
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् ।
मंगलबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे । ‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो’ उनले भने ‘हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।’
उनले सरकारले दुई तिहाई बहुमतको भरमा जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउन र विधिको शासन लागू गर्न र कर नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।
‘संविधानमा प्रष्ट लेखिएको प्रावधान यो सरकारले लागु गर्न पर्छ कि पदैन ?’ उनले भने, ‘यो सरकार यही तरिकाले जाने हो भने जनताले विकल्प खोज्न सक्छन् ।’
कांग्रेसले आज देशभर गरेको प्रदर्शन ट्रेलर मात्रै भएको नेता सिंहको भनाइ छ । ‘जनताले धेरै रगत बगाएका छन् लोकतन्त्रका लागि’, उनले थपे, ‘सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेस जनताविरोधी सरकारका गतिविधिविरुद्ध सडकमा हुने आन्दोलनको नेतृत्व गर्न कांग्रेस सक्षम छ ।’
२००७ साल देखि लोकतन्त्रका लागि लडेको कांग्रेसले लोकतन्त्रलाई मास्ने खालको कम्युनिस्ट शासन आउन नदिने उनले बताए । सिधै सत्ता कब्जा गर्ने सपना बोकेका पार्टीलाई जनताले दुई तिहाइ दिएपछि अत्याधिक दम्भ बढेको र जे गरे पनि हुन्छ भने झैँ गरी प्रस्तुत भइरहेको बताए ।
प्रतिक्रिया 4