६ साउन, वीरगञ्ज । भारतीय युवती वनिताकुमारी चौधरीको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ । सन्केसा भन्ने वनिताको शव ३१ असारमा पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगोली भन्ने भलुवाई खोलामा भेटिएको थियो ।
कपडा, औठीलगायतका आधारमा आफन्तले उनको शव पहिचान गरेको थियो ।
हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरी पक्राउ परेका छन् । उनी मृतक १८ बर्षीया वनिताको प्रेमी भएको खुलेको छ ।
भारत पश्चिम चम्पारण बरगाँव, थाना वगाहा पिपरिया-११ की वनिता जगरनाथपुरमा नातामा काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएकी थिइन् ।
असार २८ गते दिउँसो २ बजे हराएकी वनिताको शव तीन दिनपछि भेटियो । बाबु, आमा तथा काका काकीलाई शवको तस्वीर, घटनास्थलमा प्राप्त कपडा, औठी तथा कानको बाला देखाएपछि उक्त शव वनिताकै भएको पहिचान गरिएको थियो ।
हत्याको आरोपमा पक्राउ परेका प्रमेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सार्वजनिक गरेको छ ।
यसरी भएको थियो हत्या
प्रहरीका अनुसार प्रमोद र बनिता ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच नियमित फोन सम्पर्क हुनुका साथै भेटघाट हुने गथ्र्यो ।
प्रमेन्द्र रोजगारीको लागि गोरखामा मिस्त्री (डकर्मी) काम गर्दै आएका थिए । घटनाको अघिल्लो दिन २७ गते बेलुका मात्र उनी गोरखाबाट गाउँ आएका थिए ।
उनीहरुको असार २८ गते भलुवाई खोलाको छेउ खरबारीमा भेट्ने योजना थियो । सहमतिअनुसार मध्यान्ह १२ बजेतिर खरबारीमा भेटे । त्यसक्रममा उनीहरुले सहमतिमै शारीरिक सम्बन्ध बनाए । तर, प्रमेन्द्रले पुन यौन सम्बन्ध राख्न खोज्दा बनिताले इन्कार गर्दै घर जान खोजेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
प्रमेन्द्रले आवेशमा आएर वनितालाई उनकै सलको पासो लगाएर हत्या गरेको प्रहरीको दाबी छ ।
हत्यापछि वनिताको शवलाई घिसारेर खोलाको किनारमा रहेको खाडलमा हालेर भागेका थिए । सुहपुरस्थिर घरबाटै पक्राउ परेका उनले अभियोग स्वीकार गरेका छन् ।
प्रतिक्रिया 4