+
+
Shares

अब दक्षिण एसियाली खेलकुदमा क्रिकेट खेल पनि खेलाइने

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते ०:३०

६ साउन, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाइडिङ प्रतियोगिता पनि समावेश गरिएको छ ।

दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले १३ औं दक्षिण एशियाली खेलकुदमा खेलाइने खेलहरुको संख्या २७ वटा पुर्‍याएको छ ।

यसअघि १२ औं सागमा २३ खेलमा प्रतिस्पर्धा भए पनि कराते र गल्फ समावेश गरेर २५ पुर्‍याउने तयारी थियो । तर शनिबारको बैठकले थप २ खेल समावेश गरी २७ वटा खेलमा प्रतिस्पर्धा हुने भएको हो ।

दक्षिण एशियाली खेलकुदमा प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो भने क्रिकेट दोस्रो पटक समावेश गरिएको हो । १३ औं दक्षिण एशियाली खेलकुद आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

यसअघि सन् २०१० मा ढाकामा भएको ११ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट समावेश गरिएको थियो । त्यसपटक यू-२१ टिमबीच प्रतिस्पर्धा गराइएकोमा यसपटक ओलम्पिक टिम अर्थात यू-२३ टिमले सहभागिता जनाउनेछ ।

जसमा ३ जना सिनियर टोलीका खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ । क्रिकेटमा महिला र पुरुष दुवै इभेन्ट राखिएको छ ।

आइतबारको पत्रकार सम्मेलनमा दक्षिण एशियाली ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा पछिल्लो समय असाध्यै चर्चित खेल क्रिकेट रहेको तथा साहसिक तथा पर्यटकीय महत्वका हिसावले प्याराग्लाइडिङ सर्वसम्मत रुपमा समावेश गरिएको जानकारी दिए ।

बैठकले सहभागी २७ खेलका ३१५ इभेन्ट निर्धारण गरेको छ । जसमा स्वीमिङमा ४१, एथ्लेटिक्समा ३८, तेक्वान्दोमा ग्यारोगी र पुम्से गरी २१, करातेमा १८, जुडोमा १५ इभेन्ट समावेश गरिएका छन् ।

बैठकले दक्षिण एशियाली ओलम्पिक काउन्सिलको विधान संशोधन प्रक्रिया पनि अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सन् १९८४ मा बनेको काउन्सिलको विधानलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एशियाली ओलम्पिक कमिटीको ढाँचामा विधान संशोधनको तयारी गरिएको छ ।

विधान संशोधनका लागि अगष्ट १० सम्म सुझाव संकलन गरिने र अगष्ट १९ मा इण्डोनेसियाको जाकार्तामा बस्ने काउन्सिलको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?