Comments Add Comment

संघीय संरचनामा यस्तो हुनेछ सशस्त्र प्रहरी, युनिट नै सरुवा गर्न सकिने

१५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले संघीय स्वरुपमा संगठनको पुनर्संरचना थालेको छ । ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ मन्त्रीपरिषद् स्तरीय निर्णयबाट स्वीकृत भएपछि पुनर्संरचना थालिएको हो ।

सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेका अनुसार संगठनको हाल विद्यमान ५ वटा बाहिनीहरुलाई वद्धि गरेर ७ वटै प्रदेशमा विस्तार गरिएको छ ।

मंगलबार सशस्त्र मुख्यालय, हल्चोकमा पत्रकार सम्मेलन गरेर पाण्डेले ७ वटै प्रदेशमा बाहिनी राख्ने प्रक्रिया थालिएको बताएका हुन् ।

‘७ वटै प्रदेशसहित उपत्यकामा थप एउटा गरी ८ वटा बाहिनी संगठनमा रहनेछ’, पाण्डेले भने, ‘सीमा सुरक्षा कार्यालयहरुमा रहेका जनशक्तिको संख्यामा वृद्धि गरी ६ सय २१ पुर्‍याइनेछ ।’

हाल सीमा सुरक्षा कार्यालयहरुमा सशस्त्रका २ सय ३७ अधिकारीहरु कार्यरत् रहँदै आएका छन् ।

पाण्डेका अनुसार नयाँ संरचनामा तालिम केन्द्रको संख्यामा पनि वृद्धि हुनेछ । ‘हाल रहेका तालिम केन्द्रहरुलाई यथावत राखेर सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप ५ तालिम केन्द्र स्थापना हुनेछन्’, पाण्डेले भने ।

हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा पनि वृद्धि भएको छ । ‘अनाश्रित गुल्महरुको संख्यालाई बढाएर ५६ वटा पुर्‍याइएको छ भने १७ स्थानमा आश्रित गुल्महरु स्थापना गरेर सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल परचालित हुनेछन्’, केन्द्रीय प्रवक्ता समेत रहेका उनले भने ।

त्यस्तै, सशस्त्र प्रहरीले बोर्डर आउट पोष्टको संख्या पनि बढाउने भएको छ ।

हाल रहेका ८७ बीओपीहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बीओपीहरुको संख्यालाई कायम राखेर थप बीओपीहरु स्थापना गरी सीमावर्ती इलाकाहरुमा परिचालन गर्ने तयारी रहेको बताइएको छ ।

सशस्त्र प्रहरीको इकाईहरु (तालिम शिक्षालय बाहेक) ८ स्थानामा रहेका बाहिनीको कमाण्डमा परिचान हुने समेत व्यवस्था गरिएको छ । जिल्लामा रहेका सबै गुल्म तथा पोष्टहरुको कमण्डको जिम्मा जिल्लास्थित सशस्त्र प्रहरी गणको हुनेछ ।

केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरेर प्रत्येक बाहिनीमा १/१ से.मु. नफ्रीमा महिला प्रहरी कर्मचारी खटाउने तयारी भएको छ ।

डिआईजी पाण्डेले हाल प्रदेश १ र ६ मा रहेको क्षेत्रीय अस्पतालहरुलाई भविष्यमा सबै प्रदेशमा रहने गरी विस्तार गर्ने योजना रहेको पनि बताए ।

एकैपटकमा युनिटै सरुवा !

सशस्त्र प्रहरीको नयाँ व्यवस्था अनुरुपम अब एकै पटक युनिटै सरुवा गरिने डिआईजी पाण्डेले बताए । ‘नयाँ व्यवस्था अनुरुप अब युनिटै सरुवा प्रणाली लागू हुनेछ’, पाण्डेले भने ।

हाल एक/एक जना सरुवा हुने परिपाटी रहँदा कतिपय व्यक्ति एउटै कार्यालयमा लामो समयसम्म बस्ने गरेको भन्दै आलोचना हुने गरेको थियो । त्यसरी युनिटै सरुवा गर्दा सहायक निरीक्षकसम्मको सरूवा हुने बताइएको छ ।

यो व्यवस्थाले सांठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने सशस्त्रका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

‘नयाँ व्यवस्थाले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्नुका साथै अवसरको समान र न्यायोचित वितरण हुने अवस्था सिर्जना गर्ने हाम्रो विश्वास छ’, पाण्डे भन्छन्, ‘कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन पनि सकिनेछ ।’

यो पनि पढ्नुस् 

एक महिनामा सशस्त्र प्रहरीका ५ सय २६ कर्मचारीले राजीनामा दिए

तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृतमाथि कारबाही, २ जनाको जागिर चट्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment