१० साउन, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता पुन: बिहीबार दिउँसो हुँदैछ ।
बुधबार साँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः ट्रयाकमा आएको हो ।
प्रधानमन्त्रीको आश्वासनपछि सरकारी वार्ता टोली र केसी पक्षबीच अहिले केहीबेरमा सिंहदरबारमा औपचारिक वार्ता हुन लागेको हो ।
साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
उनले सरकारी वार्ता टोलीलाई एमाले संसदीय दलको कार्यालयमा बोलाएर प्रधानमन्त्रीको म्यान्डेटसहितको निर्देशन दिएका छन् ।
नेम्वाङले संसदको प्रक्रियाबाटै डा. केसीका माग सम्बोधन हुने सहमति भएको बताए ।
प्रधानमन्त्री र डा. केसीतर्फका वार्ताकारबीच बुधबार मध्यरातमा चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुमा लामो छलफलपछि अनौपचारिक सहमति भएको थियो ।
वार्तापछि बिहीबार बिहान २ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका केसी पक्षका वार्ताकारले प्रधानमन्त्री ओलीसँगको वार्ताको प्रगति अनसनरत डा. केसीलाई सुनाएका थिए ।
त्यस्तै बिहीबार बिहान प्रधानमन्त्रीसँग सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा. धर्मकान्त बास्कोटा र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले केसीका मागका सन्दर्भमा छलफल गरेका थिए ।
ओलीले चरणबद्ध छलफलपछि सरकारको म्याण्डेट नेम्वाङमार्फत सरकारी वार्ता टोलीलाई दिएका छन् । वार्ता भाँड्ने राजनीतिक चलखेलप्रति केसी पक्ष सजग हुनुपर्ने प्रधानमन्त्रीले बताएका थिए ।
केसी पक्षले पनि प्रधानमन्त्रीको पहल सकारात्मक रहेको भन्दै ओलीको प्रतिनिधिका रुपमा डा. केसीलाई भेट्न शिक्षण अस्पताल आउन नेम्वाङलाई आग्रह गरेको थियो ।
‘डा. केसीको तर्फबाट उहाँलाई भेट्न नेम्वाङ आइदिनुपर्यो भन्ने कुरा आएको हो । नेम्वाङले वार्ताबाट सहमति हुने कुरामा सकारात्मक भएमा मात्र आउँछु, नत्र मुख हेराहेर गर्न मात्र किन आउने भन्नुभयो । सम्भवतः साँझसम्म सहमति हुन्छ र त्यसअघि ओलीको प्रतिनिधिका रुपमा नेम्वाङ अनसनस्थल पुग्नु हुनेछ’, प्रधानमन्त्रीका एक सहयोगीले भने ।
प्रतिक्रिया 4