Comments Add Comment

सरकारविरुद्ध आन्दोलन कांग्रेसको हतास मानसिकताः कमल थापा

'सुनुवाई समिति पार्टीहरुको लाचार छायाँ'

१७ साउन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान सरकार गठन भएको ६ महिना नवित्दै सडक आन्दोलनमा उत्रिनु कांग्रेसको हतास मानसिकता भएको टिप्पणी गरेका छन् ।

कांग्रेसले जारी राखेको सडक र सदन दुवै आन्दोलनबाट मुलुकले निकास पाउन नसक्ने दावीसमेत उनले गरे ।

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले वर्तमान सरकार अहिले परीक्षणकालमा रहेकाले  जिम्मेेवार पार्टीले यति चाँडै सदन र सडक अवरुद्ध पार्न नहुने बताए ।

‘कांग्रेस सदन र सडक अवरुद्ध गरी सरकार विरुद्ध उभिएको छ, अध्यक्ष थापाले भने, ‘यसको यो पराजयको हतास मानसिकता हो, कांग्रेस कम्युनिष्ट बन्न खोज्नु हुन्न, यदि कांग्रेसले कम्युनिष्ट बन्ने सपना बोकेको छ भने त्यो उसको दिवासपना मात्र हुनेछ ।’

उनले कांग्रेसले डा गोविन्द केसी त कहिले प्रस्तावित प्रधानन्यायाधीशको विषयलाई उछालेर आन्दोलन गरिरहेको बताए ।

अध्यक्ष थापाले वहुमतको बर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको काम कार्वाहीको आलोचन समेत गरे ।

सुनुवाई समिति पार्टीहरुको लाचार छायाँ

अध्यक्ष थापाले प्रस्तावित प्रधानन्यायाधीशका विषयमा सरकारले तत्काल निर्णय गर्नुपर्ने वताए ।

‘प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र, उनले विगतमा गरेका निर्णयहरु विवादास्पद एवम् संविधान र कानुन विपरित छ भने त्यसअनुसार तत्काल निर्णय लिनुपर्छ,’ अध्यक्ष थापाले भने ।

यद्यपि संसदीय सुनुवाई विशेष समिति पार्टीहरुको लाचार छायाँसरह रहेको उनले बताए । संसदीय सुनवाई समितिले स्वतन्त्र र विवेकपूर्ण रुपमा निर्णय गर्न नसकेको टिप्पणी गरे ।

अध्यक्ष थापाले वर्तमान सरकारमा एकदलीय सर्वसत्तावाद हावी हुने खतरा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment