Comments Add Comment

देशैभर कांग्रेसको शक्ति प्रदर्शन : दम्भ नदेखाउन सरकारलाई आग्रह

१५ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् ।

पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका विरोध कार्यक्रममा सहभागी भए । उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । राजधानीलगायतका ठूला शहरमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितासहित कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न पूर्वनिर्धारित कार्यक्रम भएता पनि कांग्रेसले अनसन स्थगित भइसकेको अवस्थामा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो । सरकारले संविधान उल्लंघन गरेको र महंगी बढाएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिइएको नेताहरुले बताएका छन् ।

विरोधसभामा कांग्रेस नेताहरुले सरकारले कर वृद्धि गरेको, जनभावना अनुसार काम नगरेको, सिण्डिकेट अन्त्य गर्न नसकेको, सभामुख र उपसभामुख एकै पार्टीबाट चयन गरेर संविधान उलंघन गरेको जस्ता विषय उठाएका थिए । उनीहरुले आफ्नै गतिविधिका कारण दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार कमजोर हुने टिप्पणी गरेका थिए ।

विरोधसभामा कांग्रेसका कतिपय नेताले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन हुनुपर्ने धारणासमेत राखेका छन् ।

गृहजिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीलाई संवैधानिक परिषद्ले सिफारिस गरिसकेकाले संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताए ।

जोशीको शैक्षिक प्रमाणपत्रको विषय उठाएर उनको पद धरापमा पार्ने काम भएको भन्दै पौडेलले प्रश्न गरे, ‘यसमा उनको के दोष, संवैधानिक परिषद्ले सिफारिस गर्ने बेलामा यो सबै कुरा हेर्न पर्थेन ?, सरकारी सेवामा प्रवेश गर्ने बेलामा लोक सेवा आयोगले यो विषय देखेन ?’

उनले नेपाल कम्युनिस्ट पार्टीले दुई तिहाइ बहुमत गलत प्रवृत्तिमा प्रयोग गरेको आरोप लगाए ।

गृहजिल्ला झापा पुगेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारलाई दुईतिहाइको मात लागेको आरोप लगाए ।

चन्द्रगढीमा आयोजित विरोधसभामा उनले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताए । झापा नै पुगेका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गरे ।

प्रधानमन्त्रीको राजीनामा माग

पोखरामा आयोजित विरोधसभामा केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै माग गरे । बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने नेपाली छात्राबारे टिप्पणी गरेकोमा कानून मन्त्री शेरबहादुर तामाङमात्र नभई प्रधानमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

रुपन्देहीमा भएको विरोधसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बोलीमा नियन्त्रण गर्न सुझाव दिए । उनले जथाभावी नबोल्न र शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न सचेत गराए ।

काभ्रेको विरोधसभालाई संबोधन गर्दै नेता दिलेन्द्रप्रसाद बडुले सरकार यसरी नै अघि बढेमा नेपालमा कम्युनिस्ट सकिने टिप्पणी गरे ।

वीरगञ्जमा कांग्रेसले घण्टाघरबाट निकालेको विरोध र्‍याली माइस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा पछि पुन घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले केपी ओली पाराले दुःख पाए साराले, मार्सी चामल खाएर, जनता मार्न पाइदैन, मूल्यवृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए । र्‍यालीपछिको सभालाई कांग्रेस नेताहरु रमेश रिजाल, सुरेन्द्र चौधरीलगायतले संबोधन गरे ।

काठमाडौंमा कसले के भने ?

काठमाडौंमा कांग्रेसले गरेको विरोध र्‍याली भोटाहिटी, असन, विशालबजार, न्यूरोडको परिक्रमा गर्दै पुनः शान्तिबाटिकामै आएर कोणसभामा परिणत भयो ।

सरकार सर्वसत्तावादउन्मुख भएको, संवैधानिक निकायमा राजनीतिकरण गर्न खोजेको, प्रेसमाथि हस्तक्षेप गरेको, न्यायलयलाई कार्यर्पालिका मातहत राख्न खोजेको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो ।

कोणसभालाई कांग्रेस नेता प्रकाशमान सिंह, सह-महामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, सांसद राजेन्द्र केसीलगायतले संबोधन गरे । नेता सिंहले आफ्नो पार्टीलाई हात्ती र कम्युनिस्टलाई बोकासँग तुलना गरे ।

‘नेपाली कांग्रेस त हात्ती हो । हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउनु के बराबर हो ?’ उनले भने, ‘सरकारले यो बुझ्नुपर्‍यो ।’

सह-महामन्त्री प्रकाशशरण महतले कांग्रेस नेतृत्वको सरकारले गरेका महत्वपुर्ण र जनताको जीवनयापनसँग जोडिएको विषय कार्यान्वयन हुनुपर्ने माग गरे । ६५ वर्षमा नै वृद्धभत्ता दिने, भूकम्प पीडितलाई थप एक लाख दिने जस्ता निर्णयलाई निरन्तरता दिनुको सट्टा सरकार जनताको ढाड सेक्नेगरि कर वृद्धिमा लागेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment