठूलो संख्याले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् ।

विवाहः निरन्तर प्रक्रिया

हुन त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिंगीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग-अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ ।

विवाहको प्रचलन विश्वमै छ । हाम्रा पिता-पूर्खाहरुले यसलाई निरन्तरता दिदै आए । पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त ?

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौनबाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह किन झन्झटिलो ?

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह-वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्यवहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भोग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति -पति वा पत्नी)को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुख

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन ।

के छ विवाह गर्नुको फाइदा ?

-दाम्पत्य सुख

-वैधानिक यौनभोग

-आफ्नो बालबच्चा

-सुख-दुखमा साथ

-वंश निरन्तरता

अविवाहित हुनुको फाइदा

-आफ्नो मर्जी अनुसार जीवन जिउन सकिने

-पारिवारिक बन्धन, झन्झट लिन नपर्ने

-सन्तानप्रतिको चिन्ता नहुने

-आर्थिक व्यायभार कम हुने

-अर्काको दुख, बोझ बोक्न नपर्ने

-पारिवारिक जिम्मेवारी, उत्तरदायित्व वहन गर्न नपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?