Comments Add Comment

प्रधानन्यायाधीशबारे निर्णय भएन, सुनुवाई समितिको बैठक स्थगित

१४ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो समितिको बैठक बसे पनि प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे कुनै निर्णय भएन । समूहगत छलफलपछि समितिको बैठक पर्सी १६ गतेसम्मका लागि स्थगित गर्ने सहमति भएको हो ।

संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुलाई जोशीको नाम अनुमोदन नगर्न सुझाएको थियो । तर, अन्तिममा आएर निर्णय हुन सकेन ।

कामु प्रधानन्यायाधीशसमेत रहेका जोशीले साउन १० गते बिहीबार संसदीय सुनुवाई समितिमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि उनको नाम अनुमोदनबारे निर्णय गर्न शुक्रबार सुनुवाई समितिको बैठक बोलाइएको थियो । तर उक्त बैठक बस्दै नबसी आजसम्मका लागि सारिएको थियो ।

‘कांग्रेसले समय मागेपछि बैठक स्थगित’

नेपाली कांग्रेसका सांसदहरुले पार्टीमा छलफल गर्नुपर्छ भनेर समय मागेपछि बैठक स्थगन भएको नेकपाका सांसदहरूले बताएका छन् । नेकपा सांसद पार्वत गुरुङले अनलाइनखबरसँग भने, ‘कांग्रेसका माननीयहरूले निर्णय सहमतिमै गर्नुपर्छ, हतार नगरौं भनेपछि बैठक सार्न हामी तयार भयौं ।’

बैठक स्रोतका अनुसार नेकपाका सांसदहरू जोशीको नाम अनुमोदन नगरौं भन्ने पक्षमा थिए । संसदीय सुनुवाई समितिमा गत बिहीवार दिएको जवाफ चित्त बुझ्दो नभएको, शैक्षिक प्रमाणपत्रमा विवाद देखिएको र जोशीले विगतमा गरेका फैसला विवादमुक्त नभएकाले नाम अनुमोदन गर्न नहुने नेकपासम्बद्ध सांसदहरूको तर्क थियो ।

प्रस्तावित प्रधानन्यायाधीश जोशी पनि शैक्षिक प्रमाणपत्र विवादमा परेको छ भने उनका केही फैसला पनि विवादित बनेको छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन भएपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस् : 

जुन प्रश्नको जवाफ प्रस्तावित प्रधानन्यायाधीशले दिएनन्

समाजवादी कानून कार्यान्वयन गर्न अदालत तयार छ

प्रधानन्यायाधीशको प्रमाण पत्रमा किन उठ्दैछ प्रश्न ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment