Comments Add Comment

महिला सांसदले भने : कानुनमन्त्रीले माफी मागेर हुँदैन, कारबाही गर्नुपर्छ

७ साउन, काठमाडौं । कांग्रेसका महिला सांसदहरुले कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले सोमबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी माफी मागेर मात्रै नहुँने भन्दै मन्त्री तामाङलाई कानूनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन् ।

नारीको अस्मिता मिचिएको र कानूनको धज्जी उडाएको भन्दै कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले कडा कानुनी कारबाही गर्नुपर्ने बताइन् ।

‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानून तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन् । यो हामीलाई स्वीकार्य छैन,’ उनले अघि भनिन्, ‘२१ शताब्दीको महिलाका प्रगतिहरुलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैरजिम्मेवारपूर्ण अभिव्यक्तिहरुको हामी घोर भत्र्सना र बिरोध गर्दछौं, माफी र मन्त्रीको राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ ।’

सांसद लक्ष्मी परियार र विजया श्रेष्ठले सरकारले कानून बमोजिम कानूनमन्त्री र दुर्गा प्रसाईंलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनीसमेत दिएकी छन् ।

प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानून मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका थिए ।

नेपाली कांग्रेस र राप्रपा र राप्रपा प्रजातान्त्रीकले पनि यसअघि नै बिरोध गरेका थिए । सर्बत्र बिरोध भएपछि कानूनमन्त्री तामाङले अाइतबार विज्ञप्ति प्रकाशित गरी माफी मागिसकेका छन् । तर, माफी मागेर मात्रै नहुँने भन्दै महिला सांसदहरूले कानुनी कारबाही नै गर्नुपर्ने माग गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment