१० असार, तेह्रथुम । पूर्वी पहाडी भेगको चिसो हावापानी, परम्परागत जीवनशैली र अगेनाको धुँवासँग गाँसिएको एउटा स्वाद आज विश्वभर छरिएका नेपालीहरूको मनमा बस्न थालेको छ सुकुटी । कुनै समय गाउँघरमै सीमित यो परिकार अहिले विदेशसम्म कोसेलीका रूपमा पुग्दै केवल स्वाद मात्र होइन, आफ्नो माटोको सम्झना बोकेर गइरहेको छ ।
रोजगारीका लागि खाडी, मलेसिया, कोरिया, जापान लगायतका देशमा पुगेका नेपालीहरू जब घर फर्किन्छन् । उनीहरूका हातमा आधुनिक उपहारहरु हुन्छन् । तर, जब फर्किने बेला आउँछ, उनीहरुको झोलामा अनिवार्य रुपमा समेटिन्छ सुकुटी ।
बसन्तपुरकी सुकुटी व्यवसायी कल्पना लिम्बु भन्छिन्, ‘पहिले हामी घरमै खाने र पाहुनालाई खुवाउने गर्थ्यौँ। अहिले विदेशमा भएका आफन्त र साथीहरूले फोन गरेरै ‘सुकुटी पठाइदिनू’ भन्छन्। त्यसपछि हामीले उत्पादन बढाउनै पर्यो ।’ उनका अनुसार अहिले सुकुटी केवल घरेलु परिकार नभएर आयआर्जनको भरपर्दो माध्यम बन्दै गएको छ ।
विदेशमा रहेका नेपालीहरूको बढ्दो मागसँगै तेह्रथुममा सुकुटी उत्पादनले व्यवसायिक रूप लिन थालेको छ। होटल, रेस्टुरेन्ट र घरायसी उत्पादन सबैले यो अवसरलाई समातेका छन्।
होटल व्यवसायी पेम्बा छिरिङ भोटिया भन्छन्, ‘पहिला सिजनमा मात्र सुकुटी बनाइन्थ्यो । अहिले त वर्षभरि नै ग्राहकको माग हुन्छ। विशेष गरेर बाहिरबाट आउने पाहुनाले सुकुटी नै खोज्छन्।” बसन्तपुरकै याङ्गी शेर्पा पनि सुकुटी व्यापारबाट उत्साहित छन्। ‘विदेशबाट आउने पाहुनाले यहाँको सुकुटी चाहिन्छ’ भनेर सोध्छन्। कतिपयले फर्किँदा प्याक गरेर लैजान्छन्। यसले हाम्रो व्यापारलाई निकै बल दिएको छ’, उनी भन्छिन्
मासु व्यवसायी रामबहादुर तामाङका अनुसार, ‘अहिले सुकुटी बनाउनकै लागि मासुको माग बढेको छ । हामीले पनि त्यसअनुसार आपूर्ति बढाएका छौँ । बजारमा राँगा, भैंसी र भेंडाको सुकुटीको राम्रो माग छ ।’ हाल तेह्रथुममा राँगा तथा भैंसीको सुकुटी प्रतिकेजी करिब ४ हजार रुपैयाँ र भेंडाको सुकुटी ७ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । गुणस्तर, स्वाद र परम्परागत विधिका कारण यसको मूल्य पनि उच्च रहँदै आएको व्यवसायीहरू बताउँछन् ।
स्थानीयहरुको अनुमान अनुसार तेह्रथुमबाट वर्षमा करिब ३० करोड रुपैयाँ बराबरको सुकुटी निकासी हुने गरेको छ । यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ । सुकुटी बनाउने विधि पुस्तौंदेखि उस्तै छ । मासुलाई लामो डोरीजस्तो काटेर अगेनाको माथि झुण्ड्याइन्छ। आगोको राप र धुँवाले विस्तारै सुकाउँदै लैजाने यो प्रक्रिया नै यसको स्वादको रहस्य हो ।
पर्यटक मनिष अधिकारी, जो झापाबाट तेह्रथुम पुगेका थिए, भन्छन्, ‘यहाँको सुकुटीको स्वाद नै फरक लाग्यो। धुँवाको सुगन्ध र प्राकृतिक तरिकाले सुकाएको स्वादले निकै आकर्षित गर्यो ।’ विशेषगरी तेह्रथुमको माथिल्लो भेगको चिसो हावापानीले सुकुटी उत्पादनलाई वर्षभरि सम्भव बनाएको छ ।
अन्य ठाउँमा गर्मीमा सड्ने जोखिम भए पनि यहाँको वातावरणले गुणस्तरीय उत्पादनमा मद्दत गर्छ । सुकुटी केवल खाना होइन, यो संस्कृतिको हिस्सा हो । पाहुना सत्कार, पर्व–त्योहार र विशेष अवसरहरूमा सुकुटी अनिवार्यजस्तै हुन्छ । अहिले यही परम्परा विदेशसम्म पुगेको छ । विदेशमा रहेका नेपालीहरूका लागि सुकुटी केवल स्वाद नभई घरको सम्झना, गाउँको माया र परिवारसँगको सम्बन्धको प्रतीक बनेको छ ।
यद्यपि सुकुटी व्यवसाय बढ्दै गएको छ, केही चुनौतीहरू पनि छन । स्वच्छता मापदण्ड, प्याकेजिङ दीर्घकालीन भण्डारण र अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि आवश्यक कानुनी प्रक्रियामा ध्यान दिन सकियो भने सुकुटी अन्तर्राष्ट्रिय ब्रान्ड बन्ने सम्भावना प्रबल देखिन्छ ।
आधुनिक प्रविधि र परम्परागत स्वादको संयोजनले यसलाई अझ उचाइमा पुर्याउन सक्छ । तेह्रथुमको अगेनामा सुकाइएको सुकुटी आज संसारभर छरिएका नेपालीहरूको मनमा बस्न सफल भएको छ । परम्परा, स्वाद र भावनाको यो संगम र व्यवसायिक सम्भावना रहेको छ ।
प्रतिक्रिया 4