१० असार, धनकुटा । पछिल्लो समय पहाडी गाउँहरुमा बढ्दो बसाइँसराइसँगै खेतबारी बाँझिने क्रम बढ्दै गएको छ ।
बसाइँसराइसँगै खेतबारी बाँझिने क्रमको चुनौतीबीच धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एउटा नयाँ कृषि पहल सुरु भएको छ । ‘आँप ब्लक विकास कार्यक्रम’ मार्फत बाँझो जमिनलाई व्यावसायिक बगैंचामा रुपान्तरण गर्ने प्रयासले स्थानीयस्तरमा आशा पनि जगाएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाले सुरु गरेको यो कार्यक्रम छथर जोरपाटी गाउँपालिका वडा नं. ३ र ४ का बन्चरे, सिभुवा, तेलियालगायतका स्थानमा सञ्चालन भइरहेको छ ।
बसाइँसराइका कारण खाली भएका जमिनहरुलाई लक्षित गर्दै करिब १,२०० रोपनी क्षेत्रमा आँप खेती विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अन्तर्गत माल्दह जातका ६ हजार आँपका बिरुवा किसानलाई वितरण गरिएको छ । सरकारको १० लाख रुपैयाँ अनुदान र किसानको ६ लाख २५ हजार रुपैयाँ लागत साझेदारीमा सञ्चालित यो परियोजना सहकारीमार्फत कार्यान्वयन भइरहेको हो ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले पहाडी भूगोलमा पनि व्यावसायिक फलफूल खेतीको सम्भावना देखाउँदै बाँझो जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । उनले बसाइँसराइले खाली भएका जमिनलाई पुन: उपयोग गर्दै दीर्घकालीन आम्दानी दिने कृषि प्रणाली विकास गर्न खोजिएको हो ।
परियोजनाले बिरुवा वितरण मात्रै नभइ पूर्वाधार र प्रविधि सहयोग पनि प्रदान गरेको छ । चार वटा यान्त्रिक हलो र ९ हजार ३ सय मिटर प्लास्टिक पाइपसमेत किसानलाई उपलब्ध गराइएको छ । जसले सिँचाइ र खेती व्यवस्थापनलाई सहज बनाउने ज्ञान केन्द्रको अपेक्षा रहेको छ ।
स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्था मार्फत सञ्चालन भइरहेको परियोजनाले किसानलाई संगठित गर्दै सामूहिक उत्पादन प्रणालीमा जोड दिने प्रयास गरेको हो । सहकारीका अध्यक्ष डेकबहादुर लिम्बूले परम्परागत खेती कमजोर बन्दै गएको अवस्थामा आँपजस्ता बहुवर्षीय बालीले किसानलाई स्थायी आम्दानीको बाटो दिने बताए ।
उनका अनुसार धान, मकै, कोदो र गहुँजस्ता बालीमा निर्भरता घट्दै जाँदा ग्रामीण अर्थतन्त्र कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा फलफूल खेतीले आर्थिक विकल्प मात्र होइन, दीर्घकालीन स्थायित्व पनि दिन सक्ने विश्वास रहेको लिम्बूको भनाइ छ ।
छथर जोरपाटी गाउँपालिकाको बञ्चरे, सिभुवा, पाथीभरा, लामिछानेडाँडा, गुठ, पिप्ले, कर्कले, मार्से र तेलिया क्षेत्रमा बसाइँसराइको दर उच्च रहेको स्थानीयवासीको भनाइ छ । धेरै परिवार शहर वा विदेश बसाइँ सरेपछि बाँकी रहेको खेतीयोग्य जमिन लामो समयदेखि उपयोगविहीन बनेको थियो ।
स्थानीय किसान दीपक परियारले पहिले खेतबारीमा धान र मकै लगाइने भए पनि अहिले धेरै जमिन खाली नै रहेको बताए । उनले अब आँप खेतीले बाँझा रहेका जमिनमा फेरि हरियाली पलाउने आशा पलाएको बताए ।
सरकारी कार्यक्रम भए पनि यसको कार्यान्वयन स्थानीय सहकारीमार्फत भइरहेको छ । जसले किसानको सहभागिता र अपनत्व बढाएको किसानहरुको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रको हावापानी र भौगोलिक अवस्था आँप खेतीका लागि उपयुक्त रहेको छ । त्यसले गर्दा परियोजना सफल भइ राम्रोसँग उत्पादन हुने ज्ञान केन्द्रको भनाइ छ । उत्पादन भएपछि बजार पहुँच पनि सहज रहेको छ ।
धनकुटा सदरमुकामबाट बिहीबारेहाट, तांखुवा खोला, बञ्चरे, लामिछानेडाँडा हुँदै तेलिया जोड्ने करिब २३ किलोमिटर सडक कालोपत्रे भइसकेकाले उत्पादन बजारसम्म पुर्याउन सहज हुने भएको हो ।
यसैबीच छथर जोरपाटी गाउँपालिकाले सिभुवामा औद्योगिक ग्राम स्थापना गरिसकेको छ । जसले भविष्यमा आँप प्रशोधन तथा सह–उत्पादन उद्योगका लागि आधार तयार हुँदै गएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले यस्तो कार्यक्रमले केवल बाँझो जमिनको उपयोग मात्र होइन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता पहलहरु निरन्तर भए भने बसाइँसराइको दबाब घटाउँदै गाउँमै आयआर्जनको अवसर सिर्जना गर्न सकिने बताए ।
प्रतिक्रिया 4